बैंकक । युवा व्यवसायी एवम् एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमीका अन्तर्राष्ट्रिय डाइरेक्टर गणेश केसी ‘एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४’ बाट सम्मानित भएका छन् ।
शैली मिडिया नेटवर्क प्रालि को आठौँ वार्षिकोत्सवको अवसरमा शनिबार बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्द्धन गरी मुलुकलाई योगदान पुर्याउनुभएका केसी सम्मानित भएका हुन् ।
चितवनमा जन्मिएर अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाएका केसी विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन् ।
नेपालीहरूका समस्यामा हरदम साथ दिँदै एनआरएनए अभियानमा करिब दुई दशकदेखि सक्रिय चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छविले ओतप्रोत भएका छन् केसी ।
सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै विदेशमा बेपत्ता भएका नेपालीको खोजी गरेर उनीहरूको उद्धार गर्ने देशको इज्जत एवं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाइ र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जस्ता मानवीय कार्यमा गणेश केसी सक्रिय रहदै आएका छन् ।
अदक्ष नेपालीलाई व्यावसायिक सीप तालिम दिएर दक्ष नेपाली बनाएर विदेशमा नेपालको शान बढाउने अभियानको साथै हस्पिटालिटी क्षेत्रमा केसीको योगदान छ ।
कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूको कामको मूल्याङ्कन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।
Facebook Comment
Comment