काठमाडौं उपत्यकामा रातिदेखि भारी वर्षा, नदी किनारमा प्रहरीको गस्ती

नेपालभ्युज

काठमाडौं उपत्यकामा रातिदेखि भारी वर्षा, नदी किनारमा प्रहरीको गस्ती

काठमाडौं । काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भइरहेको छ । राति ११ बजेबाट सुरु भएको वर्षाले उपत्यका भित्रका नदी तथा खोलामा जलसतह बढेको छ ।

बागमतीसँगै हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

खोलामा पानी बढेसँगै सुरक्षाकर्मीले तटीय क्षेत्रमा गस्ती सुरु गरेका छन् । बागमतीलगायत नदीका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको छ ।

बाढी सडकसम्म आउने र बस्तीमा डुबान हुनसक्ने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ । ललितपुरको गोदावरी खोलाले पनि जलसतह खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेको जल मापन केन्द्र थैवले जनाएको छ । भक्तपुरको मनहरा र हनुमन्ते आसपासका बस्ती डुबानमा परेको छ ।

हनुमन्ते खोला बढेर बस्ती पसेको छ ।

भीषण वर्षाका कारण आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो ।

काठमाडौंसहित सिन्धुपाल्चोक, चितवन, सिन्धुली, बारा, सर्लाही, सप्तरीलगायत जिल्लामा ठूलो पानी परेको छ । यी क्षेत्रका नदी तथा खोलमा बाढी आउन सक्ने पूर्वानुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved