इलाम । इलाममा घुम्नका लागि आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्या वृद्धि भएको पर्यटन सूचना केन्द्र जोरकलश रोङले जनाएको हो ।
तथ्यांकअनुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए ।
सबैभन्दा कम भदौमा नौ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार एक सय २३ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
पर्यटन सूचना केन्द्रको तथ्यांकअनुसार अघिल्लो आव २०७९/८० मा एक लाख ३३ हजार चार सय ४५ पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८/७९ मा एक लाख २९ हजार पाँच सय ८१ पर्यटक इलाम घुम्न आएका थिए । कोरोना सङ्क्रमण बेला आव २०७८/७९ मा २९ हजार आठ सय ११ जना मात्र इलाम घुम्न आएका थिए ।
इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुङ्गा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।
Facebook Comment
Comment