सुदूरपश्चिम प्रदेश

केन्द्रीय सत्ता समीकरण बचाउन मुख्यमन्त्री बनाइएका सोडारी १०१ दिनमै ‘आउट’ !

जे होस्, त्यसबेला केन्द्रीय सत्ता समीकरण बचाउनका लागि सोडारी मुख्यमन्त्री बनाइएका थिए । त्यसैले तत्कालीन सत्ता समीकरण बन्नेबित्तिकै उनी पदबाट हुत्तिनुपर्‍यो ।

नेपालभ्युज

केन्द्रीय सत्ता समीकरण बचाउन मुख्यमन्त्री बनाइएका सोडारी १०१ दिनमै ‘आउट’ !

काठमाडौं । ३ महिना ११ दिनअघि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् ।

केन्द्रमा संसद्का दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनेसँग अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले शुक्रबार (आज) पदबाट राजीनामा दिएका हुन् ।

उनले विश्वासको मत लिने प्रयोजनसहित अपराह्न ४ बजे प्रदेश सभाको बैठकमै उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

झन्डै आधा घण्टा सभालाई सम्बोधन गरेका उनले भने, “विश्वासको मत पाउँ भन्ने प्रस्तावसहित त आएको हुँ । तर, यसो हेर्दा मत पाइन्छ जस्तो देखिँदैन । त्यसैले अरु नेताहरूले भन्नुभएझैँ मार्गप्रशस्त गर्दछु ।”

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन केन्द्रीय सत्ता समीकरणअनुरूप नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रञ्जिता श्रेष्ठ चौधरी पक्ष र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त सोडारीले ३ महिना पुग्दानपुग्दै पदबाट राजीनामा दिनुपर्‍यो ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन वा कायमका लागि कम्तीमा २७ सांसदको आवश्यकता पर्दछ । त्यसबेला मुख्यमन्त्री सोडारीको पक्षमा ठ्याक्कै २७ सांसद मात्रै थिए । उनको आफ्नो दल एकीकृत समाजवादीका ४ सहित माओवादी केन्द्र र एमाले १०/१०, नाउपाका २ र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर, एमालेले कांग्रेससँग मिलेर केन्द्रीय सत्ता समीकरण बनाएसँगै मुख्यमन्त्री सोडारीलाई राजीनामा दिनुपर्ने विवशता आइलागेको हो । त्यसो त सुरुमै एमालेले सोडारीलाई मुख्यमन्त्रीका रूपमा स्वीकारेको थिएन ।

निकै दिन अटेर गरेपछि समर्थन जनाएको एमालेले अन्तत: मुख्यमन्त्री पदबाटै हुत्याइदियो । अहिले मुख्यमन्त्री सोडारीको पक्षमा जम्माजम्मी १४ सांसद मात्रै थिए । माओवादीको १० र एकीकृत समाजवादीको ४ गरी उनको साथमा १४ सांसद थिए ।

सुरुमा समर्थन जनाएका नाउपाका २ सांसद र स्वतन्त्र सांसद डा. तारा जोशीले समेत नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने जनाइसकेका छन् ।

केन्द्रीय समीकरण बचाउन मुख्यमन्त्री बनाइएका सोडारी

त्यसो त त्यसबेला केन्द्रीय सत्ता समीकरण बचाउनका लागि प्रदेश सभामा ४ सिट भएको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिइएको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नपाए सत्ता समीकरण जतिबेला पनि फुट्न सक्ने धम्की दिएपछि सुदूरपश्चिम प्रदेशमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

त्यसअघि प्रचण्ड-ओलीले भने त्यहाँ नाउपालाई मुख्यमन्त्री दिने वचन दिइसकेका थिए । तर, पछि त्यसो भएन । मुख्यमन्त्री एकीकृत समाजवादीले पायो र मुख्यमन्त्री बने— सोडारी ।

प्रचण्ड-ओलीको वचनअनुरूप नाउपाबाट रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि ठीक्क थिए, पछि उनले दाबी पेस पनि गरे । कांग्रेसका १८, नाउपाका ७ र एकीकृत समाजवादीका ४ गरी २७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका उनको पछि दाबी नै अस्वीकृत भयो ।

जसै चौधरीको दाबीलगत्तै एकीकृत समाजवादीका संसदीय दलका नेता रहेका सोडारीले पनि दाबी पेस गरे । जबकि चौधरीको दाबीमा एकीकृत समाजवादीको ४ सिटसमेत जोडिएको थियो । यस्तो अवस्था आएपछि प्रदेश प्रमख नजिर मियाँले दुवै दाबी अस्वीकृत गर्दै नयाँ दाबीका लागि समय दिए । त्यही समयभित्र दाबी पेश गरेका सोडारी अन्तत: मुख्यमन्त्री नियुक्त भए ।

तर, तीन महिना पुग्दानपुग्दै उनले राजीनामा दिनुपर्ने अवस्था आयो । जे होस्, त्यसबेला केन्द्रीय सत्ता समीकरण बचाउनका लागि सोडारी मुख्यमन्त्री बनाइएका थिए । त्यसैले तत्कालीन सत्ता समीकरण बन्नेबित्तिकै उनी पदबाट हुत्तिनुपर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved