काठमाडौं । कुनै बेला नेपालको आकाशमा गर्वसाथ उड्ने नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)का जहाजहरू अहिले एकपछि अर्को ‘ग्राउन्डेड’ भइरहेका छन् ।
वाइडबडी ‘अन्नपूर्ण’ इटालीको नेपल्समा ‘अलपत्र’ परेको ७० दिन पुगेको छ । वाइडबडी ‘मकालु’लाई पनि ‘सी–चेक’ का लागि भन्दै थन्काइएको छ । न्यारोबडी ‘सगरमाथा’ र ‘लुम्बिनी’ जहाज पनि बेला-बेला ग्राउन्डेड हुँदै पुनः उड्न सुरु गर्छन् ।
निगमले उडान गर्ने क्षेत्रको बजार हिस्सा २०२० मा २५ प्रतिशत पुगेको थियो । अहिले घट्दै १६ प्रतिशतमा सीमित भएको छ । निजी कम्पनीले ८४ प्रतिशत बजार हात पारिसकेका छन् । निगमको ओरालो यात्रा कायमै छ । निगमले पहिले दिल्ली, मुम्बई, बैंगलोर, बैंकक, हङकङ, कतार, मलेसिया, दुबईलगायत विभिन्न ११ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेको थियो ।
तर, अहिले त्यो अवस्था छैन । यस्तो अवस्था आउनुमा निगमको आन्तरिक बेथिति र कमिसनको खेल प्रमुख कारण रहेको जानकार बताउँछन् । वायुसेवा निगमका चारवटा जहाजमध्ये अहिले दुईवटा मात्र उडानमा छन् । केही दिनअघि त तीन जहाज थन्किएका थिए । शनिबारदेखि तीमध्ये एउटा उड्न थालेको छ ।
मर्मतमै ढिलाइ
‘अन्नपूर्ण’ वाइडबडी जहाजलाई ‘सी-चेक’ का लागि असार ९ मा इटालीको नेपल्स पठाइएको थियो । सम्झौताअनुसार, जहाज ३० दिनमै फिर्ता आउने आशा थियो तर, ७० दिन बितिसक्दा पनि ‘अन्नपूर्ण’ फिर्ता आएको छैन ।
यसको प्रमुख कारण निगमले मर्मतसम्बन्धी रकम पठाउन गरिएको ढिलाइ हो । ३७ दिनसम्म पैसा नपठाइएपछि जहाज पार्किङमै थन्कियो । त्यसपछि मर्मत सुरु भएको थियो ।
अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी-चेक’ का लागि गत बुधबार इटाली पठाइएको छ । यो जहाजको मर्मत साउन ९ मै गरिनुपर्ने थियो । तर, ढिलाइ गरेर पठाइएको छ । जानकार भन्छन्, “सम्झौताअनुसार ३० दिनमै फिर्ता आउनुपर्ने जहाज ढिलाइको नियतले रोकिन सक्छ ।”
लगातार ‘ग्राउन्डेड’ हुँदै आएको निगमकै न्यारोबडी जहाज ए ३२० ‘सगरमाथा’ पनि सञ्चालनमा थिएन । अघिल्लो मंगलबार ‘ग्राउन्डेड’ भएको जहाज शनिबारदेखि सञ्चालनमा ल्याइएको छ ।
साता दिनअघि एउटा न्यारोबडी जहाज ए ३२० ‘लुम्बिनी’ मात्रै सञ्चालनमा थियो । काठमाडौं, हङकङ, दोहा र दुबई जाने आउने दैनिक ८ सय हाराहारी यात्रु प्रभावित भएका थिए ।
त्यो बेला निगमले मुस्किलले दैनिक २ उडान गरिरहेको थियो । अन्तर्राष्ट्रिय उडानमा ‘लुम्बिनी’ले नारिता, क्वालालम्पुर, बैंकक, हङकङ, बैङ्लुर, मुम्बई, दिल्ली, दोहा, दुबई र दमाममा हुने उडान सबै गर्नुपर्ने बाध्यता थियो । ‘ग्राउन्डेड’ न्यारोबडी सञ्चालनमा आएपछि अहिले केही सहज भएको छ ।
उडान कम भएपछि घाटा
जहाज ‘ग्राउन्डेड’ भइरहँदा निगमको दैनिक घाटा झन्झन् बढ्दो छ । दुईवटा वाइडबडीले दैनिक करिब ४ करोड रुपैयाँको कारोबार गर्थे । अहिले त्यो ठप्प छ । मुस्किलले न्यारोबडीले २ करोड मात्र कारोबार गर्न सकेको छ ।
भएका जहाज थन्किँदा अन्तर्राष्ट्रिय उडानको प्रतिस्पर्धामा निगम विस्तारै पछि पर्दै गएको छ । चाडपर्वको मुखमा दुवै वाइडबडी र न्यारोबडीको उडान अवरुद्ध हुँदा निगमले आम्दानीको ७० प्रतिशत (दैनिक ४ करोड रुपैयाँ) गुमाउँदै आएको छ ।
अर्काेतर्फ वाइडबडीले सबैभन्दा नाफा हुने जापानको नारिता रुटमा उडान गर्दै आएको थियो । अन्यत्रभन्दा त्यहाँ कमाइ आकर्षक थियो । सातामा तीन उडान बन्द हुँदा यात्रुबाट आउने १८ करोड हाराहारी रकम गुमिरहेको छ ।
कमिसनमा चुर्लुम्मै निगम
निगमका जहाज समयमै मर्मत गरेर ल्याउनेमा असङ्ख्य आशङ्का छन् । यसको पछाडि पनि निगमको आन्तरिक बेथिति र घुसको खेल प्रमुख कारण रहेको बताइन्छ ।
मार्केटिङ विभागका एक अधिकारीका अनुसार काठमाडौं-नारिता-काठमाडौं रुटमा निगमले सातामा तीन उडान गर्ने गर्दथ्यो । यो रुटमा एकतर्फी भाडा १ लाख २० हजार रुपैयाँ थियो, जसले ३ करोडसम्मको व्यापार हुन्थ्यो । तर, जहाज थन्किँदा निगमले यो बजार हिस्सा गुमाएको छ ।
समग्रमा नेपाल वायुसेवा निगमको यो अवस्थाले निजी कम्पनीलाई फाइदा पुर्याएको छ । निगमका जहाज आकाशमा उड्नुपर्ने बेला थन्किँरहँदा प्रतिस्पर्धामा निजी कम्पनीको वर्चस्व झन् मजबुत हुँदै गएको छ ।
निगमको जहाज जति दिन ‘ग्राउन्डेड’ भयो, निजी कम्पनीले उति धेरै कमिसन निगमका अधिकारीलाई दिन्छन् भन्ने चर्चा पनि हुने गरेको छ । यसैको लागि निगमले असार ९ मा इटालीको नेपल्स पठाएको वाइडबडी ‘अन्नपूर्ण’ अझै नल्याएको आरोप छ ।
‘सी-चेक’ का लागि जहाज मर्मतमा संलग्न एमआरओ (एजेन्ट) कम्पनीले ३० दिनमै जहाज फर्काउने सम्झौतापत्रमा उल्लेख छ । तर, ७० दिन पुग्न लाग्दासमेत फिर्ता गरिएको छैन । उक्त वाइडबडी कहिले फिर्ता आउँछ भन्ने अझै निश्चित नभएको निगमका एक वरिष्ठ इन्जिनियरले बताए ।
उनले भने, “सी-चेक बढीमा महिनादिनमा सकिनुपर्ने हो । तर, जानाजान यतैबाट ढिलाइ भइरहेको छ । मर्मतबापत्को पैसा पठाउन निगमले ढिलाइ गरिरहेको छ । जहाज पठाएको ३७ दिनसम्म पैसा नपठाएपछि पार्किङमै थन्किएको थियो ।”
उनका अनुसार यो ढिलाइ नियतवश गरिएको हो । निगमका प्राविधिकतर्फका प्रवक्ता मनोजकुमार साहका अनुसार वाइडबडी ‘अन्नपूर्ण’ शनिबार काठमाडौं आइपुग्ने छ ।
अरू दुई जहाजको अवस्था के छ ?
‘सी-चेक’कै लागि बुधबार राति दुबई हुँदै इटाली पठाइएको अर्को वाइडबडी ‘मकालु’ को फिर्ती पनि अनिश्चित छ । त्यस विमानको ‘सी-चेक’ साउन ९ मै गर्नुपर्ने थियो ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि नागरिक उड्डयन प्राधिकरणको नियमनकारी निकाय फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स विभागले वाइडबडी ‘मकालु’लाई व्यावसायिक उडानका लागि ३ सय घण्टा समय थपिदिएको थियो ।
थपिएको समयमा त्यसले जापानको नारिता रुटमा मात्रै उडान गरेको थियो । त्यो समय सकिएपछि वाइडबडी ‘मकालु’लाई सी चेकका लागि पठाइएको हो । मर्मत गर्ने एमआरओ कम्पनीले ३० दिनमै फिर्ता पठाउनुपर्ने सम्झौता छ । तर, यसमा पनि निगमले जानाजानी ढिलाइको नियत राख्नसक्ने जानकार बताउँछन् ।
निगमको बेथितीबारे जानकार एक पूर्वकर्मचारी भन्छन्, “सम्झौताअनुसार वाइडबडी ‘मकालु’लाई एमआरओ कम्पनीले ३० दिनमै फिर्ता पठाउनुपर्ने छ । तर, उसलाई समयमै काम गर्नबाट रोक्ने संयन्त्र लागिरहेको छ ।”
निगमले जहाज समयमै मर्मत गरेर ल्याउनेमा आशङ्का छ । किनकि निगमको यसअघिको ट्रयाक रेकर्ड खराब छ । अघिल्ला वर्षमा न्यारोबडीको जहाज ४५ दिन दोहामा ग्राउन्डेड भएको थियो । यस्तै, एकपटक ५२ दिन, अर्को पटक २७ दिन र अर्को बेला २१ दिन काठमाडौं एयरपोर्टमा ग्राउन्डेड भएको रेकर्ड छ ।
न्यारोबडी ‘सगरमाथा’पनि ‘हाइड्रोलिक’ प्रणालीमा समस्या आएका कारण अघिल्लो शनिबार मध्यरातिदेखि ग्राउन्डेड भयो । मर्मतपछि मङ्गलबार हङकङ उडानका लागि राखिएको थियो तर, लापरबाही गरेको खुलेपछि उडान रद्द गरेर फेरि मर्मतमा पठाइयो । ‘हाइड्रोलिक’ प्रणाली मात्रै मर्मतपछि शनिबारदेखि सञ्चालनमा ल्याइएको छ ।
बारम्बार ग्राउन्डेड किन ?
निगमको न्यारोबडी र वाइडबडी प्राविधिक तथा व्यवस्थापकीय कमजोरीले बारम्बार ग्राउन्डेड हुने गरेको थियो । अहिले आएर त एकैपटक तीनवटै थन्किए ।
सन् २०२३ को फेब्रुअरीदेखि अहिलेसम्म न्यारोबडी र वाइडबडी ३० पटक जति ग्राउन्डेड भएका छन् । जसमा न्यारोबडी जहाज २० पटक जति र वाइडबडी जहाज १० पटकसम्म ग्राउन्डेड भएको देखिन्छ ।
प्राविधिक समस्या, मर्मत सम्भारमा ढिलाइ र निगमको व्यवस्थापकीय कमजोरीका कारण जहाज बढी ग्राउन्डेड हुने गरेका छन् । तर, यसको पछाडि ‘अरू विमान कम्पनीबाट कमिसन’ खाने गरेको आरोपसमेत लागेको छ ।
कुनै पनि जहाजमा २/३ महिनामा समस्या आउनु सामान्य मानिन्छ । तर, निगमका जहाजमा भने समस्या पनि आइरहने र त्यहीँ समस्या दोहोरिने रोग लागेको छ ।
आर्थिक लेनदेनमा ग्राउन्डेड !
निगमको जहाज आर्थिक लेनदेनमा ग्राउन्डेड गराउने गरिएको कुरा संसद्सम्मै पुगेको छ । निगम सञ्चालक समितिका सदस्य तथा कर्मचारीहरूले अरू प्रतिस्पर्धी वायु सेवा कम्पनीबाट कमिसन लिएर जहाज बिनाकारण ‘ग्राउन्डेड’ गराउने गरेको आरोप लाग्दै आएको छ ।
चाडबाडको समयमा यात्रु चाप बढी हुने समयमै प्राय: निगमको जहाज ‘ग्राउन्डेड’ भइरहेको हुन्छ । यसले पनि शङ्कालाई थप बल दिएको छ । केही दिनअघि प्रतिनिधि सभामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले निगमका जहाज आर्थिक लेनदेनमा ग्राउन्डेड गराएको हुनसक्ने आशङ्का व्यक्त गरेका थिए ।
“विभिन्न क्षेत्रमा, विभिन्न अन्तर्राष्ट्रिय रुटहरूमा सञ्चालित नेपाली जनतासँग वा पर्यटकलाई बोक्ने रुटहरूमा सञ्चालित कतै पनि हाम्रो ध्वजावाहक उडिराखेको छैन । नेपाल एयरलाइन्स उडिराखेको छैन,” उनले भनेका थिए ।
निगमका प्राविधिक प्रवक्ता मनोजकुमार साह भने लामो समय इटालीमा रहेको वाइडबडी ‘अन्नपूर्ण’ शनिबार नेपाल आइपुग्ने बताउँछन् । अरू कम्पनीसँग कमिसन खान जहाज ग्राउन्डेड गराएको आरोपमा असहमति राख्दै उनी भन्छन्, “मापदण्डअनुसार मर्मत गर्नैपर्छ । यसको लागि ग्राउन्डेड गर्नैपर्यो । अर्को कुरा सकेसम्म छिटो मर्मत हो । कहिलेकाहीँ केही प्राविधिक कारणले ढिलो हुनसक्छ । नियत नै ढिलो गर्ने भन्ने हुँदैन ।”
चाडबाडमा सबैजसो जहाज ग्राउन्डेड भएपछि सरकारले निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार एकैपटक दुई वाइडबडी जहाज ‘सी-चेक’का लागि पठाइएको विषयमा स्पष्टीकरण मागेको छ ।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले अधिकारीलाई ११ वटा प्रश्नको जवाफ दिन ७ दिनभित्र वस्तुगत आधार, कारण र प्रमाणसहित लिखित स्पष्टीकरण पेस गर्न भनेका छन् । मन्त्रालयले निगममा नियमित रूपमा देखिएका कमजोरी र लापरबाहीका कारण व्यावसायिक कार्यसम्पादनमा कमी आएको पनि स्पष्टीकरण पत्रमा उल्लेख गरेको छ ।
Facebook Comment
Comment