पेरिस ओलम्पिकमा यस्तो रह्यो नेपालका ७ खेलाडीको प्रदर्शन

पेरिस ओलम्पिकमा श्यान्टु मात्र छनोट चरण पार गर्दै सहभागी भएका हुन् । बाँकीले विभिन्न कोटा मार्फत सहभागिता पक्का गरेका थिए । पेरिस ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन कस्तो भयो त ? 

पेरिस ओलम्पिकमा यस्तो रह्यो नेपालका ७ खेलाडीको प्रदर्शन

काठमाडौं। १६ दिनको रोमाञ्चक प्रतिस्पर्धाले भरिपूर्ण भएको पेरिस ओलम्पिकको सोमबार भव्य समापन भयो। कुल ३२ खेलमा प्रतिस्पर्धा भएका थिए।

४० स्वर्ण, ४४ रजत र ४२ कांस्य पदक जितेर अमेरिका पदक तालिकामा शीर्ष स्थानमा रह्यो । ४० स्वर्ण, २७ रजत र २४ कांस्यसहित चीन दोस्रो स्थानमा रह्यो । २० स्वर्ण, १२ रजत र १३ कांस्य जितेर जापान तेस्रो स्थानमा रह्यो।

ओलम्पिकमा नेपाल पनि सहभागी थियो । तर, खासै चर्चा भएन । नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेको थियो । त्यसएता १९६८ को मेक्सिको सिटी बाहेक सबै ओलम्पिकमा नेपाल सहभागी भएको छ ।

पेरिस ओलम्पिकमा नेपालका ७ खेलाडिले ६ खेलमा प्रतिस्पर्धा गरेका थिए ।

टेबलटेनिसमा श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल, पौडीमा एलेक्जेन्डर शाह, डुवाना लामा तथा जुडोमा मनीता श्रेष्ठ प्रधान र एथलेटिक्सको महिला म्याराथनमा सन्तोषी श्रेष्ठ सहभागी भएका थिए । टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो।

पेरिस ओलम्पिकमा श्यान्टु मात्र छनोट चरण पार गर्दै सहभागी भएका हुन् । बाँकीले विभिन्न कोटा मार्फत सहभागिता पक्का गरेका थिए । पेरिस ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन कस्तो भयो त ?

डुवाना अन्तिमबाट दोस्रो

पौडीको महिला २ सय मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामाले प्रतिस्पर्धा गरेकी थिइन् । डुवाना ३१ खेलाडीमध्ये ३० औं स्थानमा रहिन ।

पेरिसस्थित पेरिस ला डिफेन्स एरिनामा डुवाना हिट चरणमा ७ खेलाडी मध्ये सातौं स्थानमा रहेकी थिइन ।

डुवानाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पूरा गरिन् । यो समय डुवानाको व्यक्तिगत उत्कृष्ट समय पनि होइन । उनको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेन्ड रहेको छ ।

‘वाइल्ड कार्ड’ मार्फत पेरिस ओलम्पिकमा स्थान सुरक्षित गरेकी डुवानाले थाइल्यान्डमा अध्ययनसँगै ओलम्पिकको तयारी पनि गरेकी थिइन् ।

सन् २००४ को एथेन्स ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेकी प्रशिक्षक नयना शाक्यले एंकलमा समस्याका कारण डुवानाले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको बताइन् ।

एलेक्जेन्डरकी कीर्तिमान सुधार

पौडीवाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकको पुरुष १ सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाए।

पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार रहेका थिए। यसअघि उनको नाममा ५२.१७ सेकेन्डको कीर्तिमान थियो।

उनले ‘वाइल्ड कार्ड’ मार्फत पेरिस ओलम्पिकमा सहभागी हुने मौका पाएका थिए।

फराकिलो अन्तरले पराजित मनीता 

जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । इलिमिनेसन राउन्ड अफ–३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनीता इप्पोनका आधारमा पराजित भइन्।

पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्बियाकी मरिका पेरिसिकले मनीतालाई १०–० अंकले पराजित गरिन्।

दस वर्षको उमेरदेखि जुडो करियर सुरु गरेकी २५ वर्षीया मनीताले १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी छन् ।

बन्दी सहायता नियोग (पाम) मा हुर्केकी मनीताले त्यहीबाटै जुडो करियर सुरु गरेकी थिइन् । मनीताले पेरिस ओलम्पिकलाई नै मध्यनजर गरी विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेकी थिइन् ।

उनले इन्डोनेसियाको जाकार्ता-पालेम्वाङ तथा चीनको हाङझावमा भएको क्रमशः १८ औं र १९ औं एसियाली खेलकुद तथा ३ विश्व जुडो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।

मनिताले ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाएकी थिइन ।

सुस्मिता राष्ट्रिय कीर्तिमानबाट समेत पछाडी

सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा ४४ खेलाडीमध्ये ४२ औं स्थानमा रहिन् ।

पेरिसदेखि स्थल मार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको खेलमा सुस्मिताले ६०७.८ अंक जोडिन् । शीर्ष ८ मा रहने खेलाडी मात्र फाइनल पुग्ने प्रावधान रहेकाले सुस्मिताको चुनौती समूह चरणबाटै समाप्त भयो ।

यो स्पर्धामा सुस्मिताकै नाममा ६१९.१ अंकको राष्ट्रिय कीर्तिमान छ । पेरसमा उनले यो अंक नाघ्न सकिनन् ।

प्रिन्स समूहका सबै खेलमा पराजित

प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनमा समूह चरणको सबै खेलमा पराजित भए । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए ।

पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा समूह चरणको अन्तिम खेलमा ५८ औं विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानले प्रिन्सलाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गरे ।

प्रिन्स पहिलो खेलमा विश्व नम्बर २ डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ तथा दोश्रोमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७ र २१–५ को सोझो पराजित भएका थिए ।

पेरिस ओलम्पिकको तयारीका क्रममा २० वर्षीय प्रिन्सले करिब ४० दिन श्रीलंकामा प्रशिक्षण गरेका थिए ।

पूर्व जुनियर नम्बर वान प्रिन्सले प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै समग्रमा ओलम्पिक अनुभव राम्रो भएको बताए ।

श्यान्टु पनि चलेनन् 

टेबलटेनिसमा प्रतिस्पर्धा गरेका श्यान्टु श्रेष्ठ प्रारम्भिक राउन्डमा सेनेगलका इब्राहिम डिउसँग ४–० को सोझो सेटमा पराजित भए।

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए ।

चारपटकका राष्ट्रिय च्याम्पियन श्यान्टु दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करण मा ४ पदक जित्ने खेलाडी हुन् । उनी ओलम्पिकमा छनोट चरण पार गरेर खेल्न पुगेका थिए ।

नेपालले टेबलटनिसमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएको थियो ।अध्ययनको सिलसिलामा विगत २ वर्ष देखि अस्ट्रेलिया बस्दै आएका श्यान्टुले ओलम्पिकको तयारी पनि त्यही नै गरेका थिए ।

खेलपछि श्यान्टुले सोचे भन्दा फरक नतिजा आएको बताए । उनले प्रतिद्वन्द्वी आफू भन्दा धेरै माथिल्लो स्तरका खेलाडी भएको बताए ।

सन्तोषी म्याराथन पुरा गर्न सफल

सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा एथलेटिक्सको महिला म्याराथनमा सहभागी भइन । उनी ७९ औं स्थानमा रहिन् । विभिन्न राष्ट्रका ९१ खेलाडी सहभागी म्याराथनमा ८० जनाले मात्र निर्धारित दूरी ४२.१९५ किलोमिटर पूरा गरेका थिए ।

सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । सन्तोषीको ब्याक्तिगत उत्कृष्ट टाइमिङ भने २ घण्टा ४६ मिनेट २३ सेकेन्ड हो, जुन महिला म्याराथनमा नेपालको कीर्तिमानी समय पनि हो ।

सन्तोषीले सो कीर्तिमान बंगलादेशको ढाकामा गत जनवरीमा भएको शेख मुजिब रहमान बंगबन्धु म्याराथन (दक्षिण एसियाली स्तरीय) मा बनाएकी थिइन् । त्यो म्याराथनमा सन्तोषीले स्वर्ण जितेकी थिइन् ।

सुरुमा ५ हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने सन्तोषी हाफ म्याराथन हुँदै फुल म्याराथना दौड्न थालेकी हुन् ।

ओलम्पिकको महिला म्याराथनमा नेपालले २८ वर्षपछि सहभागिता जनाएको हो । ओलम्पिक महिला म्याराथनमा प्रतिस्पर्धा गर्ने सन्तोषी चौथो नेपाली खेलाडी हुन् ।

पछिल्लोपटक विमला राना मगरले सन् १९९६ को एटलान्टा ओलम्पिकको महिला म्याराथनमा भाग लिएकी थिइन् । त्यसअघि सन् १९८८ को सिओल ओलम्पिकमा दुई खेलाडी राजकुमारी पाण्डे र मेनुका राउतले नेपालको प्रतिनिधित्व गरेका थिए ।

सन्तोषीले राष्ट्रिय कीर्तिमान सुधार गर्न नसकेपनि कठिन रुटका बावजुद म्याराथन पूरा गर्न सकेकोमा सन्तुष्ट रहेको प्रतिक्रिया दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved