सोलुखुम्बु । जिल्लाको दुधकोशी सामुदायिक अस्पताल, मुक्लीमा एलएससीएस शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
जिल्लाकै थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाकी २५ वर्षीया अस्मिता तामाङको शल्यक्रिया बिहीबार बिहान सफलतापूर्वक सम्पन्न भएको अस्पतालका डा. अजय चौधरीले जानकारी दिए ।
उनका अनुसार अस्मिताको डेलिभरी डेट पुगिसकेको थियो तर, बच्चा पैदा हुन सकेको थिएन । “औषधि चलाएर पनि व्यथा नलागेपछि शल्यक्रिया नै गर्नुपर्ने भयो । यसपछि शल्यक्रिय गरिएको हो,” डा. चौधरीले भने, “सफलतापूर्वक भयो ।”
आमाको तौल धेरै तर, ज्यान सानो र बच्चाको तौल बढी हुँदा थप समस्या भएको उनले बताएका छन् । डा. चौधरीका अनुसार बच्चाको तौल चार केजी तीनसमय ग्राम थियो । जबकि सामान्यतया बच्चाहरूको तौल ३२ सय ग्राम हाराहारी मात्रै हुन्छ ।
यो शल्यक्रिया पाँचौँ भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । उनका अनुसार यसअगावै चारवटा एलएससीएस सर्जरी सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
गाउँपालिका केन्द्र मुक्लीमै यस्तो जटिल प्रकारका शल्यक्रिया हुन थालेपछि गाउँपालिकाका बासिन्दा लाभान्वित हुँदै आएका छन् ।
गाउँपालिकामा सुविधासम्पन्न अस्पताल नहुँदा त्यहाँका बासिन्दा जिल्ला अस्पताल फाप्लु र त्यहाँ पनि राम्रो सुविधा नभएपछि मिसन अस्पताल ओखलढुङ्गा हुँदै काठमाडौंसम्मै पुग्नुपर्थ्यो ।
तर, गाउँपालिका केन्द्रमै स्थानीय सरकारको नेतृत्वमा ५० शैय्याको सुविधासम्पन्न अस्पताल बनेसँगै गाउँपालिकाका बासिन्दा लाभान्वित हुँदै आएका छन् ।
एलएससीएस अर्थात् लोअर सेगमेन्ट क्यासरीन सेक्सन शल्यक्रिया पाठेघरमा पिसाब थैलीको संलग्नताभन्दा माथि, तल्लो पाठेघरको भागमा चिरा बनाएर बच्चा जन्माउने पक्रिया हो ।
Facebook Comment
Comment