लघुवित्त पीडितका पीडा : किस्ता तिर्न नसक्दा भनिन्छ- मर्नु, बीमाबाट भुक्तान गर्छौँ

नयाँ सरकार आएसँगै हरायो प्रतिवेदन

लघुवित्त पीडितका पीडा : किस्ता तिर्न नसक्दा भनिन्छ- मर्नु, बीमाबाट भुक्तान गर्छौँ

काठमाडौं । काभ्रे स्थायी घर भएकी प्रिया खत्री यतिबेला काठमाडौंको गौशालामा त्रिपाल टाँगेर बसेकी छन् । उनले काठमाडौंमा यसरी सडक बास गरेको लगभग ६ महिना बितिसक्यो ।

लघुवित्तको ऋण तिर्न नसकेपछि सरकारसमक्ष आत्मसमर्पण गर्न आएकी प्रियाको मुहारमा नैरास्यताको बाँध अझै फुट्न सकेको छैन । सहकारी र लघुवित्तको ‘टर्चर’ सहन नसकेकाले घर छाडेको उनी बताउँछिन् ।

“हामीलाई त घरमा बस्नुभन्दा त यही पानीमा रुझेर बस्न नै ठीक छ,” उनी भन्छिन् । काभ्रेको १६ रोपनी जग्गा राखेर प्रियाले साढे पाँच लाख ऋण लिएकी थिइन् । एक वर्षसम्म सबै राम्रै चल्यो । उनले जेनतेन किस्ता बुझाउँदै आएकी थिइन् । पछि उनको घरको आर्थिक अवस्था खस्किँदै जान थाल्यो । श्रीमान् साउदी गए ।

छोरी ११ मा पढ्छिन् । पछि अवस्था यस्तो आयो कि उनले छोरीको कलेज फी पनि बुझाउन नसक्ने भइन् । उनी भन्छिन्, “श्रीमान् साउदीमा हुनुहुन्छ, महिनाको ४० हजार कमाउनुहुन्छ । उहाँले कमाएको पैसाले घर धान्न, छोरी पढाउनै पुग्दैन, म के गरेर किस्ता बुझाऊँ ।”

घरमा बस्न सक्ने अवस्था नभएपछि आफू बनेपामा कोठा भाँडामा बसेको उनी बताउँछिन् । “म एक मिनेट पनि किस्ता नरोक्ने महिला हो तर, मेरो छोरी हस्पिटलमा हुँदा एक दिन मैले मेरो माइक्रोफाइनान्सको १८ हजार तिर्नुपर्नेमा १५ हजार लिएर गएको थिएँ,” उनी सुनाउँछिन्, “त्योबेला पुगेन, अर्को पालि तिर्छु भन्दा मेरो सग्लो खुट्टा काटेर आइज भन्यो ।”

 उनी आफ्नो एरोप्लेन मोडमा राखिएको मोबाइल देखाउँदै भन्छिन्, “मैले मोबाइल अनसमेत गरेको छैन ।”

उनीसँगै बसेकी अर्की लघुवित्त पीडित अनिता चौधरीको कथा पनि त्यस्तै छ । अनिताको घर मोरङ हो । सहारा लघुवित्तबाट अनिताले ७० हजार ऋण लिइन्, जसमा सेयर र बचत भन्दै १८ हजार काटिदिए । बाँकी पैसा उनले किस्ता किस्तामा तिर्दै आइरहेकी थिइन् । अनिताको दुई किस्ता मात्र बाँकी थियो ।

सो समयमा उनीसँग तिर्ने पैसा भएन । सोही लघुवित्तमा उनको १३ वर्षको बचत पनि छ । किस्ता चुक्ता नगरी बचत निकाल्न नमिल्ने बताइयो । त्यसपछि लघुवित्तले उनको घरबाट साइकल र ग्यास उठाए ।

उनी सुनाउँछिन्, “आज पैसा छैन भन्दा सहाराले झुन्डिएर मर्नु बीमा गरिदिएको छ । बीमाको पैसाबाट किस्ता भुक्तान गर्छौँ भन्यो, जिउँदै मान्छेको छेउमा मृत्यु दर्ता बनाउने कुरा गर्‍यो ।”

६ महिनादेखि सडकमा 

गत माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदल यात्रा सुरु गरेका लघुवित्त पीडितहरू १७ दिनको लामो यात्रापश्चात् काठमाडौं भित्रिएका थिए । काठमाडौं भित्रिएसँगै उनीहरूले सडक आन्दोलन सशक्त रूपमा अघि बढाएका थिए ।

कहिले संसद् भवन छिर्न होस् या कहिले राष्ट्र बैंक जताततै लघुवित्त पीडितकै दबदबा र चर्चा थियो । उनीहरूको आन्दोलन र प्रदर्शन न्यूनीकरण गर्न सरकारले वार्ताको लागि बोलायो । साथै, ६ बुँदे सहमति गरेसँगै आन्दोलन स्थगित भयो र उनीहरू घर फर्किए ।

यद्यपि, त्यही हुलका केही हिस्सा यतै छुटिएका छन् । उनीहरू घर फर्कन मान्दैनन् । सरकारले आफूहरूको माग पूरा गर्ने बताए पनि आलटाल मात्रै गरेको उनीहरूको भनाइ छ ।

नयाँ सरकार आएसँगै हरायो प्रतिवेदन 

सत्ता समीकरण फेरिएसँगै नयाँ सरकार बन्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेसँगै बनेको ओली शर्मा ओली नेतृत्वको सरकारले आफूहरूमा भएको न्याय पाउने झिनो आश पनि मरेको लघुवित्त पीडितका नेतृत्वकर्ता अगस्त अधिकारी बताउँछन् ।

सो, बेला सरकार र लघुवित्त पीडितबिच भएको सहमति पत्रको बुँदा नम्बर पाँचमा विभिन्न समस्याको कारण किस्ता समयमा बुझाउन नसक्ने ऋणीको साँवा-ब्याज, शुल्क, जरिवाना, कालोसूची धितो फुकुवा, पीडितको पुनर्स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ, दिर्घरागी) वास्तविक पीडितहरूको कर्जा मिनाहालगायतका विषयहरूलाई सम्बोधन गर्नुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको विषयमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको साठी दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने’ भनी उल्लेख गरिएको थियो ।

जसको लागि सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गरिएको थियो । यद्यपि, सो कार्यदलले स्थलगत प्रतिवेदन ल्याए पनि सरकारलाई बुझाउन नसकेको पीडित नेतृत्वकर्ता अधिकारीको भनाइ छ ।

“डेपुटी गर्भनरको नेतृत्वमा ७ सदस्यीय कार्यदल बनेको थियो । त्यो कार्यदलले स्थलगत प्रतिवेदन पनि ल्यायो तर बुझाउन बुझाएन । सरकार परिवर्तन भइदियो । हाम्रो माग पूरा भएन, त्यसैले हामी सडकमै छौँ, ” अधिकारीले भने ।

उनका अनुसार सरकारले लघुवित्त पीडितको समस्या समाधानका लागि एक महिनाको समय दिएको छ । अहिले काठमाडौंमा रहेका लघुवित्त पीडितहरू सोही समयको पर्खाइमा छन् ।

सजिलो छैन सडक बास

गौशालाको भण्डार खालमा त्रिपाल टाँगेर बसिरहेका लघुवित्त पीडितहरू जति सरकार र लघुवित्तसँग जुधिरहेका छन् । त्यति नै घाम र पानीसँग पनि जुधिरहेका छन् । दिनभरि चर्किएको घाम र रातभर दर्किएको पानीसँगै उनीहरूको दैनिकी बितिरहेको छ ।

गेटमा टाँगिएको ब्यानर धमिलिँदै गइरहेको छ भने केही भागमा च्यातिन थालिसकेको छ । यद्यपि, उनीहरूको माग सम्बोधन हुने छाँटकाँट देखिएको छैन । गाउँबाट कहिले चामल तरकारी मगाउँछन् त कहिले आफूहरूमै पैसा उठाएर भोक टारिरहेका छन् ।

पशुपति विकास कोषसँग समन्वय गरेर पशुपति जंगलमा झरेका झिक्रा र ठुटा बटुलेर आगो बाल्छन् उनीहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved