काठमाडौं । एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड ‘एनआईपीएल’ ले नेपालमा १ लाखभन्दा बढि अन्तरदेशीय पी–टू–एम अर्थात पर्सन टु मर्चेन्ट कारोबार गरेको छ ।
सेवा सुरु भएको केवल ५ महिनाको अवधिमा यूनिफाइड पेमेन्ट्स इन्टरफेस ‘यूपीआई’ मार्फत नेपाल र भारतबीच यो कारोबार गरिएको हो ।
एनआईपीएलले विज्ञप्ति निकालेर कारोबारको यो आकडाले दुई राष्ट्रबीचको डिजिटल भुक्तानीको अन्तरसम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ ।
सन् २०२४ मार्चमा एनआईपीएलले नेपालको सबैभन्दा ठुलो भुक्तानी प्रदायक कम्पनी फोनपेसँगको सहकार्यमा क्रस–बोर्डर पी टू एम यूपीआई स्वीकृति लिएको थियो।
एनपीसीआईका अन्तर्राष्ट्रिय प्रवक्ताले नेपालमा यूपीआई भुक्तानी सेवाबाट पाएको सकारात्मक प्रतिक्रियाले आफु खुसी भएको बताएका छन् ।
उनले भने, ‘यस कोशेढुङ्गाले दुई देशबीच हुने अन्तर–देशीय कारोबारलाई थप सहजीकरण गर्ने हाम्रो उद्देश्यलाई सुदृढ बनाएको छ। यसले दुवै देशको आर्थिक विकासमा टेवा पुर्याउने हाम्रो विश्वास रहेको छ। ’
भारतीय पर्यटकले अत्यधिक संख्यामा नेपाल भ्रमण गर्ने भएकोले यूपीआई करोबारमा थप वृद्धि आउने उनले विश्वास व्यक्त गरेका छन् ।
तीव्र रुपमा व्यक्तिगत र व्यापारिक भुक्तानीका लागि प्रयोग हुने यूपीआई भारतको प्रसिद्ध मोबाइल–केन्द्रित भुक्तानी सेवा हो । यसले नेपाल भम्रण गर्ने भारतीयलाई सहज भुक्तानीको वातावरण सृजना गरेको छ।
यस्तै, नेपालीले भारत भ्रमण गर्दा सहजै रुपमा क्युआर स्क्यान गरेर पनि यूपीआई वान वर्ल्ड मार्फत भुक्तानी गर्न पाउने बताइएको छ ।
एनआइपीएलले नेपाल एसबीआई बैंक लिमिटेडसँगको सहकार्यमा नेपालमा रुपे कार्ड पनि संचालनमा ल्याएको छ । यूपीआई नेपाललगायत भुटान, फ्रान्स, मरिसस, सिंगापुर, श्रीलंका र यूएईमा संचालनमा छ ।
Facebook Comment
Comment