धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । शुक्रबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गरेर सोडारीले राजीनामा दिन लागेका हुन् ।
आर्थिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता अक्कल रावलले मुख्यमन्त्री सोडारीले सम्बोधन गरेर राजीनामा दिने तयारीमा रहेको जानकारी दिए ।
गत असार २० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्रीले त्यसको ३०औं दिन प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिन लागेका हुन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका १८, एमालेका ११, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक स्वतन्त्र सहित ५३ प्रदेशसभा सदस्य छन् ।
नयाँ सता समीकरण अनुसार कांग्रेसको भागमा मुख्यमन्त्री परेको छ । कांग्रेसबाट कमलबहादुर शाह, प्रकाश देउवा, निताबहादुर थापा र देवान विष्ट मुख्यमन्त्री बन्न दौडधुपमा छन् ।
Facebook Comment
Comment