काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचन मतदानको दिन आउन अब २ महिना बाँकी छ । रिपब्लिकन डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक कमला ह्यारिस दुवै उम्मेदवारले निर्वाचन अभियान तीव्र बनाएका छन् ।
अधिकांश सर्वेक्षणहरूले कमला ह्यारिसलाई लोकप्रिय मतका साथ अगाडि देखाएका छन् । डेमोक्र्याटिक समर्थकको विश्वास छ कि ह्यारिसले जित्दैछन् । प्रथम महिला राष्ट्रपतिको रूपमा नयाँ इतिहास रच्दैछिन् । तर, विश्लेषक यो मान्न तयार छैनन् कि ट्रम्पको विजय सम्भावना समाप्त भइसक्यो ।
राष्ट्रपतिका लागि ट्रम्प कुनै नयाँ अनुहार हैनन्, परीक्षण भइसकेका एक व्यक्ति हुन् । उनले सन् २०१६ को चुनाव जितेका थिए । उनको ४ वर्षे कार्यकाल र शासनशैलीको अनुभव र स्मरण अमेरिकी मतदातासँग ताजै छ ।
सन् २०२० मा भने उनी हारे । बहालवाला राष्ट्रपति दोस्रो कार्यकलका लागि पराजित हुनु अमेरिकी राजनीतिमा बिरलै हुने घटना थियो । यसको सामान्य राजनीतिक अर्थ हुन्छ— उनको कार्यकाल र शासनशैली मतदाताले मन पराएका थिएनन् । ४ वर्षअघि मन नपराइएका व्यक्ति यसपटक पुन: निर्वाचित होलान् भन्ने आधार स्वत: कमजोर हुन्छ ।
सन् २०२० मा ट्रम्पको हार र अहिले सर्वेक्षणहरूमा ह्यारिसको अग्रता यी दुवै तथ्यलाई एक ठाउँमा राखेर हेर्दा ट्रम्प हार्नेछन् भन्ने निष्कर्ष निकाल्नुपर्ने हुन्छ । तर, पख्नुहोस, ट्रम्पको जित्ने सम्भावना कमजोर भएको अवश्य हो, समाप्त भएको भने हैन ।
अमेरिकी राजनीति, समाज र मतदाता मनोविज्ञानमा अझै केही त्यस्ता कारण बाँकी छन्, जसले ट्रम्पको विजय सम्भावना कायम राख्दछन् । ती कारण निम्न ५ हुन सक्दछन् ।
१. लोकप्रियता र सक्रियता
कमला ह्यारिसको तुलनामा ट्रम्प बढी लोकप्रिय र सक्रिय छन् । उनलाई धेरै अमेरिकी मतदाताले चिन्दछन् । सन् २०१६ को चुनावी अभियानदेखि उनी निरन्तर सक्रिय र चर्चामा छन् । सन् २०२० को चुनावी अभियानले पनि उनलाई बढी मानिस र मतदाताले चिन्ने बनायो ।
हुन त कमला ह्यारिस पनि बहालवाला उपराष्ट्रपतिका रूपमा चर्चित छन् । तर, उनी राष्ट्रपति उम्मेदवारका रूपमा चर्चामा आएको करिब १ महिना मात्र भयो । जो बाइडनले उम्मेदवारी परित्याग गर्दा निर्वाचनका लागि १०० दिन मात्र बाँकी थियो । ह्यारिसलाई मतदाताले लामो समयदेखि राष्ट्रपतिका रूपमा कल्पना गरेका थिएनन् ।
ट्रम्प मतदाताबीच जति चिनिएका छन्, उत्तिकै सक्रिय पनि छन् । विगत करिब १ दशकयताका प्रत्येक दिन उनले चुनावी अभियानमा सक्रिय व्यक्तिजस्तै बिताएका छन् ।
ह्यारिसको भन्दा ट्रम्पको ‘मिडिया कभरेज’ धेरै छ । एक्समा मात्रै ट्रम्पका ९ करोड ३५ लाख फलोअर छन् । जबकि ह्यारिसको उपराष्ट्रपतिको औपचारिक एकाउन्टमा १ करोड ४९ लाख र निजी एउकान्टमा २ करोड ९ लाख मात्र छन् ।
डेमोक्र्याटिक नेतामध्ये एक्समा सबैभन्दा बढी फलोअर भएका बाराक ओबामा हुन् । उनका १३ करोड १८ लाख फलोअर छन् । राष्ट्रपति जो बाइडनका ३ करोड ८५ लाख फलोअर छन् ।
समाचारपत्र, अनलाइन पोर्टल, टिभी र स्थानीय रेडियोमा ट्रम्पको चर्चा ह्यारिसको तुलनामा ६ गुणा बढी भएको बताइन्छ । प्रोपोगाण्डा र सञ्चारयुद्धको युगमा यी पक्षले निर्वाचन नतिजालाई प्रभावित नगर्लान भन्न सकिँदैन ।
२.अश्वेत राष्ट्रवादको भावना
अमेरिकी मतदातामा अश्वेत राष्ट्रवादको भावना र पितृसत्तात्मक सोच समाप्त भइसक्यो भन्न गाह्रो छ । यद्यपि यो एक नकारात्मक प्रवृत्ति हो तर, यो प्रवृत्तिले ट्रम्पका लागि अनुकूलता सृजना गर्न सक्दछ ।
महिला उम्मेदवारलाई सबै महिला मतदाताले भोट दिन्छन् भन्ने ग्यारेन्टी छैन । ट्रम्पको संयोग यो हो कि उनले सन् २०१६ मा पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका थिए । यो तथ्य नदोहोरिएला भन्ने आधार कमजोर छन् ।
श्वेत राष्ट्रवादी भावनाको दृष्टिबाट कमला ह्यारिसभन्दा हिलारी क्लिन्टन बलियो उम्मेदवार थिइन् । किनकि उनी श्वेत महिला थिइन् तर, पनि उनले हारेकी थिइन् । जहाँसम्म महिला सँगसँगै कमलाको एसियन-अफ्रिकन सम्बन्धको पाटो छ, त्यो भने बलियो छ तर, अमेरिकामा श्वेत मतदाता अनुपात निकै बढी छ भन्ने यथार्थ बिर्सन मिल्दैन ।
अमेरिकामा करिब ६१ प्रतिशत श्वेत मतदाता छन् भने १२ प्रतिशत अफ्रिकन, ६ प्रतिशत एसियन, ११ प्रतिशत बहुजातीय सम्मिश्रण र बाँकी अन्य अल्पसङ्ख्यक छन् ।
त्यसो त श्वेत मतदातामा डेमोक्र्याटिक पार्टी भावना भएका मतदाताको सङ्ख्या ठूलो छ । ट्रम्पको चुनौती यही हो । नृजातीयता र सांस्कृतिक समुदाय मनोभावना आधारित मतदानको अनुपात कति होला, यसै भन्न सकिन्न । पार्टी भावना र एजेन्डाले पनि अमेरिकी मतदाताको ठूलो हिस्सालाई प्रभावित गर्दछ ।
३. ह्यारिसमाथि निरन्तर वैचारिक हमला
ट्रम्पले कमला ह्यारिसमाथि ‘कम्युनिष्ट’ भएको भन्दै वैचारिक आक्रमण तीव्र पारेका छन् । उनले भन्ने गरेका छन्, “कम्युनिष्ट विचारमा विश्वास गर्ने ह्यारिस अमेरिकाको राष्ट्रपतिका लागि योग्य हुन सक्दिनन् । कमलालाई जिताउनु भनेको अमेरिकालाई ‘मार्क्सवादी बाटो’ मा अग्रसर गराउनु हो ।”
सार्वजनिक सम्बोधनमा ट्रम्पले ह्यारिसलाई ‘कमरेड कमला’ भन्ने गरेका छन् ।
यसरी ह्यारिसमाथि वैचारिक आक्रमण गर्नेमा ट्रम्प मात्रै छैनन्, उनका ‘सेलिब्रेटी समर्थक’ को पनि ठूलो सङ्ख्या छ, जस्तो कि एलन मस्क । मस्कले ह्यारिसमाथि निरन्तर वैचारिक हमला गरिरहेका छन् ।
विचार मात्र हैन, ह्यारिसको एजेन्डामाथि पनि चर्को प्रहार भइरहेको छ । कमला ह्यारिस राष्ट्रपति बनेमा खुला सीमा नीति अवलम्बन गर्ने, अमेरिकामा मुस्लिम आतङ्कवादीको आप्रवासन र घुसपैठ बढ्ने, अमेरिका चीन परस्त हुने र विश्वभर कम्युनिष्ट सोच प्रभावशाली हुने आरोप लगाइएको छ ।
जो बाइडनमाथि यति चर्को वैचारिक आक्रमण थिएन । उनी एक ‘लिबरल डेमोक्र्याट्स’ मानिन्थे । उनको छवि पनि त्यहीअनुसार बनेको थियो । ह्यारिसको सोचमा भने ‘सोसल डेमोक्र्याटिक’ रुझान छ । उनी अवैध आप्रवासीलाई समेत वैध गर्न चाहन्छिन् ।
सन् २०२० मा ट्रम्प प्रतिरक्षात्मक थिए, डेमोक्र्याटस आक्रामक । अहिले ठीक उल्टो छ, ट्रम्प आक्रामक छन् र ह्यारिस प्रतिरक्षात्मक ।
४. बाइडन शासनकालको एन्टी-इन्कम्बेन्सी
मात्रा थोरै नै किन नहोस्, हरेक चुनावमा बहालवाला उम्मेदवारविरुद्ध उभिएको एक मतदाता हिस्सा हुन्छ, जसलाई राजनीतिशास्त्रमा ‘एन्टी-इन्कम्बेन्सी’ भन्ने गरिन्छ ।
जो बाइडन शाासनकालको ‘एन्टी-इन्कम्बेन्सी’ मा कमला ह्यारिस पनि जोडिन्छन् । बाइडन शासनकालमा कमलाको उपराष्ट्रतीय भूमिका खासै निर्णायक र प्रभावकारी थिएन भन्ने आम जनगुनासो छ ।
उनलाई बाइडनको एक राम्रो अनुयायीका रूपमा हेरिन्थ्यो । बाइडन शासनकाल धेरै विवादित र नराम्रो त थिएन तर, धेरै लोकप्रिय र प्रभावकारी पनि थिएन । बहालवाला उपराष्ट्रपति हुनुको मार कमलामाथि पर्न सक्नेछ ।
५. लोकप्रिय मत निर्वाचक बहुमत विरोधाभास
अमेरिकी निर्वाचन प्रणाली अनौठो छ । यहाँ कहिलेकाहीँ सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार हार्न र कम मत प्राप्त गर्ने उम्मेदवारले जित्न सक्दछ । सन् २०१६ मा ठीक यस्तै भएको थियो ।
हिलारी क्लिन्टनले ट्रम्पले भन्दा करिब २९ लाख बढी मत प्राप्त गरेकी थिइन् तर, निर्वाचक मण्डलको बहुसङ्ख्याको कारण चुनाव भने ट्रम्पले जितेका थिए ।
अमेरिकी निर्वाचक मण्डल (इलेक्ट्रोरल भोट) ५३८ सदस्यीय हुन्छ । राष्ट्रपति निर्वाचित हुन २७० मत चाहिन्छ । लोकप्रिय मतले निर्वाचक मण्डल सदस्य जिताउँछ र निर्वाचन मण्डलको बहुमतले राष्ट्रपति । सन् २०१६ मा करिब २९ लाख मत कम हुँदा पनि ट्रम्पको निर्वाचक मण्डल सङ्ख्या ३०४ र क्लिन्टनको २२७ मात्र थियो ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म सन् १८२४, सन् १८७६, सन् १८८८, सन् २००० र सन् २०१६ मा गरी ५ पटक यस्तो भएको छ ।
यसो हुनुको कारण प्रादेशिक आधारमा निर्वाचक मण्डल सदस्य सङ्ख्या वितरण हो । राष्ट्रपति छनोटमा मध्यम र साना जनसङ्ख्या आकार भएका राज्यको समेत निर्णायक भूमिका होस् भन्ने उद्देश्यले यस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको थियो ।
सबैभन्दा धेरै निर्वाचक मण्डल सदस्य क्यालिफोर्नियामा ५४ छन् । सबैभन्दा कम ३ मात्र सदस्य भएका अलास्का, डेलावर, डिस्ट्रिक अफ कोलम्बिया, नर्थ डाकोटा, साउथ डाकोटा, बोरर्मेन्ट, वायोमिङ गरी ७ राज्य छन् ।
यस्तो निर्वाचन प्रणालीमा त्यस्ता राज्य निर्णायक हुन्छन्, जहाँ निर्वाचक सदस्य मध्यम आकार र ‘स्वीङ भोट’ बढी हुन्छ । ‘स्वीङ स्टेट’ मा थोरै मत अदलीबदली हुँदा निर्वाचक मण्डलको संरचनामा भिन्नता आउँछ । त्यसले देशको राष्ट्रपति छनोटलाई प्रभावित गरिदिन्छ ।
यसपटक ९ राज्य मिनेसोटा १०, भर्जिनिया १३, विस्किन्सन १०, पेन्सिलभेनिया १९, मिसिगन १५, नर्थ क्यारोलिना १६, एरिजोना ११, जर्जिया १६ र नेभाडा ६ ले ‘स्वीङ स्टेट’ को भूमिका गर्ने ठानिएको छ ।
यी ५ तथ्यलाई विचार गर्दा ट्रम्प हार्छन् नै भन्न सकिन्न ।
Facebook Comment
Comment