यी हुन् हमासका नयाँ नेता, जो युद्धबाटै इजरायललाई ध्वस्त पार्न चाहन्छन्

गोप्यता सिनवरको युद्ध रणनीतिको अंश नै हो । उनी आफ्ना योजना सार्वजनिक गर्दैनन् । कुनै सार्वजनिक विज्ञप्ति वा धम्की दिँदैनन् । सिनवरको योजना त्यतिखेर मात्र थाहा हुन्छ, जब हमासले कुनै कारबाही गर्दछ ।

नेपालभ्युज

यी हुन् हमासका नयाँ नेता, जो युद्धबाटै इजरायललाई ध्वस्त पार्न चाहन्छन्

काठमाडौं । प्यालेस्टिनी अतिवादी समूह हमासले नयाँ नेताका रूपमा याह्या सिनवरलाई चयन गरेको छ । नेता इस्माइल हनियाको हत्या भएपछि सिनवरलाई नयाँ नेता चयन गरिएको हो ।

कतारमा हमासका शीर्ष अधिकारीको बैठकले सिनवरलाई नेता चयन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिनवरले गाजा क्षेत्रमा युद्धको नेतृत्व गरिरहेका छन् । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेयता झन्डै १ वर्षसम्म लडाइँ चलिरहेको छ । सिनवर गाजा क्षेत्रमै रहेको बताइन्छ ।

युद्ध चर्केपछि धेरैलाई हमासको पक्षबाट युद्धको नेतृत्व इस्माइल हनियाले गरिरहेको लागे पनि फिल्डमा भने सिनवर नै सक्रिय छन् ।

सिनवर कहाँ बसेका छन् ? धेरैलाई जिज्ञासाको विषय भए पनि इजरायली गुप्तचरले उनको बासस्थान अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । सिनवर बसेको हुनसक्ने अनुमानमा लक्षित गरेर अहिलेसम्म दर्जनौं आक्रमण गरिएको छ तर, इजरायललाई सफलता हात लागेको छैन ।

हमास कमाण्डर सिनवर गाजा क्षेत्रका सुरुङ सञ्जालभित्र ठाउँ फेरेर बस्ने गरेको बताइन्छ । अहिलेसम्मको युद्ध र क्षतिले उनको मनोविज्ञान प्रभावित नभएको, उनी युद्ध अझै लम्ब्याउने र इजरायललाई अन्तर्राष्ट्रिय रूपमा अझै धेरै बदनाम गरी नैतिक सङ्कटमा पार्ने रणनीतिमा छन् ।

को हुन् सिनवर ?

सन् १९६२ अक्टोबर २९ मा जन्मिएका सिनवर अहिले ६२ वर्षका छन् । हमास स्रोतका अनुसार उनको मानसिकता युद्धप्रति दृढ देखिन्छ । सिनवर सन् २०१७ मा हमासको प्रमुख सैन्य कमाण्डर भएका थिए । उनी कमाण्डर भएयता हमासको सैन्य शक्तिमा व्यापक वृद्धि भएको विश्वास गरिन्छ ।

बारम्बार जेल जीवन बिताएका सिनवर सन् २००८ पछि इजरायली कब्जामा थिए । तर, सन् २०११ को बन्दी आदानप्रदान योजनाअन्तर्गत उनी छुटेका थिए । ५ वर्षदेखि हमासको कब्जामा रहेका इजरायली प्रतिरक्षा बलका एक अधिकृत लिगाट सालिटसँग सिनवरलाई साटिएको थियो ।

सन् २०१२ मा इजरायलले एक विशेष सैन्य अप्रेसन सञ्चालन गरी तत्कालीन हमास कमाण्डर अहमद जावरीको हत्या गरेको थियो । त्यसपछिका दिनमा सिनवरले इरानी रेभोल्युसनरी गार्डका कमाण्डर कासिम सुलेमानीसँग नजिकको सम्बन्ध बनाएका थिए ।

सिनवरले इरान र लेबनानको हिज्बुल्लाहसँग हमासको सम्बन्ध बलियो बनाएका थिए । झन्डै १ वर्षको निरन्तर युद्ध र आक्रमणबाट पनि सिनवरलाई फेला पार्न नसक्नुलाई युद्ध विश्लेषकले इजरायलको असफलता मान्छन् ।

युद्ध जति लम्बिँदै गइरहेको छ, सिनवरको शक्ति र चर्चा उत्तिकै चुलिँदै गएको छ । जानकार भन्छन् कि हमासको वास्तविक शक्ति पहिले पनि इस्माइल हनियासँग हैन, याह्या सिनवरसँग थियो ।

गाजा क्षेत्रका सुरुङ सञ्जालमा मोबाइल जीवन बिताइरहेका सिनवरले युद्धको प्रत्यक्ष नेतृत्व मात्र गरिरहेका छैनन्, यहीबाट कूटनीतिक सम्बन्ध र संवादसमेत गरिरहेका छन् ।

यहीबीचमा इजरायल-हमासबीच युद्धविरामका लागि व्यापक प्रयत्न र संवाद भए । ती वार्ताकार सिनवरको निकट सम्बन्धमा थिए । तिनले वार्ताका जटिलता र सम्भावनाबारे सिनवरलाई दैनिक रिपोर्टिङ गर्थे ।

यसका बाबजुद इजरायली गुप्तचर र प्रतिरक्षा बलले सिनवरको कार्यप्रक्रियामा कुनै व्यावधान सृजना गर्न सकेको छैन । त्यस्ता अधिकांश वार्ता इजिप्ट र कतारमा भए तर, गाजाका सुरुङबाट सिनवरले सबै जानकारी लिन्थे ।

सिनवरसँग जेलमा सँगै रहेका उनका मित्र तथा हमास जानकार सलाह अल दिन अवादेहले द न्यूओर्क टाइम्सलाई भनेअनुसार सिनवरसँगको परामर्श र सहमति बिना हमासमा कुनै निर्णय हुनसक्ने अवस्था थिएन ।

सलाह अगाडि भन्छन्— सिनवर सामान्य कमाण्डर हैनन्, एक विशिष्ट नेता हुन् । उनी युद्ध निर्देशक तथा प्रबन्धक मात्र हैन, खाँटी नेता हुन् । उनी हरेक युद्ध स्पर्धाको विश्लेषण गर्दछन् । त्यसका फाइदा बेफाइदा हेर्छन् । उनी असाध्यै दृढ र सन्तुलित मनस्थिति भएका व्यक्ति छन् ।

हमास आन्दोलन र सङ्गठनमा सिनवरको औपचारिक वरीयता पहिले इस्माइल हनियाँपछि दोस्रो थियो । अहिले पहिलो स्थानमा उक्लिएका छन् । हनिया हमासका मूल राजनीतिक नेता थिए भने सिनवर सैन्य नेता । सिनवरको सहमति बिना हनियाले कुनै निर्णय लिए पनि त्यो कार्यान्वयन हुन सक्दैनथ्यो ।

सिनवरले युद्धविराम र शान्ति वार्ता प्रयासलाई अस्वीकार गर्दै युद्ध लम्ब्याउनुको कारण के होला ? विश्लेषक भन्छन् कि सिनवरको हृदयमा इजरायलप्रति तीव्र घृणा र बदलाको भावना छ । उनी इजरायललाई अन्तर्राष्ट्रिय रूपमा कमजोर बनाएर प्यालेस्टाइनी आन्दोलनको औचित्य सिद्ध गर्न चाहन्छन् ।

लामो जेल जीवन र गोप्यता

सिनवरले इजरायली जेलमा २२ वर्ष बिताएका छन् । ती दिन उनी सजिलै बिर्सन सक्दैनन् । जेलमा उनले हिब्रू सिकेका थिए । उनी यहुदी धर्म, इजरायली संस्कृति र मनोविज्ञानका राम्रा ज्ञाता पनि हुन् ।

युद्ध सुरु भएयता सिनवरले कुनै सार्वजनिक सन्देश जारी गरेका छैनन् । त्यसअघि भने उनी गाजाका सडकमा हिँड्दै गरेको भेटिन्थे । उनलाई धेरैले मुख्य नेताका रूपमा सूचित गरेका थिएनन् । उनको व्यक्तिगत सार्वजनिक जीवन कमै थियो ।

गोप्यता सिनवरको युद्ध रणनीतिको अंश नै हो । उनी आफ्ना योजना सार्वजनिक गर्दैनन् । कुनै सार्वजनिक विज्ञप्ति वा धम्की दिँदैनन् । सिनवरको योजना त्यतिखेर मात्र थाहा हुन्छ, जब हमासले कुनै कारबाही गर्दछ ।

युद्ध मैदानमा नभएका हमास नेताहरूले गरेको युद्धविरामको आग्रहलाई सिनवरले अस्वीकार गर्दै आएका थिए । यदि युद्धविराम हुने नै हो भने पनि त्यसपछि उनको बाँकी जीवनमाथि इजरायलको रवैया के हुने हो ? सिनवर यसको सुनिश्चितता चाहन्छन् ।

सलाहका अनुसार सिनवरमा व्यक्तिगत जीवनको चाहना कम र इजरायललाई सकेसम्म ध्वस्त पार्ने चाहना बढी छ । त्यो भिन्नै कुरा हो कि यसको मूल्य गाजाका नागरिकले भुक्तान गर्नु परेको छ ।

एक अर्का पूर्वहमास नेता मौसा अबु मार्जाेक भन्छन्— हमासमा सिनवरको शक्ति बढ्नु र उनी निर्णायक बन्नु स्वाभाविक हो । किनकि उनी मैदानमा छन् । युद्धको वास्तविकता उनलाई नै थाहा छ । युद्धको भविष्यबारे सही निर्णय पनि उनैले लिन सक्दछन् ।

इजरायल-हमास युद्ध, रुस-यूक्रेन युद्धपछिको शताब्दीकै दोस्रो ठूलो लडाइँ हो अहिलेसम्म । यो युद्धलाई कस्तो मोड दिने ? यो निर्णय लिनसक्ने तागत अब कि सिनवारसँग हुनेछ कि उनलाई जित्न सक्ने शक्तिसँग ।

यह्या सिनवर एक मान्छे नै हुन् । पातलो शरीर, तीक्ष्ण मस्तिष्क र बलियो मुटु भएका एक योद्धा । भन्न सकिन्न, उनले जारी युद्धबारे के निर्णय लिन्छन् वा कुनै दिन कुनै निर्णय नै लिन नपर्ने गरी युद्धमाथिको नियन्त्रण गुमाएर कमजोर हुन्छन् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved