काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सेप्टेम्बरमा राजीनामा दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री किशिदाले आगामी महिना हुने पार्टी चुनावमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेतृत्वको लागि पुनः चुनावमा नजाने घोषणा गरेका हुन् । यसको अर्थ हो आगामी सेप्टेम्बारपछि देशले नयाँ प्रधानमन्त्री प्राप्त गर्नेछ ।
बुधबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा किशिदाले एलडीपीको नेतृत्वमा नयाँ अनुहारको आवश्यकता रहेको र नयाँ नेतृत्वलाई आफूले पूर्ण समर्थन गर्ने बताएका छन् ।
“यस चुनावमा एलडीपी परिवर्तन भइरहेको छ भन्ने देखाउन आवश्यक छ र अब एलडीपी नयाँ हुन्छ,” किशिदाले पत्रकारहरूसँग भने, “यसका लागि पारदर्शी र खुला चुनाव आवश्यक छ । स्वतन्त्र र ऊर्जावान बहस महत्त्वपूर्ण हुन्छ । एलडीपी परिवर्तन हुन्छ भनेर देखाउनका लागि सबैभन्दा पहिलो कदम म पछाडि हट्नु हो । म आउँदो चुनावमा प्रतिस्पर्धा गर्दिन ।”
किशिदाले उच्च प्रशासनिक अधिकारीहरूलाई आफू चुनावमा नउठ्ने जानकारी गराएका थिए ।
किशिदा सेप्टेम्बर सन् २०२१ मा तीन वर्षको कार्यकालका लागि पार्टीको अध्यक्षमा चयन भएका थिए । आउने चुनावमा पार्टी नेता जसले जित्छ उही जापानको आगामी प्रधानमन्त्री बन्नेछ किनकी एडीपीसँग सबैभन्दा बढी सांसद सिट रहेको छ ।
Facebook Comment
Comment