कमला ह्यारिसले मिनेसोटा गभर्नर टिभ वाल्जलाई चुनावी दौडको ‘धावक-मित्र’ चयन गरेकी छन् । यो चयन पनि केही हप्ताअघिबाट सुरु भएको अशान्त राजनीतिक मौसमको अप्रत्याशित घटनाजस्तै छ ।
कुनै ‘स्वीङ-राज्य’बाट कोही डेमोक्र्याट्सलाई वा नियमित चुनाव जित्दै आएको वा राम्रो मत प्राप्त गर्दै आएको रिपब्लिकनलाई लिएर आफ्नो उम्मेदवारी बलियो बनाउनुको साटो उनले अन्तिम समयमा ६० वर्षीय पूर्वकांग्रेस सदस्य वाल्जलाई रोजिन् ।
वाल्ज मध्यपश्चिमी श्वेत तथा कृषिप्रधान राज्यका गभर्नर हुन् । उनको चयनले ग्रामिण क्षेत्र र कट्टर रिपब्लिकन मतदाता भएका राज्यमा पनि जित्ने सम्भावना राख्दछ । यसले निर्वाचक मण्डलमा विजयी रणनीति बनाउन सक्दछ, डेमोक्र्याट्सहरूको अहिलेको मुश्किल पनि यही हो ।
वाल्ज ह्यारिसले आफ्नो तर्फबाट सजिलै तैनाथ गर्न सक्ने एक शक्तिशाली हतियार हुन सक्नेछन् । तर, उनले बेवास्ता गर्न नसकिने केही नकारात्मक पक्ष पनि बोक्दछन् । त्यस्तो कुरा एउटा त भूगोल नै हो र अर्को उनी गभर्नर भएको अवधिमा मिनेसोटा राज्यका ठूला उथलपुथल हुन्, जो देशभरि विस्तार भए ।
वाल्जको सवल पक्ष स्पष्ट छ, उनले एक दशकभन्दा बढी सार्वजनिक विद्यालय शिक्षक र फुटबल प्रशिक्षकका रूपमा बिताए । सेनाको नेशनल गार्डमा सेवा गरे । सन् २००६ मा उनले रिपब्लिकन पार्टीको प्रभाव क्षेत्र ग्रामिण मिनेसोटालाई पल्टाए । यसका लागि उनले विभिन्न चक्रमा चुनावी विपक्षको भूमिका गर्नुपर्यो । उनी अपेक्षाकृत प्रगतिशील र प्रतिष्ठित मान्छे हुन् ।
डेमोक्र्याट्ससँग अहिले धेरै ठूला-ठूला चुनौती छन् । ह्यारिस चुनावी अभियानले जतिसुकै राम्रो गर्न खोजे पनि ती समस्याको सजिलो समाधान छैन । विशेषतः सन् २०१६ मा डोनाल्ड ट्रम्पको राष्ट्रपतीय विजयपछि श्रमिक वर्गका मतदाता डेमोक्र्याटिक सहकार्यबाट बाहिरिँदै थिए । वाल्जको चयनले यो समस्याको उपचारमा पनि मद्दत गर्न सक्दछ । अश्वेत मतदाताको ठूलो हिस्सा अहिलेसम्म टाढा छ । तर, सामाजिक रूपले कन्जर्भेटिभ अश्वेत र ल्याटिनोहरू पनि कम छैनन् ।
उनको पक्षमा अन्य दुई कारकले काम गर्न सक्दछन् । ती हुन्— अब चुनावी अभियानमा उनीजस्तै प्रगतिशीलहरू सक्रिय हुन सक्दछन् र उनका टेलिभिजन प्रस्तुति राम्रा हुन सक्नेछन् । कमला ह्यारिस टिमका लागि पछिल्लो कुरा झन महत्त्वपूर्ण हुन सक्दछ ।
वाल्जले रिपब्लिकनमाथि रकेट गतिमा अनौठा प्रहार गर्नेछन् । जस्तो कि ट्रम्पका सहधावक जेडी भान्सले चुनावी सभामा चिच्याउँदै भन्ने गरेको ‘बच्चाहीन बिराली महिला’ जस्ता अभिव्यक्तिको कठोर आलोचना गर्न सक्नेछन् ।
भान्स र वाल्जबीच गतिलो भिन्नता छ । सायद डेमोक्र्याट्सहरूले यही मन पराउनेछन् । वाल्ज भान्सभन्दा २० वर्ष जेठा छन् । सरकार सञ्चालनमा बढी गहिरो अभिलेख बनाएका छन् । टिभीमा थोरै तर, अझ बढी ‘टेलिजेनिक’ भएर देखिन्छन् ।
ह्यारिस जितिन् भने पहिलो महिला र दोस्रो गैरश्वेत राष्ट्रपति हुनेछिन् । उनले ट्रम्पविरुद्धको अभियानमा आफूभन्दा फरक प्रकारको राजनीतिज्ञ आवश्यक पर्ने निर्णय तय गरिन् । वाल्जको उदारवाद क्यालिफोर्नियाबाट ‘इन्जेक्टेट’ छैन । उनी प्रियतावादीको केन्द्रभूमिमा लोप हुन लागेको प्रजातिका राजनीतिज्ञ हुन् ।
बाइडन प्रशासनमा कमला ह्यारिसलाई मुख्य नीतिगत पहलकदमीबाट किनारा लगाइएको थियो । उनी पदमा भएर पनि जनताको नजरमा सर्वथा ‘खाली स्लेट’ जस्तो देखिन्थिन् । यस प्रकारले हेर्दा उनको उपराष्ट्रपतिको छनोटलाई थप आलोचनात्मक बनाउँछ । उनका समर्थकको नजरमा उपराष्ट्रपतिमा जस्तै राष्ट्रपतिमा पनि उनको भूमिकाबाट हासिल हुन सक्ने सम्भावनालाई कम बनाउँछ ।
नीतिगत मामिलामा, विशेषगरी इजरायल-हमास युद्धमा वाल्जले कम्तीमा डेमोक्र्याटिक पार्टीको विचलित प्रगतिशील हिस्सालाई क्षणभरमा आश्वासन दिन्छन् । वाल्जसँग अनौठो प्रकारको प्रियतावादी ट्रयाक रेकर्ड छ, जसले ह्यारिसलाई उचाल्न सक्दछ ।
मिनेसोटा गभर्नरका रूपमा उनले गर्भपतन अधिकार तुरुन्तै संहिताबद्ध गरे । समलिङ्गी र लिङ्ग परिवर्तन अधिकारको पक्षमा हस्ताक्षर गरे । कामदार वर्गलाई भुक्तानीका लागि राज्य सञ्चालित कार्यक्रम र पारिवारिक चिकित्सा बिदा कार्यक्रम सुरु गर्न मद्दत गरे ।
उनले अरु पनि त्यस्ता थुप्रै काम गरेका छन् । जस्तो कि आधिकारिक कागजातविहीन आप्रवासीलाई पनि चालक अनुमति पत्र दिने, गाजालाई वैधानिकीकरण गर्ने, बन्दुक कानून ल्याउने र युनिभर्सल विद्यालय भोजन कार्यक्रम लागू गर्ने आदि । उनले पूर्व अपराधीको मतदान अधिकार पुनर्स्थापित गर्ने कानूनमा पनि हस्ताक्षर गरेका छन् ।
वाल्जका विदेश नीति विचारका स्केच भने थोरै र धमिला छन् । तर, उनमा पेन्ल्सभेनिया गभर्नर जोस स्यापिरोको जस्तो कठोर इजरायल समर्थक धारणा देखिन्न । उनी इजरायललाई जबरजस्त समर्थन गर्ने र प्यालेस्टाइन समथर्क प्रदर्शनकारीसँग झगडा गर्ने मनस्थितिमा छैनन् ।
बाइडन नै उम्मेदवारमा दोहोरिँदा डेमोक्र्याट्सहरूमा यस महिनाको अन्त्यमा हुने सिकागो सम्मेलनमा ठूलो विरोध प्रदर्शन हुन सक्ने भय थियो । ह्यारिस-वाल्जको उम्मेदवारीले यो तनावलाई केही कम गर्न सक्दछ ।
मिचिगन एक त्यो ‘स्वीङ-राज्य’ हो जहाँ ठूलो अरब-अमेरिकी जनसङ्ख्या छ, यस राज्यका मतदातासँग बाइडन प्रशासनकालमा सम्बन्ध बिग्रिएको थियो, वाल्जले त्यसलाई पुनर्स्थापित गर्ने क्षमता राख्दछन् ।
सामन्यतया ‘चुनावी सहधावक’ बारे परम्परागत समझ सही नै छ । तिनले त्यति धेरै फरक पार्दैनन् । मतदाताको ध्यान मूलतः राष्ट्रपतिको उम्मेदवारमै केन्द्रित हुन्छ । तर, ह्यारिसले शापिरोलाई छोडेर वाल्जलाई छनोट गर्नुका केही महत्त्वपूर्ण जोखिम भने अवश्य छन् ।
जस्तो कि तथ्याङ्कशास्त्री नेट सिल्भर भन्छन्, “पेन्ल्सभेनिया निर्वाचन परिणामका लागि शीर्ष महत्त्वको राज्य हो, यही एउटा मात्र पनि ट्रम्प ह्वाइट हाउसमा फर्किन सक्ने निर्णायक कारण बन्न सक्दछ ।”
वाल्जलाई छनोट गरिनुका थप फाइदा भने कमै स्पष्ट छन् । वाल्जको राज्यमा रिपब्लिक पार्टी निरन्तर प्रतिस्पर्धी बन्दै गएको छ । तर, सन् १९७२ को निक्सनकालीन भीषण हारपछि उनीहरूले राज्य कहिल्यै गुमाउनु परेको छैन । वाल्जमार्फत् मिनेसोटा जोगाउन आवश्यक थिएन तर, उनी कथित ‘निला पर्खाल राज्य’ भनिएका विस्कान्सस, मिचिगन र पेन्ल्सभेनियाका लागि भने पर्याप्त चिनिएका छैनन् ।
वाल्जबाट हुने फाइदा, बेफाइदा जे-जस्ता हुन्, रिपब्लिकनले भने उनको गभर्नरकालीन अभिलेखबाट आफूलाई चाहिने चिज टिप्न सक्नेछन् । सन् २०२० मा उनी नै मिनेसोटा गभर्नर हुँदा प्रहरीले जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको थियो र त्यसपछि माइनियोपोलिस दङ्गा भड्किएको थियो ।
ह्यारिसले ती घटनामा आपराधिक न्याय सुधार र आन्दोलनको समर्थन गरेकी थिइन् । उनले राज्यमा भएका प्रदर्शनको सहयोग कोषको समर्थन गरेकी थिइन् । ट्रम्प क्याम्पका लागि यो एउटा ठूलो मुद्दा भइसकेको छ ।
अरु पनि त्यस्ता थुप्रै मुद्दा छन्, जसले वाल्जको चुनावी अभियानलाई सताउन सक्दछन् । जस्तो कि अवैध आप्रवासी भित्रिनु र शहर भरिँदै जानु ह्यारिसका लागि कठोर चुनौती हुन सक्दछ । आधिकारिक कागजात नभएका आप्रवासीलाई चालक अनुमतिपत्र दिने वाल्जको निर्णय अर्को मुद्दा हुन सक्दछ । डेमोक्र्याटिक राज्यमा लोकप्रिय र स्वीकार्य भएको मुद्दा सबै राज्य र देशभरि सबैतिर स्वीकार्य हुन्छ भन्ने छैन ।
ट्रम्प अभियानले पूर्व अपराधिको मताधिकार पुनर्स्थापित गरेको सवालमा वाल्जको विरोध गर्न थालिसकेको छ । यसले रुढीवादी र मध्यमार्गी मतदातालाई सन्देहग्रस्त बनाउँछ । जस्तो कि ट्रम्प अभियानका सचिवालय सदस्य क्यारोलिन लेभिट भन्छिन्, “वाल्ज क्यालिफोर्नियाका प्रियतावादी उदारवादका एजेण्डा देशभरि विस्तार गर्ने औजार हुनेछन् ।”
डेमोक्र्याटिकहरूको तर्फबाट हेर्दा कमला ह्यारिसको उम्मेदवारी घोषणाले सर्वेक्षणहरूमा गति बढेको देखिएको छ । वाल्जको छनोटपछि झनै उत्साह थपिएको छ । निर्वाचनको दिन आउन छोटो अवधि बाँकी रहँदा मात्र छनोट हुनु भने तीतो पक्ष हो ।
तर, अब टिम वाल्जले कमला ह्यारिसको उम्मेदवारीलाई अर्थपूर्ण ढङ्गले बलियो बनाउन सक्दछन् । र, उनले आफूलाई त्यस्तो राजनीतिक उम्मेदवार सिद्ध गर्न सक्नेछन्, जहाँनेर कमला कमजोर देखिनेछिन्, ती ठाउँ उनले भर्नेछन् ।
(द न्यूओर्क टाइम्सबाट)
Facebook Comment
Comment