धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डा टुङ्गो लागेको छ।
जसअनुसार मुख्यमन्त्री, आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय कांग्रेसको भागमा पर्दा भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ।
त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ ।
सबै दलहरूले मन्त्रीको टुङ्गो पनि लगाइसकेका छन् । कांग्रेसले मेघराज खड्का र बहादुरसिंह थापालाई मन्त्री बनाउने भएको छ भने एमालेले पुरानै तीन मन्त्री दोहोर्याउने भएको छ ।
एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्की यसअघि मन्त्री भएका थिए । अहिले यी तीनै जनालाई मन्त्री बनाउने वा अन्य केही थपघट गर्ने भन्ने विषयमा २ बजे संसदीय दलको बैठक निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले १ बजे दलको बैठकबाट मन्त्रीको निर्णय गर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ ।
आज ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गर्दैछन् । त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ । कांग्रेसबाट गीत चौधरी र एमालेबाट सरस्वती साउँद राज्यमन्त्री बन्दै छन् ।
Facebook Comment
Comment