यी तीन प्रकरण, जसकारण जनमतले सोध्यो मुख्यमन्त्रीलाई स्पष्टीकरण

पार्टीका निर्देशन एकपछि अर्को ‘बाइपास’ गर्दै आफूखुसी चल्न थालेपछि अध्यक्ष राउतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण किन सोधियो भन्नेबारे मुख्यत: ३ प्रकरण कारक रहेको जनमतका नेताहरू बताउँछन् ।

नेपालभ्युज

यी तीन प्रकरण, जसकारण जनमतले सोध्यो मुख्यमन्त्रीलाई स्पष्टीकरण

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई उनकै दल जनमत पार्टीले स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशन बेवास्ता गर्दै आफूखुसी काम गरेको भन्दै जनमतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।

जनमतका प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्री सिंहले पार्टीको बदनाम गरेकाले स्पष्टीकरण सोधिएको बताए । “पार्टीको नाम आउनेगरी काम गर्नुपर्नेमा मुख्यमन्त्रीजीले बदनाम हुने काम गर्नुभयो,” प्रवक्ता यादवले भने, “त्यसैले स्पष्टीकरण सोधेका हौँ ।”

प्रवक्ता यादव मुख्यमन्त्री सिंह पार्टीले भनेको भन्दा पनि कांग्रेस-एमालेले भनेको मान्ने अवस्थामा पुगेको बताउँछन् । “जस्तो पछिल्लो प्रकरण हेर्दा पनि उहाँले राज्यमन्त्री त कांग्रेस-एमालेकै दबाबमा थप्नुभएको हो तर, बाहिर नाम त पार्टी र पार्टी नेतृत्वकै आउँछ,” उनले भने ।

त्यसो त मुख्यमन्त्रीका रूपमा सिंहलाई पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतले नै रोजेका हुन् । प्रदेश सभामा सिंहभन्दा ‘सिनियर’ नेता हुँदाहुँदै अध्यक्ष राउतले आफ्नै क्षेत्रबाट निर्वाचित सिंहलाई मुख्यमन्त्री बनाएका थिए ।

अध्यक्ष राउतलाई लागेको थियो कि मुख्यमन्त्री सिंहलाई बनाउँदा पार्टीका निर्देशन अक्षरस: पालना हुन्छन् र पार्टी जनताका बीचमा लोकप्रिय हुन्छ । तर, अहिले ठीक त्यसको विपरीत देखिएको छ ।

पार्टीका निर्देशन एकपछि अर्को ‘बाइपास’ गर्दै आफूखुसी चल्न थालेपछि उनै अध्यक्ष राउतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेका छन् ।

स्पष्टीकरण किन सोधियो भन्नेबारे मुख्यत: ३ प्रकरण कारक रहेको जनमतका नेताहरू बताउँछन् ।

पहिलो— मन्त्रालय बाँडफाँट र सांसद विकास कोष । जनमतले मुख्यमन्त्री सिंहले सुरुमा मन्त्रालय बाँडफाँट नै पार्टीसँग समन्वय नगरी गरेको उल्लेख गरेको छ ।

“उहाँ मुख्यमन्त्री बन्नुभएलगत्तै मन्त्रालय बाँडफाँटको कुरा आइहाल्यो । त्यहीँ उहाँले पार्टीसँग समन्वय गर्नुभएन, आफूखुसी मन्त्रालय बाँडफाँट गर्नुभयो । त्यसलगत्तै पार्टीले सचेत गराएको थियो । तर, त्यसपछि पनि उहाँले आफ्नो व्यवहार सच्याउनुभएन,” प्रवक्ता सिंहले भने ।

यस्तै मुख्यमन्त्री बनेपछि गरेको सांसद विकास कोषको निर्णय पनि स्पष्टीकरण सोधिनुको कारण बनेको प्रवक्ता यादव बताउँछन् । “पछि सांसद विकास कोषको कुरा आयो, त्यसले पनि पार्टीको छविलाई धुमिल्याउने काम गर्‍यो,” उनले भने ।

मुख्यमन्त्री भइसकेपछि सिंहले गत जेठ २५ गते प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट आफ्नो क्षेत्रको विकास निर्माणका लागि दिने निर्णय गरेका थिए । मुख्यमन्त्री सिंहको यो निर्णयको व्यापक विरोध भएको थियो ।

यतिसम्म कि जनमत नेतृत्वको सरकार पनि ‘उही ड्याङको मूला’ जस्तो भएको, सबै सांसदलाई समान आँखाले हेर्न नसकेकोलगायत टिप्पणीहरू भएका थिए ।

दोस्रो— राज्यमन्त्री थपेको । जनमतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोध्नुको कारणमा राज्यमन्त्री थप्नु रहेको उल्लेख गरेको छ ।

मुख्यमन्त्री सिंहले गत असार २२ गते कांग्रेसबाट २ र एमाले-जनमत-लोसपाबाट १/१ गरी पाँच मुख्यमन्त्री थप गरेका थिए ।

जनमतले मुख्यमन्त्री सिंहले राज्यमन्त्री थपेर गल्ती गरेको व्याख्या गरेको छ । “भित्र मुख्यमन्त्री कांग्रेस-एमालेको दबाबमा परेर राज्यमन्त्री थपेको भएपनि बाहिर त जनमत पार्टी र नेतृत्वकै कुरा आउँछ,” प्रवक्ता यादव भन्छन्, “उहाँले गल्ती गर्नुभयो । हामी स्पष्टीकरण सोध्न बाध्य भयौँ ।”

तेस्रो— अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको । जनमतले पार्टीका निर्देशन बेवास्ता गर्दै मुख्यमन्त्री सिंहले बढी समय उद्घाटनहरूमै खर्चिएकाले स्पष्टीकरण सोध्नुपरेको उल्लेख गरेको छ ।

दिएको निर्देशनअनुरूप काम गरेर पार्टीलाई जनतामाझ लोकप्रिय बनाउनुपर्नेमा मुख्यमन्त्री सिंह त्यहाँ चुकेको जनमतले उल्लेख गरेको छ ।

जनमतका एक नेता भन्छन्, “मुख्यमन्त्री जनताको हितमा काम गर्नुचाहिँ छैन, खाली उद्घाटनमा गएर कहाँ हुन्छ । यसले हाम्रो पार्टीलाई अरु पार्टीभन्दा फरक नै देखाएन । जनतालाई जनमतले पनि केही नै नगर्ने रहेछ भन्ने स्थापित भयो । योभन्दा खराब पार्टीका लागि केही होइन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved