काठमाडौं । पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको असावधानी र लापरबाहीले यति एयरलाइन्सको जहाजको दुर्घटना भएको रहस्योद्घाटन भएको छ । छानबिन समितिले सार्वजनिक गरेएको ककपिटमा भएको कुराकानीले यो त्रासदीय घटनाको कारण स्पष्ट पारेको हो ।
२०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाअघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएको हो । यती एयरलाइन्सको एटीआर ७२ ९ एन-एनएनसी जहाज दुर्घटनामा परि ७२ जनाको निधन भएको थियो ।
दुर्घटना हुनुअघि पाइलट र कोपाइलटबीचको कुराकानीमा अनेकौं त्रुटिहरू र असावधानी स्पष्ट देखिन्छ । यो संवादले उनीहरूको ध्यानको अभाव र सुरक्षा नियमहरूको लापरबाहीले दुर्घटना निम्त्याएको जानकारहरू बताउँछन् ।
काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०ः५० मिनेटमा अन्तिम पटक टावरसँग सम्पर्कमा आएपछि दुर्घटनामा परेको थियो । उक्त एटीआर जहाज पाइलट कमल र कोपाइलट अन्जुले उडाएका थिए ।
जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट थिए भने उनले २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए ।
सार्वजनिक भएको ककपिट भ्वाइस रेकडर्स सीभीआरएको अडिओअनुसार कोपाइलट अन्जुलाई पाइलट कमलले विमान अवतरणअघि प्रशिक्षण दिइरहेको सुन्न सकिन्छ । अध्ययन प्रतिवेदनले समेत चालक दलको कमजोरीले दुर्घटना भएको भनेको छ ।
चालक दलको कमजोरी : अध्ययन प्रतिवेदन
विमान उडाइरहेका पाइलटले त्रुटिपूर्ण रूपमा दुवै ‘कन्डिसन लिभर’ तान्दा इन्जिन बन्द भई दुर्घटना निम्तिएको हुन सक्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।
जहाज चलाइरहेको कोपाइलटले ‘फ्ल्याप-३०’ भन्दा ‘इन्स्ट्रक्टर पाइलट’ले दुवै कन्डिसन लिभरहरू तानेको हुन सक्ने सम्भावित कारण देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसरी पाइलटले दुवै कन्डिसन लिभरहरू तानेपछि जहाज ‘फेदर पोजिशन’मा गएको र अगाडि बढ्न नसकेको कारण खसेर दुर्घटना भएको हुन सक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ ।
चालकले झुक्किएर ‘कन्डिसन लिभर’हरू तानेको हुन सक्ने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनाअघि पाइलट कमल र कोपाइलट अन्जुबीच भएको कुराकानीले पनि त्यो बुझ्न सकिन्छ ।
जहाज प्राविधिक कारणले नभई मानवीय (पाइलट)को त्रुटिका कारण दुर्घटनामा परेको अयोगले निष्कर्ष निकाल्दै जहाजले जम्मा २८ हजार सात सय ३१ घण्टा ३३ मिनेट उडान भरेको पाइएको जनाएको छ ।
एटीआर फ्रान्सः एभियसन डी ट्रान्सपोर्ट रिजिनल तथा इटालियनः एयरी डी ट्रान्सपोर्ट रिजिनलले उत्पादन गरेको उक्त जहाज ३० हजार एक सय चार साइकल उडेको आयोगको प्रतिवेदनमा उल्लेख गरेको छ ।
जहाजको नियमित चेकजाँच, सर्भिसिङको समय सन् २०२३ अप्रिल २४ सम्म रहेकामा समयअगावै प्राविधिक समस्या नरहेको जनाउँदै १४ जनवरी, २०२३ मा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जहाज उडानका क्रममा दुवै इञ्जिनका प्रोपेलरहरु फेदरमा गएपछि तत्काल गतिशीलता दिन नसक्दा जहाज दुर्घटना परेको अध्ययन समितिको निष्कर्ष छ ।
प्रतिवेदनमा जनाइएअनुसार जहाज अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिविलिटी तथा प्राविधिक पक्ष राम्रो रहेको थियो ।
दुर्घटनाअघि ककपीटको कुराकानी
पाइलट : अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ । अहिले फाइभ थ्री भएपनि टेरेन (डाँडा) आउँदैन रछ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला । अब हेयरिङ मोड तिर जाऔं अलिक राइट तिर बस यसले ठिक लादैन राइट हेरियङ थीवानजिरो हेयरिङ ।
कोपाइलट : हजुर ।
पाइलट : वान् वान् फाइभ छ । त्यहाँ त्यसमा चाँही बल्ल सेटल हुन्छ रनवे वान्टू जिरो चाँही वान् वान् फाइभमा सेटल हुन्छ ।
कोपाइलट : ए…ए…
पाइलट : झर्दै जाउँ फोर वान्सम्म झरे हुन्छ । अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा ।
कोपाइलट : ए… हुन्छ हुन्छ ।
पाइलट : तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।
कोपाइलट : हो हो गरेको हो ।
पाइलट : त्यो पासमा थ्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है । ऊ त्यहाँ रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्यान्ड डाउन, ए लेफ्ट ह्यान्ड डाउन ।
पाइलट : पुरानो एयरपोर्टमा बेस बनाउ है ।
कोपाइलट : बेस बनाउनुपर्यो ?
पाइलट : हजुर, टू टूलाई बेस बनाएर भीओआर हेर ।
कोपाइलट : अँ । भिजुवल…
पाइलट : त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है ।
पाइलट : फोर फाइभ, १७० स्पिड ठिकै छ ।
कोपाइलट : हजुर ।
पाइलट : अ ठ्याक्क त्यो डाँडामा ।
कोपाइलट : ओके ।
पाइलट : धेरै जनालाई गराइसकेँ । कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्लि मर्निङमा चाहिँ डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ । त्यतिले मात्र हो ।
कोपाइलट : अब यो ५ माइल्सबाट चाहिँ झर्ने । होइन त अब ?
पाइलट : ओके । डाउन टू थ्री थाउजेन्ड । फाइनलमा चाहिँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ ।
(टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्)
पाइलट : पोखरा एति एयरलाइन्स सिक्सनाइनवान । ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु ।
(ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)
पाइलट : त्यो दुईवटा डाँडाको बीचमा ल्याउँ है । थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ । धेरै टेरेन आएको आइगर्छ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला उ त्यो चाँही हो त्यो ठूलो । डाँडाको अलि यता । धेरै लङ बनाउन खोज्यौं भने त्यो टावर तिर पुग्छ नि फेरि । त्यता जानु हुँदैन ।
पाइलट : ओके अब डाउन ।
कोपाइलट : अब म्यानुअल लिने हो सर ?
पाइलट : ए पर्दैन । एकछिन ठिकै छ । सिधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाँही म्यानुअल ।
केही सेकेन्डपछि ।
पाइलट : ल अब यहाँबाट चाँही म्यानुअल लिए हुन्छ ।
(ककपिटमा टुँ‘टुँ.. आवाज आउँछ ।)
कोपाइलट : ओके ।
पाइलट : फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाउँ है ।
पाइलट : रेडि फर ल्यान्डिङ । ल्यान्डिङ गियर‘
कोपाइलट : डाउन ।
पाइलट : फ्लाप्स
कोपाइलट : थर्टी ।
पाइलट : ट्रान्समिसन
कोपाइलट : टेकअफ
(अस्पष्ट निर्देशन र जवाफ)
पाइलट : एक्सटर्नल लाइट ।
कोपाइलट : अन ।
कोपाइलट : के आयो ?
पाइलट : हेर ।
कोपाइलट : एयर लिफ्ट भनेर आइरहेको छ ।
(ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।)
कोपाइलट : कन्टिन्यु टर्न होइन ?
पाइलट : हो ।
पाइलट : यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै ।
कोपाइलट : तलै जानु परो ?
पाइलट : होइन होइन तल होइन । यो यत्तिकै ठिक छ पावर हाल है ।
कोपाइलट (आत्तिँदै) : पावरै आएन । (झन् डराउँदै) पावरै आएन त ।
(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)
पाइलट : पावर.. अगाडि हाल्नु परो नि !
कोपाइलट (डराउँदै) : आएन सर, टर्क नै आएन के सर ।
पाइलट : यता जाउ त ।
कोपाइलट : यो डुअल ल्यान्डिङ है सर ।
पाइलट : हँ ।
कोपाइलट : टर्क नै आएन के सर । यो आउनुपर्ने नि त टर्क यतातिर के सर । ओके..
पाइलट : के भयो ?
(जहाजमा खतराको संकेत टुँ..टुँ..टुँ..टुँ’ आवाज आउँछ )
आकककक (कोपाइलट चिच्याएको आवाज आउँछ)
त्यसपछि विमान सेती नदी खोँचको डिलमा खस्छ ।
Facebook Comment
Comment