काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पठाएको अनावश्यक कागजजात लेखा समितिले फिर्ता गर्ने भएको छ ।
प्राधिकरणले टाइम अफ डे (टीओडी) डाटा, मनोज मिश्र समितिको प्रतिवेदन र सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्थाको प्रतिवेदन मात्रै मागेकोमा प्राधिकरणले हैरानी दिन अनावश्यक कागजात पठाएको भन्दै समितिले फिर्ता गर्न लागेको हो ।
प्राधिकरणले पठाएको प्रतिवेदन समितिमा अध्ययन गर्न लगाएको र अनावश्यक कागजात फिर्ता गर्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश दाहालले बताए ।
उनले भने, “हामीले टीओडी डाटा, मनोज मिश्रको प्रतिवेदन र सञ्चालक समितिको कार्यान्वनको अवस्थाको प्रतिवेदन माग गरेका हौँ । समिति सबै कागजात राख्नका लागि प्राधिकरणको ढड्डा राख्ने ठाउँ होइन । खै के सोचेर नमागिएको कागज समेत समितिमा आएको छ । ती फिर्ता गर्र्दैछौँ ।”
यसअघि समितिको बैठकले सबै उद्योगीको प्रोफाइलसहितको टीओडी डाटा मागेको थियो ।
प्राधिकरणले टीओडी डाटा एक पोका, लोड प्रोफाइलसहितको टीओडी डाटा तीन पोका, लगसिट २४ पोका, मनोज मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन, अदालतको फैसला एक पोका र २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल सम्बन्धी बिल पठाएको थियो । समितिले प्राधिकरणले टीओडी डाटा एक पोका मात्रै मागेको भन्दै बाँकी सबै पोका फिर्ता गर्न लागेको हो ।
Facebook Comment
Comment