टिप्पणी

सात वर्षमा किन घट्यो ओलीको ‘क्रेज’ ?

असलको जसले विरोध गर्छ, ऊ स्वाभाविक रूपमा खराब हुन्छ । मेयर बालेन या कुलमान नेपाली जनसमुदायमा लोकप्रिय पात्र हुन् । उनीहरू आफ्नै भूमिकाले लोकप्रिय भएका हुन् । सायद उनीहरूको लोकप्रियता देखेर एमालेगण र अध्यक्ष ओलीलाई ईर्ष्या लाग्यो कि ? अहिले यिनै असलविरुद्ध उनीहरू खनिएका छन् ।

सात वर्षमा किन घट्यो ओलीको ‘क्रेज’ ?

काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएलगत्तै भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डटेर विरोध’ गरेका थिए । कालान्तरमा त्यो ‘नक्कली राष्ट्रवाद’कै अर्को संस्करण थियो भन्ने तथ्य प्रमाणित भयो । त्यसपछिका दिनमा उनको ‘लम्पसारवाद’ छताछुल्ल भएको किन नहोस्, नाकाबन्दीका बेलामा भने ओलीको ‘क्रेज’ले आकाश छोएको थियो । उनको सर्वत्र हाई-हाई थियो ।

‘आई एम वीथ केपी ओली’ नारा ‘भाइरल’ भएको थियो र ओली नेपाली राष्ट्रियताका ‘मसीहा’ नै कहलिएका थिए । ओलीको यही साख वर्ष २०७४ को आम निर्वाचनमा निकै उपयोगी बन्यो । जनताले एमाले र माओवादी केन्द्रलाई पत्याएर करिब-करिब दुईतिहाइ बहुमत दिलाए । निर्वाचनलगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकार बन्यो र ओली प्रधानमन्त्री भए ।

अहिले यो परिदृश्य ठीक उल्टिएको अवस्थामा छ । बितेका सात वर्षमा ओलीको साख निकै घटिसकेको छ । उनको लोकप्रियता खस्किसकेको छ । बरु सामाजिक सञ्जाल, ट्रोल, युट्यूब र मिडियामा ओलीको छवि ‘हारेको सेनापति’, ‘असफल शासक’, ‘कमजोर इच्छाशक्ति भएको’ र ‘आफ्नै बोलीको शिकार’ पात्रका रूपमा रहेको हामी पाउँछौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजू राणा देउवासँगको गोप्य साँठगाँठपछि ओली पुनः प्रधानमन्त्री त भएका छन् । तर, प्रधानमन्त्रीबाट हट्दै गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बडा विजयी भावमा देखिए, प्रधानमन्त्री भएका ओली भने ‘सुरक्षा कुनो’ (सेफ जोन) खोज्दै सत्ताको शरणमा पुगेका शरणार्थीजस्ता देखिए ।

यो तथ्य उजागर पनि भयो । त्यसैले त यतिबेला ‘भ्रष्टाचारका फाइल खुल्न थालेपछि तथा आफू र आफ्ना निकटका मानिस फस्ने भएपछि ओलीले देउवासँग मिलेर हतार-हतार सत्ताको कवच पहिरिएको’ आम धारणा विकसित भएको छ । प्रधानमन्त्री बन्नासाथ ‘बिजुली महसुल काण्ड’मा फसेका ओलीको साख झन् घटयो, जुन अहिले उत्कर्षमा छ । काठमाडौंका मेयर बालेन शाहसँगको विवाद ओलीका लागि झन् प्रत्यूत्पादक भएको छ भने कुलमान घिसिङप्रतिको दुराग्रहले आगोमा घिउ थपिरहेको छ ।

यसैको पछिल्लो प्रमाण हो, ओलीको फेसबूक पेजमा एकै रातमा सत्तरी हजारभन्दा बढी ‘अनफलो’ हुनू । बहालवाला प्रधानमन्त्री एवम् सत्तारुढ दल एमालेका अध्यक्षलाई पहिला ‘फलो’ गरेकाहरूले किन ‘अनफलो’ गरे त ? यो गम्भीर प्रश्न हो ।

‘सामाजिक सञ्जालमा अनफलो हुँदैमा केही हुन्न’ भन्ने एमालेका कतिपय उपबुज्रुकहरूले बुझे हुन्छ, यो आगोको झिल्का पनि हुनसक्छ, जसले भोलि पुरै एमालेको ‘लङ्का’ जलाउन सक्छ ।

अहिले ‘मास सेन्टीमेन्ट’ परीक्षणको कसी भनेको सामाजिक सञ्जाल नै हो । सङ्गठन, नेता-कार्यकर्ताको घनत्व र सत्ताले मात्र कुनै पनि व्यक्ति या दल अब टिक्नसक्ने अवस्था छैन, ‘मास सेन्टीमेन्ट’ले रातारात जोसुकैलाई बढारिदिन सक्छ । ओलीका उखान टुक्का, खह्रो बोली र एमालेको सङ्गठन मात्रले यो दलको अस्तित्व जोगाउन सक्ने अवस्था अब छैन । पुराना दलप्रतिको वितृष्णाको मुख्य शिकार एमाले हुनसक्छ भन्ने ‘खतराको घण्टी’ पनि हो, ओलीको ‘अनफलो’ ।

सात वर्षमै ओलीको साख यसरी किन घट्यो त ? किन ओलीलाई ‘अनफलो’ गरियो ? अहिले दृश्यमा काठमाडौंका मेयर बालेन शाहको लोकप्रियताको घानमा परेकोजस्तो देखिए पनि यो खासमा बितेका सात वर्षमा ओलीबाट व्यक्त बोली र व्यवहारप्रति जनताको एकमुष्ट विरोध हो । ओली ‘अनफलो’ हुनुका प्रमुख केही कारण छन्, जसबारे यो आलेखमा चर्चा गरिएको छ ।

जनताको सपनाको उपहास

२०७५ जेठ ३ गते एमाले-माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बन्यो । नेकपाको दुईतिहाइको सरकारमा ओली प्रधानमन्त्री बने । जनतामा एकखालको उत्साहको लहर सिर्जना भएको थियो । शान्ति, स्थिरता र समृद्धिको दिशामा देश अग्रसर हुने जन विश्वासमाथि प्रधानमन्त्री भएदेखि नै केपी ओलीले कुठाराघात गर्न थालेको देखिन्छ ।

युगौंदेखि नेपाली जनताले देखेका सपना साकार पार्ने दिशामा कदम चाल्नुको साटो ओलीले तिनै सपनाको उपहास गरिदिए । जनताका सपनालाई हाँस्यास्पद साबित गरिदिए । हुन त ओलीले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को सपनालाई पनि हाँस्यास्पद बताउँदै ‘बयलगाडाबाट अमेरिका पुगेजस्तै’ नभनेका हैनन् । तर, त्यसबेला उनको केही सीप चलेन र देशमा गणतन्त्र आयो ।

विडम्बना, आर्थिक क्रान्ति र जनताका सपना साकार पार्ने घडीमा सत्ताको केन्द्रमा ओली विराजमान भए । देश र पार्टीका लागि काम गर्ने ऐतिहासिक अवसरलाई खेर फाल्दै उनले हावादारी कुरा गरेर जनतालाई भुलभुलैयामा राखिदिए ।

समुद्रले नछोएको देशमा नेपाली झण्डासहितको पानीजहाजको किस्सा सुनाए । तुइन विस्थापन जस्तो आधारभूत विषयलाई पनि डिङ्ग हाँक्नका लागि प्रयोग गरे । पाइपबाट घर-घरमा ग्यास पुर्‍याइदिने गफ छाँटे । ६ लेनको पूर्वपश्चिम राजमार्ग, द्रुतगतिको पूर्वपश्चिम रेल, केरुङबाट चिनियाँ रेल आदि ओलीका गफ पनि सुनियो ।

१० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा पाँच हजार अमेरिकी डलर पुर्‍याउने उनको गफ पनि अहिले हावादारी साबित भएका छन् । हुन त यी सबै नेपाली जनताका सपना हुन्, यसलाई व्यवहारमा कार्यान्वयन गर्नतिर हैन, गफकै विषयमा उडाइयो । जनताको सपनाको उपहास गरियो ।

कटु कटाक्ष, ‘निम्छरो’ भाषा

राजनीतिमा मत भिन्नता, आरोप-प्रत्यारोप, आलोचना-प्रत्यालोचना हुनु स्वाभाविकै हो । राजनीति निजी विषय नभएर सामूहिक आयाम भएकाले विरोध या आलोचना पनि व्यक्तिगत नभई प्रवृत्तिगत हुनुपर्छ भनिन्छ ।

नेपाली राजनीतिमा दलहरूबीच विरोध या विमति हुँदा सोझै अमूक नेताप्रति व्यक्तिगत प्रहार गर्ने प्रवृत्ति मौलाएको छ । राजनीतिक मर्यादाले त्यसबेला सीमा नाघ्छ, जब कसैप्रतिको कटाक्ष बडा घटिया पाराको हुन्छ— निम्छरो ।

एमालेका दिवंगत महासचिव मदन भण्डारीले राजाको आलोचना गर्दासमेत भाषिक मर्यादाको ख्याल राखेका थिए । ‘महाराज आँखा नचम्काइबक्सियोस्, हात नलम्काइबसियोस्’ जस्ता चर्चित अभिव्यक्तिमा नेता भण्डारीले राजालाई ‘बक्सियोस्’ लगाएरै कटाक्ष गरेका थिए । यो एउटा शालीनता पनि हो ।

अहिलेका नेता ओलीलाई हेरौँ । राजनीतिक कटाक्ष या विरोधका क्रममा भाषिक मर्यादाको त उनले हुर्मतै लिएको देखिन्छ । ‘तित्राको मुखै बैरी’ भन्ने उखान ओलीका हकमा पटकपटक चरितार्थ भएको छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले संसद्‌मा प्रतिपक्षप्रति ‘निम्छरो’ शब्द उच्चारण गरे । प्रतिपक्षले विरोध गर्दा सदन अवरोध भयो । सभामुखले सो शब्द रेकर्डबाट मेटाउन रुलिङ गर्नुपरेको थियो । सायद ओलीकै सिको गरेर होला, उनकै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमै विरोधीप्रति ‘छौँडाहरू’ शब्द ओकले ।

राजनीतिक मतभेद आफ्नो ठाउँमा हुन्छ । तर, नेताहरूबीच व्यक्तिगत सौहार्दता भने कायमै हुन्छ । तर, ओलीले केही नेताप्रति निजी शत्रुता नै राखे । उदाहरणका लागि एक पटक ओली उपचारका लागि सिंगापुर जाँदै थिए । त्यसबेलासम्म एमालेका वरिष्ठ नेता नै रहेका माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरिसकेका थिएनन् । नेता नेपालले स्वाथ्यलाभको शुभकामना दिँदा ओलीले अस्वीकार गरे । बरु उनले नेपालतर्फ फर्किएर भने, “तपाईं मलाई मरोस् भनेर कामना गरिरहनुभएको छ ।”

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘भँगेरा’ भनिदिए । २०८१ जेठ १० गते सुनसरीमा आयोजित एक कार्यक्रममा ओलीले रास्वपा सभापति लामिछानेविरुद्ध कांग्रेस खनिनु भनेको ‘भँगेरा मार्न तोप बोकेर जानुसरह’ भनेका थिए ।

यति मात्र हैन, रास्वपा सहमहामन्त्री तथा तात्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठलाई ‘विदेशीसँग बिहे गरी पर्यटक बनेर नेपाल आउँदा मन्त्री बनेको’ आक्षेप लगाएका थिए । राजनीतिको त्यो उचाइमा पुगेको अभिभावकसरहको नेताबाट यो हदसम्मको ‘निम्छरो’ टिप्पणी अपेक्षित थिएन ।

ओलीकै ‘वाणी रोग’ सरेर हो कि अचेल उनका चेलाहरू पनि तथानाम बोल्न थालेका छन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हालै मात्र पोखरामा प्रहरी महानिरिक्षकप्रति छुद्र टिप्पणी गरे । उनले भनेका थिए, “अहिले प्रहरीको आईजीपीले के भन्नुभो ? म यो कानून लागू नै गर्दिनँ भन्नुहुन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो ।”

मन्त्री गुरुङले आईजीपीप्रति गरेको यस्तो टिप्पणीको चौतर्फी आलोचना भयो । संसद्‌मा विरोध भयो । पूर्वआईजीपीहरूको सङ्गठन सञ्चारमन्त्री गुरुङले माफी माग्नुपर्ने भन्दै विज्ञप्ति निकाल्यो । तर, अहिलेसम्म मन्त्रीले माफी मागेका छैनन् ।

एमालेकै सांसद योगेशकुमार भट्टराईले प्रतिनिधि सभाको हालैको बैठकमा ‘१० वर्षे हिंसा’ शब्दको प्रयोग गरे । ‘यदि यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युत्‌मा योभन्दा ठूलो क्रान्ति हुन्थ्यो’ भनेपछि माओवादी सांसदहरूले विरोध जनाएका थिए र संसद् धेरैबेर अवरुद्ध भएको थियो ।

दृश्य कति उदेकलाग्दो भने एकातिर प्रधानमन्त्री ओली विद्युत् प्राधिकरणले उद्यमी-व्यापारीसँग विद्युत् महसुलबापत् अरबौं रूपैयाँ असुल्न खोज्दा अवरोध गर्छन्, अर्कोतिर उनका सांसदचाहिँ यसलाई विषयान्तर गर्न माओवादी सशस्त्र विद्रोहकालीन प्रसङ्ग कोट्याउँछन् ।

सांसद भट्टराई अध्यक्ष ओली निकटका मानिँदैनन्, जति निकट महेश बस्नेत या गोकुल बाँस्कोटाहरू छन् । घनश्याम भुसाल या रामकुमारी झाँक्रीसरह एकीकृत समाजवादीमा समाहित हुन नसकेका भट्टराईलाई यतिबेला ‘खाँटी एमाले’ या ओलीका ‘पक्का बफादार’ देखिनुपरेर होला, प्रतिपक्षप्रति संसद्‌मा उनको भूमिका आक्रामक र अतिशयोक्तिपूर्ण देखिन्छ ।

दृश्य कति उदेकलाग्दो भने एकातिर प्रधानमन्त्री ओली विद्युत् प्राधिकरणले उद्यमी-व्यापारीसँग विद्युत् महसुलबापत् अरबौं रूपैयाँ असुल्न खोज्दा अवरोध गर्छन्, अर्कोतिर उनका सांसदचाहिँ यसलाई विषयान्तर गर्न माओवादी सशस्त्र विद्रोहकालीन प्रसङ्ग कोट्याउँछन् । यसबाट आफ्ना कमजोरी ढाकछोप गर्न विरोधीप्रति ‘निम्छरो’ टिप्पणी गर्नुबाहेक अर्को शस्त्र र शास्त्र एमालेसँग नभएको स्पष्ट हुन्छ । आफू कमजोर भएपछि हल्का टिप्पणी गरेर आफ्नो बडम्पन प्रदर्शन गर्न खोज्नु अध्यक्ष ओलीकै शैलीको अनुकरण मात्र हो ।

तिक्ततासँगै भड्काउ भाषणका कारण पनि ओली बेला बेलामा विवादमा पर्ने गरेका छन् । नेपालका प्रथम शहीद लखन थापा हुन् भन्ने जगजाहेर छ । केही वर्षअघि अनेरास्ववियूको एक कार्यक्रममा ओलीले ‘नेपालका प्रथम शहीद बाँकावीर हुन्’ भनेपछि मगर समुदाय रुष्ट भयो । मगर युवाले यसको विरोधमा बुटवलको राजमार्ग चौराहामा ओलीको पुत्ला दहन नै गरेका थिए । ‘नेपालका प्रथम शहीद बाँकावीर हुन्’ भन्ने अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान, रूपन्देहीले मागसमेत गरेको थियो । तर, ओलीले सो अभिव्यक्ति फिर्ता लिएनन् ।

एकातिर प्रथम शहीदबारे मगर समुदायलाई चिढ्याउने भाषण गर्ने ओलीले ‘रामको जन्मभूमि नेपालको चितवनस्थित ठोरीमा भएको’ दाबी गर्दै त्यहाँ मूर्तिसमेत बनाउन लगाएर अर्को विवाद खडा गरे । यसप्रति भारत र नेपालको हिन्दू समुदायले चर्को आपत्ति जनायो भने भारतका सन्त, महन्त र बाबाहरूले ‘यसबाट दुइ देशबीचको धार्मिक सम्बन्धमै असर पार्ने काम भयो’ भनेर प्रतिक्रिया दिए ।

उनले मगर र हिन्दू समुदाय मात्र हैन, कुनैबेला मधेसी समुदायको पनि मानमर्दन गरेका थिए । उनको कटु कटाक्षको शिकार मधेसी समुदाय परेको घटना अझै ताजै छ । २०७१ पुस २१ गते तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेशमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पनि समावेश गर्नुपर्ने माग राखेका थिए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँगको बालुवाटर बैठकमा सहभागी भएका ओलीले महतोको यो प्रस्ताव अस्वीकार गर्दै भने, “समथर भूभाग जति सबै मधेसमा मिसाउने हो भने भारतका बिहार र उत्तरप्रदेशलाई पनि मधेसमा मिसाउँदा हुन्छ ।” महतो पनि आक्रोशित भए । “हामीलाई यूपी बिहारमा जाउ भन्ने ?” भन्दै मधेसमा ओलीको विरोध भयो ।

२०७२ असोज १७ गते मधेस आन्दोलन उत्कर्षमा थियो । हुलाकी राजमार्गमा मानव साङ्लो बनाएर प्रदर्शन भयो । ओलीले त्यसलाई ‘माखे साङ्लो’ भनेर अवमूल्यन गरे । मधेस आन्दोलनका क्रममा ५० भन्दा बढीको मृत्यु भयो । यस्तो घडीमा पनि ओलीले संवेदनाहीन भएर भने, “दुई चारवटा आँप झरेर केही हुँदैन ।”

असलको विरोध, खराबको पक्षपोषण

काठमाडौंका मेयर बालेन शाह अहिलेसम्म कुनै पनि भ्रष्टाचार या अनियमितताका काण्डमा फसेका छैनन् । काठमाडौंमा उनले जनअपेक्षित भूमिका पूर्ण रूपमा निर्वाह गर्न नसकेका होलान् तर, जे-जति गरेका छन्, त्यसले केही हदसम्म काठमाडौंमा सकारात्मक सुधार ल्याएको छ ।

कुलमान घिसिङलाई त कसैले औँलो ठड्याउने ठाउँ छैन । १८ घण्टे लोडशेडिङको दुश्चक्रबाट देशलाई मुक्त गर्न कुलमानको इमानदारिता, व्यवस्थापकीय क्षमता, दृढता र लगन अतुलनीय छ । विद्युत् प्राधिकरण नै देशको यस्तो सस्था भएको छ, जसलाई नेपाल वायु सेवा निगम या आयल निगमझैँ अनियमितताको अखडा बनाउन कसैले सकेको छैन । यसको मुख्य कारण हो, कुलमान विद्युत् प्राधिकरणमा हुनू ।

असल मानिस असल हुन्छ, असलको जसले विरोध गर्छ, ऊ स्वाभाविक रूपमा खराब हुन्छ । मेयर बालेन या कुलमान भनेका नेपाली जनसमुदायमा लोकप्रिय पात्र हुन् । उनीहरू आफ्नै भूमिकाले लोकप्रिय भएका हुन् । सायद उनीहरूको लोकप्रियता देखेर एमालेगण र अध्यक्ष ओलीलाई ईर्ष्या लाग्यो कि ? अहिले यिनै असलहरूविरुद्ध उनीहरू खनिएका छन् ।

अध्यक्ष ओली सोझै मेयर बालेनसँग भिडिरहेका छन् । न्यूरोडको फुटपाथ विस्तार रोक्न वडाध्यक्ष उचाल्नेदेखि बालश्रम शोषण गर्ने सांसद रेखा शर्माको बचाउ गर्नेसम्मका हर्कत भइरहेका छन् । जसले राम्रो काम गरिरहेको छ, उसकै काममा अवरोध खडा गरिँदैछ । कहाँसम्म भने महानगरका नदी कोरिडोरबारे सर्वोच्च अदालतको आदेश र मेयर बालेनविरुद्ध एमाले जाइलागेको छ । यसकै लागि एमालेका केही सांसदले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत भेटेको पनि देखियो ।

ओली यसअघि प्रधानमन्त्री हुँदा यति, ओम्नी, सेक्यूरीटी प्रेस खरिद, वाइडबडी, तेत्तिस किलो सुन, ‘बाँस्कोटा र सत्तरी करोड’ आदि अनेक काण्ड भए । प्रधानमन्त्री भएपछि ‘म पनि भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्नँ’ भनेका ओलीको कोटरी भ्रष्टहरूले घेरियो । तिनलाई किर्ना मिल्काएझैँ मिल्काउनुपर्नेमा ओलीले उल्टै संरक्षण प्रदान गरे । अर्थात् खराबको पक्षपोषण गरे ।

‘मिसन चौरासी’को अग्रिम सङ्केत

एमालेले रास्वपाको नारा अनुकरण गरेर ‘मिसन चौरासी’ नाममै अभियान थालेको छ । एउटा यक्ष प्रश्न खडा भएको छ, यसपाली एमालेले वर्ष २०८४ को निर्वाचनमा जनतासँग भोटचाहिँ के भनेर माग्नेछ ? एमालेबाट यसबीचमा त्यस्तो कुनचाहिँ ‘कारनामा’ भयो, जसलाई जनताले वाहवाही गरून् ? तत्काल केही देखिँदैन ।

यहीँनेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीच भएको एक जुहारी उल्लेखनीय छ । बोलीमा भद्रता नराख्ने ओलीले हालै अध्यक्ष प्रचण्डलाई ‘परिस्थिति भाँड्न खोजेका थिए, एक किक दिएको, ठेगान लागे’ भनेका थिए । प्रचण्डले पनि ओलीप्रति लक्षित गर्दै ‘जनताले किक हानेपछि थाहा पाउँछौ’ भने ।

एमाले गणमाथि जनताले किक हानेको हेर्न चुनावसम्म पर्खनै परेन । ओली ‘अनफलो’ प्रकरण पनि जनताको ‘किक’ नै हो । सङ्गठन र लाखौं नेता-कार्यकर्ताको दम्भ एक ठाउँमा होला तर, जनताले आज सामाजिक सञ्जालमा हानेको ‘किक’ले आगामी दिनमा ठूलो रूप नलेला भन्न सकिन्न ।

यसैकारण अचेल एमालेभित्रै पनि एउटा प्रश्न ज्वलन्त भएको छ, ओली समस्या समाधानका लागि उपयुक्त पात्र हुन् या स्वयम् समस्या हुन् ? यो प्रश्नको सम्यक उत्तरले नै एमालेको ‘मिसन चौरासी’ निर्धारण गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved