काठमाडौं । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् ।
खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले खानको अनुरोधमा ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि आफ्नो आवेदन फारम बुझाएको बताए ।
यसैबीच अक्सफोर्ड विश्वविद्यालयले भने यसबारेमा केही बताएको छैन । विश्वविद्यालयले अक्टोबरमा उम्मेदवारहरूको नाम घोषणा गर्न सक्छ । भोटिङ अक्टोबर २८ मा अनलाइन हुनेछ ।
खानमाथि व्यक्तिगत लाभका लागि गैरकानूनी रूपमा सरकारी उपहार बेचेको आरोप लगाइएको छ । उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् ।
संयुक्त राष्ट्र संघको प्यानलले हालै खानको हिरासत स्वेच्छाचारी भएको बताएको थियो ।
Facebook Comment
Comment