काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका छन् । न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले हसनको राजीनामा कानुन तथा न्याय मन्त्रालयमा पुगेको जानकारी दिएका छन् ।
नजरुलले राजीनामा पत्र राष्ट्रपति कार्यालयमा पठाइएको बताए ।
आरक्षण विरोधी आन्दोलनमा सहभागी विद्यार्थीहरूले प्रधानन्यायाधीश ओबैदुल हसन र अपील डिभिजनका न्यायाधीशहरूलाई दिउँसो १ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए।
बीबीसी दक्षिण एसिया संवाददाता समीरा हुसेनले शनिबार बिहान हजारौं प्रदर्शनकारी विद्यार्थी प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा पुगेको जानकारी दिएकी छन् ।
उक्त आन्दोलनमा सयौं वकिलहरुको पनि सहभागिता रहेको थियो ।
यसै क्रममा आरक्षण विरोधी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीशलाई फाँसीवादी भन्दै फुल कोर्ट बैठक रोक्न र राजीनामा माग्ने अल्टिमेटम दिएका थिए ।
बंगलादेशमा विगत केही सातादेखि आरक्षण विरोधी आन्दोलन चलिरहेको छ । यसबाट हालसम्म सयौंले ज्यान गुमाएका छन् । शेख हसिना पनि व्यापक विरोधका कारण देश छाड्न बाध्य भएकी छन् ।
बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिएको थियो ।
Facebook Comment
Comment