टिप्पणी

टुँडिखेलमा देउवाले युवालाई बदमास भने कि आफैँलाई ?

मान्छेहरू देउवा-ओलीलाई देख्नेबित्तिकै इरिटेड हुने र नाराबाजी गर्ने ठाउँमा कसरी पुगे ? कारण के छ ? को कारण बन्यो ? यी सन्दर्भहरू मूल विषय हुन् ।

टुँडिखेलमा देउवाले युवालाई बदमास भने कि आफैँलाई ?

काठमाडौं । मान्छे कतिबेला चिच्याउँछ, कराउँछ, रिसाउँछ ? जतिबेला उसले आफूले चाहेअनुरूप हुँदैन । यो मान्छेको एउटा मानवीय गुण नै हो । तपाईं त्यसै हुनुहुन्छ, म पनि त्यसै हुन्छु । हिजो शेरबहादुर देउवालाई भएको पनि त्यही हो, त्योभन्दा अगाडि नाराबाजी गर्नेहरूलाई भएको पनि त्यही हो ।

गौरापर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहका बीच आफू र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि शेरबहादुर देउवा झोकिएनन् मात्रै, गालीकै तहमा ओर्लिएर नाराबाजी गर्नेहरूलाई भने, “…लाज पनि छैन, बदमासहरू !”

अर्थात् समारोहमा देउवाले चाहेअनुरूप भइरहेको भएन, त्यसैले उनी गालीकै तहमा ओर्लिए । ठीक त्यस्तै समारोह नाराबाजी गर्नेहरूले चाहेअनुरूप पनि भएन । त्यसैले उनीहरू चिच्याउँदै कराए, देउवा-ओलीविरुद्ध नाराबाजी गरे ।

आफूले चाहेअनुरूप नभइसकेपछि मान्छे ‘इरिटेड’ हुन्छ र मान्छे कराउँछ, चिच्याउँछ र रिसाउँछ । हिजो देउवा-ओलीसँग त्यहाँ पुगेकाहरू इरिटेड भए र नाराबाजी गरे । त्यसबाट देउवा-ओलीलाई इरिटेड भयो । जे होस् मान्छे इरिडेट भइसकेपछि कराउँछ, रिसाउँछ ।

तर, मूल विषय यो होइन । मूल विषय त यो हो कि मान्छेहरू (जनताहरू) देउवा-ओलीलाई देख्नेबित्तिकै इरिटेड हुने र नाराबाजी गर्ने ठाउँमा कसरी पुगे ? जनता तिनका विरुद्ध कसरी नाराबाजी गर्ने ठाउँमा पुगे ? त्यहाँ कारण के छ ? को कारण बन्यो ? यी सन्दर्भहरू भने मूल विषय हुन् ।

आफूविरुद्ध नाराबाजी भएपछि देउवाले भनेको ‘बदमास’ लाई पनि केलाएर हेर्ने नै छौँ । त्यसअघि केही चर्चा गरौँ ।

हामीकहाँ एउटा उखान छ, ‘मरिच किन चाउरिन्छन् ? आफ्नै परोले’ । यो उखान बुझिसकेपछि यस सन्दर्भमा धेरै कुरा बुझिसकिन्छ ।

शेरबहादुर देउवा झन्डै चार दशकयता मुलुकलाई कस्तो बनाउने र कहाँ पुर्‍याउने भन्नेबारे निर्णय गर्ने र कार्यान्वयन गर्ने ठाउँमा छन् । अर्थात् उनले चाहेको हुन्छ, हुनसक्छ । त्यो प्रधानमन्त्रीका रूपमा होस् वा सबैभन्दा ठूलो पार्टी सभापतिका रूपमा ।

तर, के ती भए त ? मुलुक सामाजिक-आर्थिक रूपले त जहाँको त्यहीँ छ । आर्थिक रूपमा मुलुक अझ कङ्गाल भइरहेको छ । सार्वजनिक ऋण मात्रै झन्डै २५ खर्ब पुगेको छ । राजस्वले प्रशासन धान्नसमेत गाह्रो छ । के यसको जिम्मा देउवाले लिनुपर्दैन ?

देउवाले यसबीचमा भएका राजनीतिक परिवर्तनमा योगदान गरेको सत्य हो, त्यो श्रेय जनताले दिन्छन्, कन्जुस्याइँ गर्दैनन् । तर, आर्थिक-सामाजिक रूपमा देश जहाँ छ, त्यो देउवाकै कारण पनि छ । आर्थिक-सामाजिक रूपमा देश उन्नाइसबाट बीसमा उक्लिएको छैन ।

देउवासँगै अरु बूढापाका नेताहरू, जो ठूला पार्टीका प्रमुख हुन्; उनीहरू एउटा मुद्दा लिएर चुनावताका जनतामा जान्छन्, जितेर फर्किन्छन् त्यसपछि भालिभाँती रूपमा सत्ताअभ्यास गर्छन् ।

सतामा पुगेपछि आफू प्रधानमन्त्री बन्छन् र भ्रष्टाचारी, ठग र जनपीडकलाई मन्त्री बनाउँछन् । अदालतले ठग, भ्रष्टाचारी गरेका अभियुक्त-नेतालाई खुलेआम घरमा स्वागत गर्छन् । जनताबाट कारबाहीको माग हुँदा उल्टै संरक्षणमा उत्रिन्छन् ।

सरकारमा हुँदा एउटा सामान्य भ्रष्टाचारको अनुसन्धान गर्न सक्दैनन् तर, गफ चुट्न छाड्दैनन् । उनीहरू आफू राजकीय पदमा नहुँदा पनि निरन्तर भइरहने कामलाई उपलब्धिका रूपमा दर्ज गर्छन् र प्रचार बटुल्छन् । पद-प्राप्तिका लागि जे पनि गर्छन् ।

देश विकासको ठूला-ठूला गफ हाँक्छन्, जनतालाई सपना देखाउँछन् तर, कार्यान्वयन भने शून्य । उनीहरू आफैँ यी तमाम बदमासी गर्छन् र उनीहरू आफैँ जनतालाई बदमास भनेर गाली गर्छन् ।

ए ! नेताज्यू, बदमासी गर्नलाई पनि ठाउँ चाहिन्छ र त्यो ठाउँमा तपाईंहरू हुनुहुन्छ । सर्वसाधारणले कहाँबाट बदमासी गरोस् ।

अनि यी तमाम बदमासी गर्ने नेताहरूसँग जनता इरिटेड हुँदैनन् त ? के जनता इरिडेट हुँद पाउँदैनन् ? अनि इरिडेट बनाएको कसले ? वास्तवमा यी बूढापाका नेताहरू लगातार चार दशकसम्म राजकीय पद र त्यसकै वरिपरि रहँदा जनतालाई इरिटेड बनाएका छन् । अझ उनीहरू आफैँले बदमासी गरेर जनतालाई बदमास करार गर्छन् ।

देउवाले नाराबाजी गर्नेहरूलाई बदमास भनेपछि यो शब्दको शाब्दिक अर्थ खोजियो । नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रज्ञा नेपाली बृहत् शब्दकोशमा नियाल्दा यसका पाँचवटा अर्थ फेला परे । ‘फटाहा मान्छे’, ‘खराब कामबाट जीवन निर्वाह गर्ने; दुषकर्मी’, ‘खराब चलन वा आचारविचारको दुराचारी’, ‘दुष्ट; दुश्चरित्र र फटाहा; सिल्ली’ बदमास शब्दका पाँचवटा अर्थ भेटिए ।

सबै शब्दको शाब्दिक-मर्म बुझ्दा देउवाले आफैँलाई बदमास भनिरहेझैँ लाग्यो । सबै शब्दका अर्थहरू नाराबाजी गर्नेहरूप्रति नभइ देउवाप्रति नै आकर्षित भएझैँ लाग्यो । यसरी हेर्दा हिजो देउवाले सयौंको अगाडि उभिएर आफैँले आफैँलाई बदमास घोषणा गरेका हुन् कि !

तर, नेपालका बूढापाका नेताहरूमा ‘चल्ता हे गाडी घ्यारघ्यार’ मानसिकता देखिन्छ तर, हिजो टुँडिखेलबाट दिइएको सन्देश भने त्यो होइन, ‘गाडी ऐसे नहीं चलती’ हो ।

अर्थात् बूढापाका नेताहरू सोच्दा हुन्; यसैगरी चल्दै आएको हो, चल्छ र चल्दै जानेछ, जनता त आखिर जे भन्दा पनि मानिहाल्छन् नि, आज कराउँछन्, भोलि साम्य भइहाल्छन् । यकि कुरा; जनता पहिलेजस्तो छँदै छैनन् । उनीहरू एक/एक हिसाब गरेर बसेका छन्, अब उनीहरू गणित जान्ने भइसकेका छन् ।

यहाँनेर दक्षिण एसियाकै एउटा देश बंगलादेशमा भर्खरै घटित एउटा घटनाको उदाहरण सान्दर्भिक हुन्छ । त्यहाँका जनताले अति भएपछि लगभग दुई दशक सत्ता राजकाज चलाएकी प्रधानमन्त्री शेख हसिनालाई पदबाट मात्रै झारेनन्, देशबाटै लखेटे । यो काम तिनै ‘चल्ता हे गाडी घ्यारघ्यार’वाला सोच र जनतालाई ‘भेडा’ सम्झिने शासकको मानसिकताका कारण भएको हो र फत्ते तिनै जनताले गरेका हुन् ।

अब देउवाहरूले झोकिनुको साटो यी घटनाबाट पाठ सिक्नुपर्छ । त्यसो त ‘बंगलादेश मोडेल’को जनविद्रोहको बहस नेपालमा पनि भइरहेको छ । यहीबेला एउटा पूर्वप्रधानमन्त्री कुनै समारोहमा सरिक हुँदै गर्दा नाराबाजी हुनुलाई सामान्य रूपमा लिएर खाली त्यहीँबाटै जवाफ फर्काउनु उचित होइन । माननीय देउवाज्यू, मननीय हुनुस् ।

त्यसो त भन्नैपर्छ कि देउवा एउटा प्रतिनिधि पात्र मात्रै हुन् । त्यही पङ्क्तिमा जोडिन्छन्, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई आदिइत्यादि । जनझुकाव र बुझाइ कम-बढी हुनसक्छ तर, समग्रमा जनता यी अनुहारहरूसँग इरिटेड छन्, इरिटेड भएपछि उनीहरू कराउँछन्, रिसाउँछन् । तर, यी बूढापाका नेताहरूले बुझ्नुपर्छ कि जनताहरू सधैँ कराइ मात्रै रहँदैनन् ।

त्यसैले अब बूढापाका नेताहरूले जनतालाई होइन, आफैँलाई बदमास करार गर्दै ‘युगसापेक्ष’ पार्टी र सरकारलाई अगाडि बढाउन मद्दत गर्नुपर्छ । आजसम्म यी नेताहरूले पुर्‍याएको राजनीतिक योगदानलाई जनताले सम्झिने नै छन्, धन्यवाद भन्ने नै छन् । तर, मृत्युपर्यन्त पदमै टाँसिने र उस्तै हावा गफ दिँदै जाने हो भने अब जनता कराएर मात्रै बस्दैनन् । टुँडिखेल नाराबाजीको सन्देश र संकेत पनि यही हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved