काठमाडौं । नेपालको उपभोक्ता बजार अस्वाभाविक हुँदा राज्यले प्रदान गर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको ऐतिहासिक संस्था हो साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड । यो संस्था आफ्ना सेवा थप गुणस्तरीय एवं उपभोक्तामैत्री बनाउन सक्रितापूर्वक लागेको छ ।
६२ वर्षको इतिहासमा साल्ट ट्रेडिङले व्यापार व्यावसाय मात्र गरेको छैन, जनस्वास्थ्यको मुख्य इन्डिकेटर (सूचक) कायम राख्न महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा विगत ३३ वर्षदेखि काम गर्दै आएका विभागीय प्रवन्धक ब्रजेशकुमार झासँग समसामयिक विषयमा गरिएको अन्तर्वाताको सम्पादित अंश ।
प्रश्न : साल्ट ट्रेडिङ पछिल्लो समय कुन व्यापारिक बिन्दुबाट अगाडि बढेको छ ?
जुनसुकै काम गर्दा पनि बाधा र अवरोध आउने गर्छन् । तथापि त्यसलाई छिचोल्दै र साम्य पार्दै अगाडि बढ्नु नै प्रगतिको मार्गमा जानु हो । साल्ट ट्रेडिङले पनि आफ्नो ६२ वर्षको इतिहासमा विभिन्न बाधा र अवरोध सामना गर्दै अगाडि बढेको छ ।
निरन्तर मुनाफा कमाएर नै यो संस्था अगाडि बढेको छ । जुन सकारात्मक सूचक हो । कर्मचारीलाई बोनस उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७९-८० मा मन्दीको असर परेको थियो । त्यो बेला ९ अर्बको मात्रै कारोबार भएको थियो । गत वर्ष आर्थिक वर्ष २०८०-८१ मा हामीले झण्डै १३ अर्बको कारोबार गरेका छौँ । त्यसकारण हाम्रो संस्था आर्थिकरूपमा राम्रो अवस्थामा छ ।
प्रश्न : आयोडिन नुनसँगै साल्ट ट्रेडिङले उपभोक्तालाई उपलब्ध गराउँदै आएका वस्तु के के छन् ?
नेपालका विभिन्न संस्थाले आफ्नो क्षेत्रअनुसार कसैले एक करोडलाई कसैले २ करोड जनतालाई सेवा पुर्याइराखेका छन् । हामीले नेपालको पूरै जनसंख्यालाई सेवा दिइरहेका छौँ । प्रत्येक घरमा साल्ट ट्रेडिङको पहुँच छ ।
नेपालको आफ्नो उत्पादन नभए पनि उपलब्धता मात्र होइन, सहजताका साथ उपभोक्तासम्म पुर्याएका छौँ । काठमाडौँमा नुन पाइन्छ मात्र होइन प्रत्येक पसलमा नुन पाइन्छ । हुम्ला, जुल्ला, ताप्लेजुङमा पनि साल्ट ट्रेडिङको नुन पाइन्छ । उपलब्धतामात्र होइन सहजताका साथ हामीले नुन पुर्याएका छौँ ।
नुन मात्र होइन हामीले नेपालको जनस्वास्थ्यको विषयलाई पनि सम्बोधन गरेका छौँ । आयोडिनको कमी हुन दिएका छैनौँ । नेपालको मुख्य जनस्वास्थ्यको विषय भनेको भिटामिन ए, आइरन र आयोडिन हो ।
आज पनि आइरन र भिटामिनका लागि सरकारले यथेष्ट रकम खर्च गर्नुपरेको छ । तर, आयोडिनमा भने केही जनचेतनाका विषयमा खर्च होला, बाँकी उपभोक्ता आफैले खरिद गरिरहेका छन् । नुन किन्दा आयोडिन पनि किनिरहेका छन् ।
यो विषयको कुरा गर्दा सन् १९६५ मा नेपालको ६६ प्रतिशत जनतामा आयोडिनको कमी थियो भने चार प्रतिशतमा गम्भीररूपमा कमी थियो । आज आएर करिब शून्य प्रतिशतमा रहेको छ । विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार आयोडिन उपलब्ध छ । यो अनुसन्धानले स्पष्ट पारेको विषय हो ।
नेपाल सरकार, युनिसेफ र डब्लुएचओले अनुसन्धानले आम नेपालीमा आयोडिनको मात्र कमी भएको देखाएको छैन । त्यसकारण साल्ट ट्रेडिङले नुन मात्र उपलब्ध गराएको छैन । नुनको उपलब्धतासँगै आयोडिनको मात्र प्रवाह गरेर जनस्वास्थ्यको पाटोलाई पनि सम्बोधन गर्दै आएको छ ।
बाँकी हामीले दैनिक जीवनकामा आवश्यक पर्ने आधारभूत वस्तुहरू दाल, चामल, सूजी, गेडागुडी लगायत त्यसैगरी कृषकका लागि आवश्यक पर्ने रसायनिक मल, पत्रपत्रिका, आवश्यक पर्ने कागज आदिको व्यापार पनि गरिरहेका छौँ ।
प्रश्न : नुनको व्यापारसँगै जनस्वास्थ्यका मुद्दा सम्बोधन गर्नु सरहानीय कार्य रह्यो नै । यत्ती हुँदा हुँदै उपभोक्ताका गुनासा पनि होलान् नि ?
केही उपभोक्ताका गुनासा आउने गरेका छन् । यो स्वाभाविक हो, हामीले उहाँहरूका गुनासा तत्काल सम्बोधन गर्ने गरेका छौँ । नुन थोरै मात्रामा चाहिने वस्तु हो । प्रतिव्यक्ति ‘कन्जम्सन’ मोटामोटी चार केजी रहेको छ ।
केही स्थानमा आज पनि नुनलाई सामाजिक प्रतिष्ठाको विषय बनाउने गरेको पाइन्छ । तराईमा गाईवस्तु एवं ठूला धानका भकारी भएका व्यक्तिलाई जमिन्दार भने जस्तै पहाडका केही जिल्लामा घरमाथि कति दाउरा राखेको छ र भान्सामा कति नुन छ भन्ने विषयले पनि सामाजिक मान्यता पाउँदो रहेछ ।
पहाडका केही जिल्लामा म बाजेको पालाको नुन खान्छु भन्ने चलन अझै रहेछ । जति धेरै नुन भन्डार गर्यो, त्यति नै सामाजिक प्रतिष्ठा हुने रहेछ ।
त्यसले गर्दा एक जनाले ५-७ पोका किन्ने गरेको पाइएको छ । नुन नपाएको होइन । भण्डारण बढी भएको हो । सामाजिक प्रतिष्ठाको विषय बनाएर धेरै भण्डारण गर्ने र अधिकमात्रामा खरिद गरेका कारण कतै कमी भएको खबर आउने गरेको तर, हामीले तुरुन्त अभाव भएको स्थानमा पुर्याउँछौं ।
प्रश्न : यो स्तरको जिम्मेवारी निर्वाह गर्दैगर्दा राज्यबाट कस्ता सहयोग उपलब्ध हुँदै आएको छ ?
यस विषय प्रष्ट्याउनका लागि पहिला साल्ट ट्रेडिङको इतिहास थाहा पाउनुपर्छ । नेपालभित्र नुनको आफ्नै स्रोत छैन । शतप्रतिशत आयातमा आधारित हो । पहिला नुन लिन भोट वा भारत जाने अवस्था थियो । त्यो अवस्थामा भौगोलिक अवस्था, यातायातको साधन, सडक सञ्जाल, समाजको सामाजिक र आर्थिक अवस्था असहज थियो । आफ्नै स्रोत नभएको कारण नुनको व्यापारमा पारदर्शीता थिएन । गुणस्तर एवं मूल्यमा पनि एकरुपता थिएन । उपलब्धता पनि थिएन ।
विसं २०१९ सालतिर तत्कालीन सरकार प्रमुख पूर्वाञ्चल भ्रमणको क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दा नुन पाउन सकिएन भन्ने आवाज उठेको थियो । जनताले नुन पनि खान पाएनन् भन्ने जनताको आवाज सम्बोधन गर्नका लागि तत्कालीन समयमा नुनको काम गर्ने सबै निकायलाई अनिवार्य सेयर होल्डर बनाइयो । सबैलाई सय रुपैयाँका सेयर किन्न लगाइयो । त्यो बेला ६७ रुपैयाँ तोला सुन आउँथ्यो । सबैको सेयर जम्मा गरेर विसं २०२० साल भदौ २७ गते पहिलो सार्वजनिक, निजी साझेदारी(पिपिपी) मोडेलको संस्था स्थापना भयो ।
त्यतिबेला नुनको कारोबार गर्ने मुस्ताङका थकाली, कृष्णनगरका मुसलमान, जनकपुरका झा, मिश्र सबैलाई एक ठाउँमा ल्याइयो । काठमाडौंका नेवार पनि आए, नुनका क्षेत्रमा काम गर्ने सबैलाई सेयर होल्डर भए । नेपाल सरकारको वाणिज्य विभाग आफैँ सेयर होल्डर बन्यो, अहिले पनि सेयर होल्डर छ । यसरी नुनको कारोबार गर्न यो संस्था स्थापना भएको हो ।
यो संस्था स्थापना भएपछि नेपालमा उत्पादित वस्तुको कसरी बजारीकरण गर्ने, उपभोक्ताको जीवनयापन कसरी सहज तुल्याउने भनेर विचार विमर्श भए । त्यो बेला मैदा पनि भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । नेपालको गहुँ भारत निर्यात हुन्थ्यो । नेपालमा रोटी खाने चलन अत्यन्त न्यून थियो । गरीबले मात्र रोटी खाने हो भन्ने सामाजिक चिन्तन थियो । भात खान नपुग्नेले मात्र रोटी खाने चलन थियो । पारीबाट मैदा ल्याउने चलन थियो ।
मैदा आयात रोक्न, नेपालमा उत्पादित गहुँ सदुपयोग गर्न लागि यस संस्थाले विसं २०३० मा नेपालकै पहिलो मैदा मिलको स्थापना गर्यो । खाद्य उद्योग लिमिटेड हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना भयो । त्यो आज पनि त्यो निरन्तर चलिनै रहेको छ । अहिले पनि गहुँलाई पखालेर सुकाएर पिस्ने प्रक्रिया पनि चालि रहेको छ ।
नेपालको उत्पादनमा ‘भ्यलु एड’ गरेर नेपालमै बिक्री गर्ने काम सुरु भयो । यस अर्थमा यस संस्थाले देशलाई औद्योगिकीकरण तिर पनि लैजान भूमिका खेलेको छ । किसानले आफ्नो उत्पादनको पैसा स्थानीयस्तरमै पाउनुपर्छ भन्ने मान्यता स्थापित गरेको छ ।
यस्तै अन्य उद्योग स्थापनालाई प्राथमिकतामा राखेको थियो । उदाहरणका लागि नेपालकै पहिलो वनस्पति घ्यू उद्योग स्थापना भयो । हामीमध्ये कतिले शान्ति घ्यू भनेर सुनेका छौँ होला । अहिले शान्ति घ्यू बन्द गरेर शान्ति तोरीको तेल उत्पादन भइरहेको छ । साल्ट ट्रडिङले गोरखकाली टायर उद्योगमा पनि लगानी गर्यो ।
यस्ता महत्त्वपूर्ण इतिहाससँगै राज्यले दिएका जिम्मेवारी पूरा गर्दै आएको यस संस्थाले राज्यका तर्फबाट प्राप्त भएको बजार हस्तक्षेपको भूमिका निर्वाह गरिहेको छ । यस संस्थाको भूमिकाबाट जनताले सर्वशुलभ रूपमा गुणस्तरीय उपभोग्यवस्तु प्राप्त गर्दै आएका छन् । जस्तो साल्ट ट्रेडिङले चिनी बेच्दा बजारमा उपलब्धता सहज हुनुका साथै मूल्यमा एकरुपता कायम हुन्छ । यस संस्थाले चिनी बेच्न छोड्दा बजारमा चिनीको मूल्य आकासिन्छ ।
सरकारले साल्ट ट्रेडिङबाट यस्ता काम गर्दै आएको छ । नुनको हकमा दूर्गम क्षेत्रमा ढुवानी गर्न भाडा राज्यले दिँदै आएको छ । मूल्यमा अनुदान साल्ट ट्रेडिङलले दिन्छ । दूर्गम क्षेत्रमा हामीले प्रतिकेजी ९ रुपैयाँमा भानु नुन उपलब्ध गराउँदै आएका छौँ । अन्त रु ९ मा नुन पाउन सकिँदैन ।
राज्यले हामीलाई अनुदानको मलको काम दिएको छ । राज्यले हामीलाई बेलाबखतमा विशेष ‘विजिनेस’ उपलब्ध गराएको हुन्छ । यही नै हाम्रा लागि सहयोग हो ।
प्रश्न : राज्यले उपलब्ध गराएका बाहेक यहाँहरूले आफैँले बजार खोजेर अन्य केही काम गर्दै आउनुभएको छ कि ?
भूकम्पमा हाम्रो १०० वर्षको पुरानो भवनमा जनधनको क्षति भयो । यस विषयलाई छलफलको विषय बनायौँ । विसं २०७२ सालको भूकम्पपछि हामी आफैँले निर्माण गरेको भवनले हामीलाई थिचेर र किचेर मार्दोरहेछ भन्ने सबैलाई चेत भयो । भूकम्पको विपद्मा अधिकांश त्यसरी नै मृत्यु भयो ।
त्यसपछि हामीले एन्जिएस प्रविधिको भवन निर्माण गर्नुपर्छ भनेर अमेरिकन प्रविधि भित्र्यायौँ र हामीले त्यसबाट निर्माण सुर गरेका छौँ । विभिन्न ठाउँमा भवन निर्माण गरेका छौँ । साल्ट ट्रेडिङले १० वटा घरको हाउजिङ्ग निर्माण गर्ने निर्माण गर्ने निर्णय गर्यौँ । दहचोकमा आठवटा निर्माण सम्पन्न भयो । अब दुईवटा निर्माण हुँदैछ । कोलनीजस्तै बनाएका छौँ । निर्माण सम्पन्न गरेर बेच्छौँ, त्यसैगरी अरु कसैको बनाइदिन पर्यो भने पनि बनाई दिन्छौँ ।
ब्रिटीस एम्बेसीको भवन पनि हामीले बनाएका छौँ, त्यहाँ हाम्रो प्रविधि प्रयोग भएको छ । त्यस्तै बानेश्वर, पोखरालगायतका स्थानमा उच्च प्रविधियुक्त घर निर्माण गरेका छौँ ।
स्थानीय सरकार जमानी बसेर यही प्रविधि प्रयोग गरेर गरीब जनताको घर निर्माण गर्न सकिन्छ । स्थानीय जनसमुदाय, स्थानीय सरकार र सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई प्रयोग गरेर जनताको घर निर्माण गर्न सकिन्छ । भूकम्पप्रतिरोधी घर निर्माण गर्न सकिन्छ ।
प्रश्न : साल्ट ट्रेडिङले सामाजिक उत्तरदायित्वको पाटोलाई कसरी अगाडि बढाएको छ ?
हामीले गरेका सामाजिक उत्तरदायित्वका कार्य उल्लेखनीय नै छ जस्तो लाग्छ मलाई । महाराजगञ्जको शिक्षण अस्पतालमा एमबिबिएस पढ्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिन्छौँ । त्यस्तै धरानबाट फुड टेक्नोलोजी अध्ययन गर्ने बिटेकका दुई जनालाई छात्रवृत्ति दिन्छौँ ।
हाम्रो संस्थाका कर्मचारीको परिवारका बालबालिकाले एसईइमा उत्कृष्ट अंक ल्याउनेलाई मासिक आर्थिक सहायता उपलब्ध गराउँछौँ । उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएका छौँ ।
त्यसका अलवा बालबालिका क्षेत्रमा धेरै राम्रो काम गर्नेलाई सम्मान गर्ने र हेमबहादुर मल्ल सम्मानलाई हामीले निरन्तरता दिँदै आएका छौँ ।
साहित्यिक क्षेत्रमा पनि काम गर्दै आएका छौँ । एम्बुलेन्स उपलब्ध गराउने, त्रिपुरेश्वरको आँखा अस्पतालको भवन निर्माण गरेका थियौँ । मानवसेवा आश्रम एवं बालबालिका क्षेत्रमा काम गर्ने संस्थालाई पनि हामीले सम्मानमार्फत सहयोग गर्दै आएका छौँ ।
प्रश्न : आगामी दिनमा साल्ट ट्रेडिङको यात्रा कस्तो होला ?
साल्ट ट्रेडिङको यात्रा सुखद छ, आगामी दिनमा पनि राम्रो रहनेछ । राज्यले दिएको थप जिम्मेवारी पूरा गर्छौँ । जस्तै राज्यले हामीलाई रासायनिक मलको जिम्मेवारी दिएको छ । त्यसलाई पूरा गर्दै आएका छौँ ।
बेलाबखतमा चिनीको आपूर्ति गर्न भन्छ, त्यो बेलामा पनि हामीले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्छौँ । यसले बजार मूल्यलाई नियन्त्रण गर्छ, उपभोक्तालाई राहत हुन्छ । भन्नुको मतलब, बजारको आवश्यकताअनुसार राज्यको आग्रहमा साल्ट ट्रेडिङले बजार हस्तक्षेपमा प्रभावकारी भूमिका निर्वाह गर्छ, गर्दै आएको छ ।
आगामी दिनमा पनि त्यसका लागि इमान्दारिताका साथ अगाडि बढ्छौँ । उपभोक्ताको हकहितका लागि हामीले समन्यायिक भूमिका निर्वाह गर्न सदैब तत्पर रहन्छौँ । हामीले निरन्तर भन्दै आएका छौँ- गुणस्तरीय किनौँ र गुणस्तरीय बेचौँ ।
आर्थिक पाटोदेखि सेवाका सबै पाटो सहजपूर्वक राम्रोसँग अगाडि बढ्छ । भनिन्छ- राम्रो र सस्तोको भेट हुँदैन, यद्यपि हामी जनतालाई खुसी बनाउन निरन्तर लाग्छौँ, सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्न अधिकतम प्रयास गर्छौँ ।
Facebook Comment
Comment