सौराहामा विशेष वनभोज : हात्तीहरूका लागि मिष्ठान्न भोजनको सम्मान

नेपालभ्युज

सौराहामा विशेष वनभोज : हात्तीहरूका लागि मिष्ठान्न भोजनको सम्मान

चितवन । पर्यटकीय नगरी सौराहामा सोमबार एउटा विशेष उत्सवको आयोजना गरियो—न कुनै मानिसको लागि, न कुनै औपचारिक समारोहको लागि, तर हात्तीहरूको सम्मानमा ।

१३ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, र निजी क्षेत्रका हात्तीहरूलाई वनभोज खुवाइयो ।

बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा आयोजित यो विशेष कार्यक्रमले हात्तीहरूको महत्त्व र उनीहरूको संरक्षणको आवश्यकतालाई उजागर गर्यो‍ ।

कार्यक्रममा हात्तीहरूलाई खिर, केक, उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रूट, स्याउ, केरा, र खरबुजासहितको मिठान्न परिकारहरू खुवाइयो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले आयोजना गरेको हात्ती वनभोज कार्यक्रमको मुख्य उद्देश्य भनेको चितवनको पर्यावरणीय पर्यटनमा हात्तीहरूको योगदानको कदर गर्नु र संरक्षणका उपायहरूमा बहस र छलफल गर्नुथियो ।

कार्यक्रममा सहभागी चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्ती पाल्न कत्तिको चुनौतीपूर्ण हुने कुरा प्रस्ट पारे ।

उनले भने, “हात्तीहरूको आहार, खानपान, र स्वास्थ्य उपचारको हिसाबले उनीहरूलाई पाल्नु कुनै साधारण कुरा होइन । यो निकै जिम्मेवारीपूर्ण कार्य हो, विशेष गरी निजी क्षेत्रका हात्तीहरूका लागि ।’’

यस अवसरमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले पनि आफ्नो धारणा राख्दै भने, ‘‘चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीहरूको भूमिका अग्रणी छ। राज्यले घरपालुवा हात्तीहरूलाई पनि राज्यकै सम्पत्ति भनेर स्वीकार गर्नुपर्छ ।’’

चितवन निकुञ्जमा हाल ५० वटा दरबन्दी रहेका हात्तीहरू छन् भने राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ४५ वटा हात्तीहरू छन् । यी हात्तीहरूको संरक्षणमा जोड दिँदै हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय हात्ती दिवस मनाइन्छ ।

यो विशेष अवसरले सौराहालाई मात्र होइन, सिङ्गो समाजलाई हात्तीहरूको संरक्षणमा सचेत गराउने अवसर बन्यो । हात्तीहरू हाम्रो सांस्कृतिक र प्राकृतिक सम्पदाको अभिन्न हिस्सा हुन्, र उनीहरूको संरक्षण हाम्रो दायित्व हो । यस किसिमका कार्यक्रमहरूले पर्यटनको विकाससँगै हात्तीहरूको संरक्षणलाई पनि सशक्त बनाउँदै जाने सरोकारवालाहरूले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved