काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईलाई चाँडै पब्लिक कम्पनीमा लैजाने बताएका छन् ।
आइएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार सुरुवात अघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढाकालले आइएमईमा जनतालाई मालिक बनाउने घोषणा गरेका हुन् ।
उनले भने, “हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौँ । जनतालाई नै मालिक बनाउने यो हाम्रो अर्को पहल हो ।”
अध्यक्ष ढकालले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना गर्दै अगाडि बढेको स्पष्ट पारे ।
“हामी सरकारको नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ,” उनले भने, “राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउँदा होस् वा बिग मर्जरको नीति ल्याउँदा होस् । यी नीतिहरुको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ ।”
अध्यक्ष ढकालले सरकारको नीतिलाई कार्यान्वयनमा तदारुकता देखाएकै कारण विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूको संगमसहित नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक बनेको बताए ।
उनले भने, “अहिले राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । त्यस नीतिको पनि हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ ।”
रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आइएमई र जीएमई रेमिटलाई मर्जर गरेर एकीकृत कारोबार शुभारम्भ गरिएको उनले बताए ।
Facebook Comment
Comment