काठमाडौं । संसद अन्तर्गतका विभिन्न समितिहरुले आज बैठक बोलाएका छन् ।
आफ्नो क्षेत्राधिकार र कर्तव्यभित्र पर्ने विषयमा छलफल गर्न विभिन्न चार संसदीय समितको बैठक बस्न लागेको हो ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ ।
यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ग्रामीण क्षेत्रमा बाघ, भालु, हात्तीलगायत जनावरको आक्रमणबाट जनधनमा पुगेको क्षतिका विषयमा छलफल हुनेछ ।
बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा बाँदर, बँदेल, दुम्सी, निलगाईलगायत वन्यजन्तुबाट कृषि बालीमा भइरहेको क्षतिका बारेमा समेत छलफल गर्ने कार्यसूची राखिएको छ ।
छलफलका लागि वन तथा वातावरणमन्त्री, राज्यमन्त्री एवं सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकलगायतलाई बोलाइएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची बनाएको छ । बैठक मध्यान्ह १२ बजे बस्नेछ ।
पूर्वाधार विकास समितिको बैठक भने दिउँसो १ बजे बोलाइएको छ । बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्तासँग छलफल हुनेछ ।
Facebook Comment
Comment