काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिले बैठक बोलाएका छन् ।
अर्थ समितिले बिहान ११ बजे बैठक बोलाएको छ । समितिले नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची बनाएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने समयतालिका छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो साढे १ बजे बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातात्विक महत्वका सम्पदाको अवस्था, ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरुको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो साढे १२ बजे बस्ने छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक भने दिउँसो २ बजे बस्नेछ । बैठकमा डेंगी, हैजालगायतका सरुवा रोग संक्रमणमा भइरहेको नियन्त्रणको प्रयास र सुधारका योजना बारे छलफल गर्ने कार्यसूची राखिएको छ ।
Facebook Comment
Comment