सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा एक त्रासदीपूर्ण प्रेमकथा, जसले सिङ्गो गाउँलाई स्तब्ध बनाएको छ ।
४९ वर्षीया सुशीला मल्ल र २३ वर्षीय प्रेम मल्लबीचको प्रेम सम्बन्धले भयावह अन्त्य पाएको छ, जसले प्रेमलाई हत्या र क्रूरतामा परिणत गरिदियो ।
प्रहरीका अनुसार, सुशीला र प्रेमको पहिलो भेट डेढ वर्षअघि जाजरकोटको रिम्ना मेलामा भएको थियो । त्यसपछि उनीहरूबीच फोन नम्बर साटासाट भयो ।
समय–समयमा भेटघाट हुन थाल्यो। उमेरको भिन्नता र समाजको तिरस्कारको बाबजुद पनि, उनीहरूको सम्बन्ध झनै गाढा हुँदै गयो । तर, यो सम्बन्धले अन्त्यमा एक दर्दनाक मोड लियो, जसको न त कल्पना गरिएको थियो न त स्वीकार्य ।
गत शुक्रबार, सुशीला मल्ल आफ्नै घरमा मृत अवस्थामा फेला परिन् । प्रारम्भिक अनुसन्धानले देखायो उनको घाँटीमा सल बेरिएको थियो । निधार र शरीरका अन्य भागहरूमा चोटपटक लागेको थियो ।
घटनाको एक दिन अगाडि साउन २१ गते सोमबार प्रेम मल्ल भेटघाटको बहानामा सुशीलाको घर आएका थिए । मंगलबार बिहान, उनीहरू रिम्ना बजार घुम्न गए, तर त्यो दिन सुशीलाको अन्तिम बजार घुमाइ हुनेछ भन्ने कसैलाई थाहा थिएन ।
राति, सुशीलाले प्रेमलाई विवाहको प्रस्ताव राखिन् । तर, उमेर र समाजको दबाबले प्रेमलाई आक्रोशित बनायो । प्रेमले बिहे गर्न सक्ने अवस्था नभएको बताए ।
बिहेको दबाबपछि प्रेमले सुशीलाको हत्या गर्ने योजना बनाए । फलामको तावा र सिलौटोलगायत घरेलु हतियारले हानेर निर्ममतापूर्वक सुशीलाको हत्या गरे । हत्या पश्चात्, प्रेम भागेर घर गए । सुशीलाको मोबाइल आफ्नो कोठामा लुकाएर राखे ।
सोधपुछका क्रममा प्रेमले घटनापश्चात मृतक सुशीलाको मोबाइल साथमा लिइ आफ्नो कोठामा लुकाएर राखेको बताएका थिए ।
घटनापछि, प्रहरीले प्रेमलाई पक्राउ गरेको छ । रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comment
Comment