काठमाडौं । मिति-५ अगस्ट २०२४, बंगलादेशमा शेख हसिनाविरूद्धको विरोध प्रदर्शनले हिंसात्मक रूप लियो ।
एक दिनअघि मात्रै प्रहरीसँगको भिडन्तमा ९० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसैबीच ढाकाबाट १ हजार ८ सय २६ किलोमिटर टाढा भारतको राजधानी नयाँदिल्लीमा २ वटा आवेदन पठाइयो ।
पहिलो निवेदनमा हसिनालाई केही समयका लागि भारत भ्रमणको अनुमति दिन अनुरोध गरिएको थियो ।
त्यस लगत्तै पठाइएको दोस्रो आवेदनमा बंगलादेशका अधिकारीहरूले सैन्य विमानलाई भारत प्रवेश गर्न अनुमति माग्छन् । अनुमति पाएपछि हसिनाको विमान साँझ दिल्लीमा अवतरण हुन्छ ।
हसिना भारत पुग्नुअघि बंगलादेशमा के भयो ? १५ वर्ष सत्तामा रहेकी हसिना कसरी राजिनामा दिएर गोप्य रूपमा भारत आइन्, २४ घण्टाको कथा…
तीनै सेनाका प्रमुखहरू बंगलादेशका प्रधानमन्त्री निवास पुगे…
५ अगस्टको बिहान ४ लाख प्रदर्शनकारी बंगलादेशको सडकमा भेला भएका थिए । उनीहरूले हसिनालाई कुनै पनि हालतमा सत्ताबाट हटाउन बंगलादेशको प्रधानमन्त्री निवासतर्फ र्याली गरिरहेका थिए ।
अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सका अनुसार देशको बिग्रिएको वातावरण देखेर सेनाका प्रमुख र प्रहरी प्रमुख हसिनालाई भेट्न प्रधानमन्त्री निवास पुगेका थिए ।
सो समयमा उनकी बहिनी शेख रेहाना पनि त्यहाँ थिइन् । हसिनाले सुरक्षा बलका प्रमुखलाई कुनै पनि हालतमा प्रदर्शनकारीहरूलाई रोक्न आदेश दिइन् । तर, सेनाप्रमुख जनरल वाकर उज-जमनले यसलाई असम्भव भन्दै ठाडै अस्वीकार गरे ।
सेना प्रमुख जमानले भने, ‘देशभरबाट मानिसहरू ढाका आएका छन् । केही व्यक्ति प्रधानमन्त्री निवास नजिक आएका छन् । अब प्रधानमन्त्रीलाई बचाउने एउटै उपाय भनेको जनता मार्नु हो वा नरसंहार गर्नु । जुन कुरा सम्भव छैन । तर, त्यसो भयो भने पनि आन्दोलनकारी नियन्त्रणमा आउँछन् भन्ने ग्यारेन्टी छैन ।’
सेना प्रमुखहरूको चिन्ता देखेर रेहानाले हसिनासँग एकान्तमा कुरा गर्ने भनिन् । २० मिनेटपछि फर्किएपछि हसिना मौन भइन् । तर, उनी आन्दोलनकारीलाई नियन्त्रणमा राख्न अडिग थिइन् ।
अन्ततः सेना प्रमुख जमानले अमेरिकामा रहेका हसिनाका छोरा वाजेद जोयसँग कुरा गरे ।
सेना प्रमुखले वाजेदलाई हसिनालाई मनाउन आग्रह गरे । त्यसपछि जमानले फोन हसिनालाई दिए । त्यसपछि हसिना केही मिनेट मौन भइन् । छोराको कुरा सुनिरहेकी थिइन् ।
अन्ततः टाउको हल्लाएर ‘हुन्छ’ भन्दै फोन काटिन् । आफ्नो छोराको आग्रहमा हसिना बंगलादेश छोड्न राजी भइन्, यद्यपि उनी त्यसो गर्न चाहँदैनन्थिन् । उनी जसरी पनि भिडलाई दबाएर अगाडि बढ्न चाहेको द न्युयोर्क टाइम्सले जनाएको छ ।
बंगलादेश छाड्न मात्र १ घण्टा समय
देशको बिग्रँदै गएको अवस्था देखेर सेना प्रमुख जमानले हसिनासँग देश छाड्न १ घण्टाभन्दा कम समय रहेको अनुमान गरे । दिउँसोको १ बजे हसिना आफ्नी बहिनीसँग आफ्नो क्वार्टरमा आइन् ।
हसिना देश छोड्नुअघि राष्ट्रका नाममा अन्तिम सम्बोधन गर्ने तयारीमा थिइन् । यसैबीच केही अन्योल पनि भयो । प्रत्यक्ष प्रशारण बोकेको ट्रक प्रधानमन्त्री निवासको सट्टा सेना प्रमुखको मुख्यालय गयो । यो बंगलादेशमा सत्ता परिवर्तनको सबैभन्दा ठूलो संकेत थियो । त्यसपछि उनले सम्बोधन नगर्ने निधो गरिन् ।
हसिना सुरक्षा कर्मचारीको उपस्थितिमा गाडीमा राखेर प्रधानमन्त्री निवासबाट बाहिर निस्कने तयारीमा थिइन् । हसिनाको सुरक्षाका लागि उनको काफिलेमा करिब १२ वटा सवारी साधन राखिएको थियो । उनी निवासको मुख्य गेटबाट बाहिर निस्कन खोजिन् । तर, भिडका कारण सफलता नपाएपछि अर्कै बाटो भएर निस्किइन् ।
हसिना सुरक्षा टोलीको बख्तरबन्द सवारी साधनमार्फत् एयरफिल्ड पुगिन् । उनलाई सिधै हेलिप्याडमा लगियो । त्यसपछि दुवैलाई सैन्य विमानमा राखेर देशबाट बाहिर निकालियो ।
हसिनाको सी-१३० सैन्य विमान अगस्ट ५ मा साँझ ६ बजे गाजियाबादको हिन्डन एयरबेसमा अवतरण भएको थियो । उनलाई भारतका एनएसए अजित डोभालले स्वागत गरेका थिए ।
हसिना पछिल्लो २ दिनदेखि भारतमा छिन् । उनी यहाँ कति समय बस्ने र भारतपछि कहाँ जाने भन्नेबारेमा केही खुलाइएको छैन ।
यो पनि-
हसिना भन्थिन् – युनुसलाई गंगामा डुबाऊ !
निर्वासित बंगलादेशी लेखिकाको टिप्पणी-हिजो मलाई लखेट्यौ, आज आफैँ देश छोडेर भाग्यौं
को हुन् बेगम खालिदा जिया ?
हसिनाविरूद्ध ‘हसिन क्रान्ति’ : एक शब्दचित्र
बंगलादेशमा संसद् विघटन
को हुन् मोहम्मद युनुस ? जसलाई बंगलादेशको नेतृत्व दिने चर्चा छ
कस्तो हो बङ्गलादेशको आर्थिक उदय ? यो कति तर्कसङ्गत छ ?
हसिना भागेको भोलिपल्टै रिहा भइन् बीएनपीकी अध्यक्ष जिया
पलाइसे रे पलाइसे हसिना पलाइसे !
शेख हसिना : शान्त नेताको तानाशाही शासन, विद्यार्थीलाई कम आँक्दा लज्जास्पद बर्हिगमन
हसिनाको उन्माद र खालिदा जियाको आँसुमा डुबेको बङ्गलादेशी लोकतन्त्र
Facebook Comment
Comment