काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्नुपर्ने सबै काम खुला बहसबाट गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“हामीले मुलुकमा जे-जे गर्नुछ, त्यो खुला बहसबाट गर्नुपर्छ । सबैभन्दा पहिले आफूले गरेको गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ,” माधवले भने ।
उनले थपे, “मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन । खुला बहसको कुरा गर्नुपर्छ । कहिल्यै बहसको कुरा नल्याउने तर, मध्यरातमा गएर हस्ताक्षर गर्ने । मलाई यो कुरा गर्न मन थिएन तर, यहाँ सन्दर्भ आयो ।”
त्यसअघि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा धेरै नभइकन बलिया दलहरूको आवश्यकता पर्ने बताएका थिए ।
माधवले प्रदीप गिरीलाई सम्झिँदै उनको प्रशंसा गरे । “विभिन्न सन्दर्भमा मेरो घरमा प्रदीप गिरीजीको उपस्थिति अनिवार्य रहने गर्थ्यो । उहाँमा अध्ययन थियो तर, त्यसको घमण्ड थिएन,” उनले भने ।
Facebook Comment
Comment