उनी भन्छन् कि जतिबेलासम्म मन्दिर बनाइँदा जनता खुसी हुन्छन्, त्यतिबेलासम्म नेताहरूले मन्दिर नै बनाइरहन्छन्, वैज्ञानिक प्रयोग र समयको सापेक्षतातर्फ उनीहरूको ध्यान नै जाँदैन ।
काठमाडौं । प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ लोकार्पण समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र त्रिभुवन विश्वविद्यालयकी पूर्वरेक्टरसमेत रहेकी स्रष्टा डा. सुधा त्रिपाठीले फरक-फरक दुई महत्त्वपूर्ण अभिव्यक्ति दिए । बाबुरामले एन्टिथेसिस जस्तो पुस्तक राज्यद्वारा छपाएर वितरण गरिनुपर्ने बताउँदा सुधाले यस्तो पुस्तक विश्वविद्यालयका कोर्षहरूमा राखिनुपर्नेमा जोड दिइन् ।
त्यसबेला मलाई मनमा अनेकन् जिज्ञासाहरू आएका थिए । पुस्तक कस्तो छ ? के-के विषय समेटिएका छन् ? आदिइत्यादि । किन पनि भने मैले त्यसबेलासम्म पुस्तक पढिसकेको थिइनँ, भर्खर लोकार्पण हुँदै थियो ।
तर, जब मैले पुस्तक पढिसकेँ, बाबुराम-सुधाको अभिव्यक्तिको प्रासङ्गिकता बुझेँ र साह्रै सान्दर्भिक लाग्यो । यो समीक्षा ज-जसले पढ्नुहुन्छ, त्यसमध्ये तपाईंहरू कतिले त पढिसक्नुभएको पनि होला, कतिले पढ्नुभएको छैन होला ।
मेरो निवेदन छ कि पढ्नेहरूले पुस्तकमाथि केही लेख्नुहोस्, जसले पढ्नुभएको छैन, पढ्नुहोस् । यति कुरा; यो पुस्तक पढ्नुभएन भने तपाईंले धेरै कुरा छुटाउनुहुनेछ । यो मेरो जोड अझ मेरो पुस्तालाई हो । यति भनिसकेपछि अब पुस्तकका बारेमा आफ्ना कुरा सुरु गर्छु ।
जतिबेलासम्म मन्दिर बनाइँदा जनता खुसी हुन्छन्, त्यतिबेलासम्म नेताहरूले मन्दिर नै बनाइरहन्छन् ।
पुस्तक हदैसम्म वैज्ञानिक र प्रामाणिकतामा आधारित छ । हुन त लेखक आफैँ त्यहीसँग सम्बन्धित काम मात्रै गर्दैनन्, संस्था (अल्टरनेटिभ फाउन्डेसन) नै सञ्चालन गरिरहेका छन् । उनीद्वारा लिखित पुस्तक त्योभन्दा पर जाने कुरै भएन ।
२९२ पृष्ठमा तयार भएको पुस्तकमा २८ वटा छुट्टाछुट्टै शीर्षक छन्, जसलाई लेखकले विज्ञानका आधारमा व्याख्या, विश्लेषण र विमर्श गरेका छन् । लेखकले ५० भन्दा बढी सन्दर्भ सामग्रीको प्रयोग गरेका छन् । यसर्थ, मलाई यो लाग्छ कि पुस्तक पढेर पाठकहरू तृप्त हुनेछन् ।
मानव मस्तिष्क, मानवजातिले नबुझेको यसको महत्त्व र गर्न नसकेको यसको प्रयोगबाट सुरु भएको पुस्तक एउटा दम्दार र क्रान्तिकारी कवितामा गएर टुङ्गिन्छ ।
मस्तिष्कको कुरा गर्दा लेखकको निर्मम तर, सत्य एउटा निष्कर्ष छ- मानिसहरूले मस्तिष्कको प्रयोग यौनाङ्गको जति पनि गर्न सकेका छैनन् ।
सुरुमै उनको यो निष्कर्ष साह्रै मनासिब लाग्यो । हामीले संसारभर हेर्यौँ भने यौनाङ्गबारे अनेकन् चलचित्र बनेका छन्, गीत, कविता, कथा, निबन्ध लेखिएका छन् तर, मस्तिष्कबारे नि ? सोच्नैपर्छ, खोज्नैपर्छ ।
लेखक यसको एन्टिथेसिस लेखक पेस गर्छन्- मानिसहरूले मस्तिष्कको प्रयोग गर्नुपर्छ, जतिबेलासम्म यसको प्रयोग गरिँदैन, त्यतिबेलासम्म मानवजातिको सर्वाङ्गीण विकासको मूलद्वार खुल्दैन ।
जे होस्, लेखकको निष्कर्ष यो हो कि मानवजातिको सर्वाङ्गीण विकास मस्तिष्कको उच्चतम् प्रयोगबाट मात्रै सम्भव छ, त्यो पनि वैज्ञानिक तवरबाट । आजसम्म विभिन्न क्षेत्रमा जे-जति प्रगति र विकास भए, ती मस्तिष्कको प्रयोग गर्ने सीमित मान्छेका कारण हो । उनीहरूले अग्रगामी सपना देखे, प्रयोग र कार्यान्वयन गरे र नै हामी यहाँसम्म आइपुगेका छौँ । यसमाथि लेखक प्रश्न गर्छन्— नेल्सन मन्डेलाले कानून मात्रै पढेर बसेको भए अफ्रिकामा काला जातिको मुक्ति सम्भव थियो ?
लेखक मान्छेको इतिहास र वर्तमान हुँदै एआई (आर्टिफिसियल इन्टेलिजेन्स) भएर आफ्नो चेतनाबारे बताउन पुगेका छन् । इतिहासकालमा अफ्रिकाबाट अघि बढेको मानिसमध्ये यूरोपतर्फ लागेकाहरू विज्ञान, गणित, दर्शन र प्रजातन्त्रतिर गएको तर, एसियातर्फ लागेका मान्छेहरू ईश्वर र धर्ममा भुलिएको प्रसङ्ग जोड्दै लेखक भन्छन्, “नास्तिक हुनु भनेको धर्म विरोधी हुनु होइन । बरु अन्धविश्वासी नहुनु हो । नास्तिक हुनु भनेको सुनेको वा देखेका कुराको पछि नलाग्नु र प्रमाणित कुराको मात्रै पछि लाग्नु हो ।”
यो पुस्तकमाथि लेखिएका अरु समीक्षाहरू पनि पढेँ । तर, ती समीक्षाहरूमा बढी धर्मलाई ‘हाईलाइट’ गरेको पाएँ । तर, मलाई लाग्यो कि यहाँ धर्मलाई नभइ विज्ञानलाई प्रधानता दिइएको छ । पुस्तक लेख्नुको लेखकको अभिष्ट अप्रमाणित र अदृश्य हाउगुजीमा नभइ वैज्ञानिक प्रयोगबाट सिद्ध र प्रमाणित कुराहरूबाट मात्रै मानवजातिको विकास सम्भव छ भन्ने देखिन्छ ।
त्यसो त एक दशकअघि मात्रै लेखक आफैँ आस्तिक थिए । तर, अहिले उनी ठीक विपरीत नास्तिक भएका छन् । ‘म कसरी परिवर्तनकारी भएँ’ भन्ने शीर्षकको पाठमा उनी व्याख्या गर्छन्, “मान्छे परिवर्तनकारी नहुनुमा कि त उसले अग्रगामी सामाग्री अध्ययन नै गर्दैन, कि त उसलाई जीवनमा केही गर्नु नै छैन ।”
धर्मलाई सत्य मान्दा मान्छेहरू यथास्थितिवादी, एकोहोरो र अपरिवर्तनीय भएको लेखकको अर्को कटुसत्य निष्कर्ष छ । यसलाई उनले ‘धर्मका कारण भएको क्षमता र सम्भावनाको बन्ध्याकरण’ भनेका छन् । आजका जागरुक र सचेत मान्छेको पहिलो काम त्यसरी बन्ध्याकरण भएको समाजलाई ईश्वरीय जडताबाट बाहिर निकाल्नु भएको लेखक औँल्याउँछन् ।
त्यसोभए यसको राजनीतिक एन्टिथेसिस के हो ? लेखक यो ठान्छन् कि जनताको जागरुकता र क्रान्तिकारिता । लेखक बडो गजबको एउटा उदाहरण दिएका छन् । उनी भन्छन् कि जतिबेलासम्म मन्दिर बनाइँदा जनता खुसी हुन्छन्, त्यतिबेलासम्म नेताहरूले मन्दिर नै बनाइरहन्छन्, वैज्ञानिक प्रयोग र समयको सापेक्षतातर्फ उनीहरूको ध्यान नै जाँदैन ।
जसै अन्ततोगत्वा नेताहरूलाई चाहिने भोट मात्रै हो भन्नेमा दुईमत छैन । आवधिक निर्वाचनमा जनताकहाँ पुग्ने र बाँकी पाँच वर्ष केन्द्रमा बसेर जनादेशविपरीत भलिभाँती चल्ने नेताहरू पुन: अर्को निर्वाचनमा मात्रै जनताकहाँ पुग्छन् । अनि उनीहरूलाई भोटबाहेक के चाहिएको मान्ने ?
यो दृश्य नेपालमा प्रष्ट देखिन्छ । हामीले लामो समयदेखि यही झेल्दै आएका हौँ । यसको उपचार जनजागरणबाट मात्रै हुने लेखकको ठोकुवा छ । अर्थात् ईश्वरीय जडताबाट निस्केर वैज्ञानिक प्रामाणितकतामा विश्वास गर्नुपर्यो । जनता जागरुक नहुँदा राजनीतिक दलहरूले ‘टाइमपास’ राजनीति गरिरहेका छन् ।
लेखक प्रकाश विकल्प र उनीद्वारा लिखित पुस्तक एन्टिथेसिस ।
लेखकको अर्को महत्त्वपूर्ण एन्टिथेसिस हो, लोकतन्त्रले क्षमतालाई दबाउँछ । लोकतन्त्रलाई बहुमत र बहुमतलाई निर्णयका रूपमा विश्लेषण गर्दै उनी भन्छन्, “५१ जना खराबहरू मिलेसम्म देश बन्दैन । किनकि असल मान्छेसँग जहिल्यै ४९ वा त्योभन्दा कम मात्रै हुन्छन् अर्थात् असलले कहिल्यै बहुमत ल्याउँदैन ।”
उसो त हामीकहाँ पनि यही प्रणाली छ । यो पुस्तक पढेपछि मलाई पनि बहुमतीय प्रणालीबारे प्रश्न गर्न मन लागेको छ । ‘कहिलेकाहीँ पानी देखेपछि मात्रै प्यास लाग्छ’ भनेझैँ यो पुस्तक पढेपछि मात्रै मैले यसरी सोच्न सकेँ । हो म यसो पनि भन्दैछु कि पुस्तकले प्रश्न गर्न सिकाउँछ ।
पुस्तकले जे विषय उधिनेको छ, त्यसमाथि वैज्ञानिक तवरले बहस, विश्लेषण र विमर्श गर्दै जाने हो भने हामीले भन्ने गरेको देश विकास धेरै टाढा छैन ।
अत: लेखकको निष्कर्ष छ कि ओगट्नेबाट खोस्ने र गर्नेलाई दिने राजनीतिक प्रयोग नै वर्तमान नेपाली राजनीतिको एन्टिथेसिस हो । जे होस्, एन्टिथेसिस स्थापित गलत मान्यताको विरोधी पुस्तक हो, जसले स्थापित मान्यताबाट अगाडि बढ्न सिकाउँछ । यसले विद्रोह गर्न सिकाउँछ, प्रश्न गर्न सिकाउँछ अनि फरक तरिकाले सोच्न सिकाउँछ । यति भनिसकेपछि मलाई थप भन्न मन लागेको छ कि एन्टिथेसिस पुस्तक विद्रोही चेतना, ज्ञान र उत्प्रेणाको त्रिवेणी हो ।
यनेस्को प्रतिवेदनअनुसार विश्वमा प्रतिवर्ष २२ लाख पुस्तक प्रकाशन हुन्छन् । २२ लाख पुस्तक प्रकाशन भएपछि सरदर रूपमा २२ लाख नै लेखक हुने भए । यसरी हेर्दा प्रकाश विकल्प २२ लाखमध्येका एक सशक्त नेपाली लेखक हुन् ।
पुस्तकमा जति पनि शीर्षकउपर व्याख्या, विश्लेषण र विमर्श गरिएका छन्, सबै वैज्ञानिक छन्, समयसापेक्षित छन् । सबैभन्दा राम्रो पक्षचाहिँ लेखकले प्राय: सन्दर्भहरू उदाहरण दिएर बुझाएका छन् ।
यति हुँदाहुँदै पनि कतिपय कुराहरू अपुग भएका हुन् कि पुस्तकमा ! पुस्तकले मूलत: धर्मलाई नै अन्तिम सत्य मान्नेहरूलाई वैज्ञानिक प्रयोग र प्रामाणिकताको कसीभित्र कसरी ल्याउने भन्नेबारे मूर्त रूपमा जवाफ दिएको छैन । प्रकारान्तरले मान्छेहरू विस्तारै विज्ञानतर्फ सर्लान्, सर्छन् र सर्नै पनि पर्छ । तर, समयसापेक्ष र मानवजातिको सर्वाङ्गीण विकासका निम्ति कसरी चाँडै विज्ञानतर्फ सार्न सकिन्छ ? यसबारे पुस्तकले थप बताएको भए गजब हुने थियो कि !
यस्तै वर्तमान राजनीतिक प्रणाली र मुलुक संरचनाबाट पार लाग्दैन, वैज्ञानिक तवरले पुस्तान्तरण हुँदै जाँदा मात्रै समग्र मुलुकको विकास सम्भव छ भनिएको छ तर, त्यसको प्रक्रियाचाहिँ के हुने ? जस्तै: आजको राजनीतिक एन्टिथेसिस भनेको ओगटेकाबाट लिएर गर्नेलाई दिने भन्ने त भयो तर, त्यो लिने प्रक्रियाचाहिँ के ? यसबारे पनि पुस्तकमा थप केही लेखिएको भए पाठकहरू अझ लाभान्वित हुने थिए कि !
तर, यतिचाहिँ भन्नैपर्छ कि वैचारिकी, सैद्धान्तिक सन्दर्भ र समग्रतामा विकासका निम्ति चाहिने कुराहरूमाथि बहस, विश्लेषण र विमर्श नभइरहेको बेला यो पुस्तकले जे उधिन्यो, त्यो सानो र सामान्य विषयचाहिँ होइन । यो पुस्तकले उधिनेका एक/एक विषयमाथि बहस, विश्लेषण र विमर्श गर्दै वैज्ञानिक बाटो भएर अगाडि बढ्ने हो हामीले भन्ने गरेको देशको विकास सम्भव छ जस्तो लाग्छ । अत: त्यसैले यो पुस्तक पढ्नका लागि मात्रै होइन, मनन गर्नका लागि पनि हो ।
Facebook Comment
Comment