कसरी बन्छन् पत्रु नेता ?

आज हाम्रा नेताहरूको हातमा सत्ता त छ तर, बाँकी केही पनि छैन । नेतासँग केही पनि नहुनु नै उनीहरूको व्यक्तित्वका लागि सबैभन्दा दुखद् अवस्था हो । 

कसरी बन्छन् पत्रु नेता ?

हाम्रो राजनीतिको मेसिन यस्तो छ कि ‘गौतमबुद्ध छिरायो भने शोभराज बनेर निस्कन्छ’ ।

नेपाली राजनीतिको आजको अँध्यारो र मैलो चित्र यही हो । हाम्रा नेताहरूको व्यक्तित्वको विरोधाभास हेर्दा मनमा प्रश्न आउँछ, मान्छे यतिसारो निर्लज्ज, छट्टु, पिपलपाते र पत्रु हुन्छ कसरी ?

आज एउटा कुरा गरेको छ, भोलि अर्कै । आज एउटासँग मित्रता गरेको छ, भोलि अर्कै । निरन्तर घात र प्रतिघात । आज एउटा अडान लिएको छ, भोलि त्यसको ठीकविपरीत । बाहिर एउटा मान्छे, भित्र अर्कै मान्छे । बाहिर सुशासन, भित्र दलाली । बाहिर समाजवाद, भित्र व्यक्तिवाद । न त निष्ठा, न त नैतिकता ।

मनमा प्रश्न आउँछ, मान्छेको व्यक्तित्व यतिधेरै विरोधाभासपूर्ण र लम्फु हुन्छ कसरी ?

व्यक्तित्वको बनोट

मान्छेको व्यक्तित्व निर्माणमा धेरै विषयहरूले प्रभावित गर्दछन् । तर, सबैभन्दा महत्त्वपूर्ण हुन आउँछन्, मान्छेले प्राप्त गरेको आनुवंशिकता, बाल्यकालीन परिवेश, समाजिकीकरणको (राजनीतिकरण) प्रक्रिया, उसले देखेको र भोगेको जीवन पद्धति र संस्कृति, व्यक्तिको शिक्षा, अनुभव र अनुभूतिहरू, उसको मानसिक र शारीरिक अवस्था र उत्प्रेरणा र संवेगात्मकता ।

तथ्यहरू भन्छन्– मान्छेको व्यक्तित्वमा अनुवंशिकता अथवा ‘जेनेटिक्स’ निकै महत्त्वपूर्ण हुन्छ । किन भने आनुवंशिक संरचनाले (डीएनए) व्यक्तित्वका धेरै पक्षहरूलाई निर्धारण गर्छन् । डीएनए नाम गरेको त्यो सानो तत्त्वमा मान्छेको व्यक्तित्व निर्माण गर्ने यस्तो प्राकृतिक शक्ति हुन्छ, जसले व्यक्तिको चरित्रलाई आकार दिन्छ र प्रत्येक मान्छेलाई अरुभन्दा अलग बनाउँछ ।

जस्तो, कोही मान्छे जन्मजात नै उत्साही वा शांत वा आत्मविश्वासी हुन सक्छ । कोही अस्थिर हुनसक्छ । कोही चञ्चल हुनसक्छ र कोही शङ्कोची हुनसक्छ । कोही हिम्मतिलो हुनसक्छ, कोही डरपोक । यो प्राकृतिक कुरा हो । प्रश्न आउँछ, त्यसोभए के मान्छेको व्यक्तित्व पूरापुर प्राकृतिक हो ? होइन । तर, यो निश्चित हो कि साधारणतः आनुवंशिक चरित्रलाई बदल्न सकिँदैन । तर, यसलाई फरक ढङ्गले आकारदिन र व्यवस्थापन गर्न सकिन्छ ।

मान्छेको व्यक्तित्व पूरापुर प्रकृतिक कुरा होइन । त्यसैले, आनुवंशिकता पछी मान्छेको व्यक्तित्वलाई सबैभन्दा धेरै प्रभाव पार्छ, उसको समाजिकीरण र राजनीतिकरणले । व्यक्तिको बाल्यकालदेखिको परिवेश, व्यक्तिले देखेको र भोगेको उतारचढाव, सुख-दुःख, हेलाहोचो र उसको वरिपरिको जीवन संस्कृति, व्यक्ति स्वयम्‌का अनुभव र अनुभूतिहरू, व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्योवस्था अवस्था, उसको उत्प्रेरणा र संवेगात्मकता आदि धेरै कुराले मान्छेको व्यक्तित्वलाई प्रभावित गर्दछन् ।

गाँउघरमा भनिन्छ– ‘मान्छेलाई चिन्न उसको सङ्गत चिन्नुपर्छ’ । यसको अर्थ के भने व्यक्ति स्वयम् कस्ता मान्छेसँग उठबस गर्छ, कस्ता मान्छेसँग रमाउँछ ? कुन व्यक्ति कस्तो स्कुलमा गयो, कस्तो शिक्षा-दीक्षा पायो ? उसको घर-परिवार र सरसङ्गत के थियो ? यावत् प्रश्नहरू व्यक्तिको जीवनमा आउने ज्यादै महत्त्वपूर्ण प्रश्न हुन् ।

यहाँ स्कुल भनेको कुनै औपचारिक स्कुल होइन । बरु उसको औपचारिक वा अनौपचारिक शिक्षालय कस्तो थियो भन्ने हो ।

त्यसो त व्यक्तिको व्यक्तित्वमा संस्कृतिक पक्षहरू पनि निकै महत्त्वपूर्ण हुन्छन् । किन भने कुनै विशेष समाज वा समुदायका मूल्यहरू, परम्पराहरू, र विश्वासहरूले मान्छेको व्यक्तित्वलाई प्रभावित गरिरहेका हुन्छन् । साथसाथै, व्यक्तिको व्यक्तित्व निर्माणमा उसको मानसिक स्वास्थ्यको पनि ठूलो भूमिका हुन्छ । यसैमा मान्छेले गर्ने भावनात्मक प्रतिक्रियाहरू अथवा ‘ईमोसनल रियाक्सन्स’ पनि पर्दछन् ।

त्यसो त मान्छेको व्यक्तित्वलाई निकै धेरै प्रभावितक गरिरहेका हुन्छन्, उसका उत्प्रेरणा र लक्ष्यले । तर, उत्प्रेरणा र लक्ष्य नै के हुने यो छनोट गर्न मान्छेलाई सघाउँछन्, उसको परिवेश र सामाजिकीकरणको प्रक्रियाले ।

अर्थात् संसारिक जीवनसँगको क्रिया, प्रतिक्रियामा व्यक्तिले के सिक्यो ? जीवनमा ठोकिन आएका विभिन्न घटना, सफलता र असफलतालाई व्यक्तिले कसरी लियो ? त्यसबाट उसले हासिल गरेका शिक्षा, ज्ञान र अनुभवहरू के-कस्ता छन् ? यी व्यक्तिअनुसार फरक हुन्छन् र त्यसले व्यक्तिको व्यक्तित्वलाई अलग ढङ्गले आकार दिन्छन् ।

अथवा भनौँ, समाजले व्यक्तिसँग गर्ने क्रियामा उसको आन्तरिक र बाह्य प्रतिक्रियाहरू कसरी प्रकट हुन्छन्, त्यसरी नै मान्छेको व्यक्तित्व बन्दै जान्छ । तर, व्यक्तित्व निर्माणमा एउटा कुरा मात्र निर्णायक हुँदैन । यसरी हेर्दा थोपा-थोपा गर्दै पानीको धारा बनेजस्तै, अनेक स-साना चिजहरू मिलेर मान्छेको समग्र व्यक्तित्व निर्माण हुन्छ र मान्छे अरुभन्दा अलग बनेर प्रकट हुन्छ ।

नेताको विरोधाभास

अब कुरा गरौँ नेताहरूको । जस्तो हाम्रा केही नेताहरूको नाम मनमनै स्मरण गरेर विचार गरौँ त,  उनीहरू कसरी यस्ता छट्टु, पिपलपाते, विरोधाभासपूर्ण र भरोसाहीन भए ? कसरी भ्रष्ट, लोभी र पतीत भए ? कसरी क्षमताहीन र लम्फु बने ?

माथिकै सन्दर्भबाट हेर्दा यसकारण उनीहरू यस्ता भए कि उनीहरूको सामाजिकीकरणको (राजनीतिकरण) प्रक्रियामा यथेष्ट कमजोरी भए, त्यसैले उनीहरू कामै नलाग्ने बनेर निस्किए । अर्थात् उनीहरू यसकारण यस्ता लम्फु भए कि उनीहरूको सङ्गत गतिलो भएन । उनीहरूको स्कुल गतिलो भएन । उनीहरूलाई प्रश्न सोध्ने कार्यकर्ता गतिला भएनन् । उनीहरूले पढ्ने किताब गतिला भएनन् । उनीहरूको सपना गतिलो भएन । उनीहरूको प्रेरणा र लक्ष्य गतिलो भएन ।

सोचौँ त, उनीहरूका गुरु को छन् ? उनीहरूको प्रेरणाको श्रोत के छ ? उनीहरूको अभिष्ट के छ ? उनीहरू कस्ता कार्यकर्ता बीचमा बस्छन् ? उनीहरूको सचिवालय कस्तो छ ? उनीहरूको दैनिक उठबस कोसँग हुन्छ ?

सबैलाई थाहा छ, हाम्रा नेताहरू बितेका अनेकौं दशकदेखि यस्ता मान्छेबाट घेरिएर बसेका छन्, जहाँ ज्ञानको विमर्श हुँदैन । प्रश्न उत्तर हुँदैन । आलोचना हुँदैन । निष्ठा र नैतिकताको कुरा हुँदैन । जहाँ सिक्न आवश्यक नै ठानिँदैन । वरिपरि या त दासहरू छन्, या त दलालहरू छन् । जो ख्वामितको भुत्ते ज्ञानलाई दिव्य ज्ञान ठानेर त्यसैको दलाली गरिरहन्छन् ।

विचार गरौँ त, यस्तो माहोलमा हाम्रा नेताहरूको व्यक्तित्व कस्तो बन्छ ? जसले जीवनमा षड्यन्त्र भन्दा धेरै केही गरेनन् तर, देखिनुपरेको छ भयङ्कर इमान्दार । जसले जीवनमा भत्काउनुलाई नै राजनीति बनाए । तर, गर्नुपरेको छ निर्माणको कुरा । जसले जीवनमा पैसा कमाउन अनेक गरे तर, देखिनुपरेको छ शुद्ध । जसले बिहान उठेदेखि मध्यरातसम्म षड्यन्त्र, अङ्कगणित र जालझेलबारे मात्रै सोच्नुपर्छ र बिहान उठेर नैतिकताको भाषण गर्नुपरेको छ । योभन्दा ठूलो विरोधाभास के हुन्छ ?

स्वभावतः मान्छेको ज्ञानले उसलाई विवेक दिन्छ । विवेक भएको मान्छेलाई लाज-शरम हुन्छ । तर, जब ज्ञान नै छैन, उसँग विवेक हुँदैन । विवेक नभएपछि लाज हुँदैन । लाज नभएपछि त्यो मान्छे अनेक रूपमा उभिएर चटक गर्छ । अर्थात् लाज, नैतिकता र निष्ठा नभएको मान्छे राजनीतिका हुने नै ठ्याक्कै यस्तै हो, जस्तो आज हाम्रा नेताहरू छन् ।

यो पुराना पार्टी र पुराना नेताहरूको विरोधाभासको कुरा मात्र होइन, नयाँ भनिएका पार्टी र नेताहरूको व्यक्तित्वको विरोधाभास पनि पुरानाभन्दा फरक देखिँदैन । कसरी यस्तो हुन गयो भनेर विचार गर्ने हो भने, ठ्याक्कै त्यही पुगिन्छ, जहाँबाट पुराना नेताहरूको स्खलन सुरु भयो ।

स्वयम्‌भित्रको सङ्घर्ष

नेताको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण हुन जान्छन् चार कुरा । पहिलो, उसको राजनीतिकरणको प्रक्रिया । दोश्रो उसको जीवन आदर्श र निष्ठा । तेश्रो, आफ्ना आदर्शहरूप्रति उसको अतुलनीय समर्पण । चौथो, उसले देश र नागरिकका लागि दिएको योगदान ।

भनिन्छ कि ‘नेताको व्यक्तित्व स्वयम्‌भित्रका विरोधाभासहरूको अन्तर्विरोध र एकताबाट निर्माण हुन्छ’ । जस्तो, मान्छेसँग दैनिक जीवन सङ्घर्षमा ठोकिन आउने अनेकौं घटनाहरूले उभित्र माया, प्रेम, सद्भाव आदि सद्गुणहरू मात्र निर्माण गर्दैन, रिस, आवेग, प्रतिशोध, लालसा, तिर्सना र अतृप्तिहरू पनि सँगसँगै निर्माण गरिरहेको हुन्छ ।

जस्तो, एउटा किसान मालिकको ज्यादतिविरुद्ध लडिरहँदा उभित्र मुक्तिको चाहना त प्रबल हुन्छ नै, सँगै ‘म मालिक भएँ भने’ भन्ने प्रतिशोधी भावना पनि सँगै हुर्किरहेको हनसक्छ । एउटा विद्रोही युवक विद्रोहमा सरिक हुँदा ऊ उदात्त स्वतन्त्रताको नेतृत्व मात्र गरिरहेको हुँदैन, उभित्र एक शक्तिशाली नायक बन्ने तृष्णा पनि सँगै हुर्किरहेको हुन सक्छ । केटाकेटीलाई ठूलो मान्छेले कान निमोठ्दा उभित्र निर्माण हुने प्रतिक्रिया हामीले सुनेका छौँ ? ‘पख म तलाई ठूलो भएपछि देखाइदिन्छु’ ।

द्वन्द्वको बेला माओवादीहरूको मुखैमा थियो– ‘सिंहदरबारमा लालझण्डा गाडिन्छ’ । यो आफैँमा आफ्नो प्रभुत्व निर्माण गर्ने लोभ थियो । त्यो समय माओवादीहरू भाषणमा भन्ने गर्थे, “जनयुद्ध सफल भयो भने सहरका ठूलाघर मजदुर किसानका हुनेछन्’ । यसो भन्नुको एउटा आशय अवश्य नै न्याय हो । तर, अर्को हो स्वयम्‌मा निहित लोभ, मोह, तृष्णा र प्रतिशोधको अभिव्यक्ति ।

एउटा मान्छे जातीय एकाधिकारविरुद्ध लडिरहँदा उभित्र कुनै अमूक जात विरोधी भावना त जागृत हुन्छ नै, सँगसँगै आफू एउटा शक्तिशाली जातको नायक बन्ने तृष्णा पनि हुर्किरहेको हुनसक्छ । जातीय मुक्ति आन्दोलनका नायकहरू जातवादी भएको हामीले यत्रतत्र देखेकै छौँ ।

यस्तो यसकारण हुन्छ कि एउटा विद्रोहीसँग विद्रोहको चेतनासँगै दमित बसेको हुन्छ, निजी सुखको सपना र तृष्णा । प्रतिशोध, यी विपरीत सपनाहरूले मान्छेभित्र निरन्तर द्वन्द्व मच्चाइरहन्छन् । त्यो द्वन्द्वमा कहिले सकारात्मकता प्रबल हुन्छ, कहिले नकारात्मकता । जोसँग आफैँभित्रका नकारात्मकता र विरोधाभाससँग जुध्ने आत्मगत शक्ति प्रबल हुन्छ, ऊ जोगिन्छ । जोसँग लड्नका लागि सकारात्मक ऊर्जा र आत्मगत शक्ति कमजोर हुन्छ, ऊ दोग्ला र पत्रु बनेर निस्किन्छन् ।

मान्छे यसरी नै पलपल अन्तरिक द्वन्द्व व्यक्तित्वको टकरावमा गुज्रिरहेको हुन्छ । जो स्वयम्‌लाई पत्तै हुँदैन । कुनै बेला जब मनभित्र सुषुप्त रहेको मालिक (राजा वा विशेष मान्छे बन्ने सपना) बेलगाम हुन थाल्छ र मान्छेसँग त्यसलाई नियन्त्रण गर्ने आत्मगत शक्ति हुँदैन, तब नेता बिग्रन्छ । यो अर्थमा नेताका लागि उसको व्यक्तित्व निर्माणको एक प्रमुखः शक्ति हो स्वयम्‌लाई नियन्त्रण गर्ने आन्तरिक शक्ति ।

यसैगरी, मान्छेको व्यक्तित्वमा देखा पर्ने विरोधाभासको अर्को कारण हो, ‘रूप र चरित्रको बेमेल’ । मान्छेले समाजका अगाडि देखाउनुपर्ने रूप एउटा छ, आफैँभित्र निर्माण भएको चरित्र छ अर्कै । रूप र चरित्रको यो विरोधाभासले मान्छेको व्यक्तित्वलाई भयङ्कर दोग्ला बनाउँछ ।

उदाहरणका लागि हाम्रा नेताहरूलाई नै हेरौँ । जस्तो देखिनुपरेको छ भयङ्कर ज्ञानी । तर, ज्ञानको धोक्रो खाली छ । जसले जीवनमा बेइमानीभन्दा धेरै केही गरेनन् तर, देखिनुपरेको छ भयङ्कर इमान्दार । जसले जीवनमा षड्यन्त्रलाई नै राजनीति बनाए तर, गर्नुपरेको छ विचार र मुद्दाको कुरा ।
जसको मन पैसा, सत्ता र शक्तिको लोभ, मोह र तृष्णाले भरिएको छ तर, देखिनुपरेको छ इमान्दार । जसका वरिपरि बिचौलियाहरू मात्र छन् तर, देखिनुपरेको छ भयङ्कर साधु । दुनियाका अगाडि क्रान्तिकारी देखिनु छ तर, त्यही क्रान्तिको भारी बोक्न जोसँग काँध छैन ।

जसले बिहान उठेदेखि मध्यरातसम्म अङ्कगणित र जालझेल सोच्नुपर्छ र गर्नुपर्छ नैतिकताको भाषण । अर्थात् मान्छे जब आफ्नै सार्वजनिक छवि र चरित्रको विरोधाभासले किचिन्छ, निस्किन्छ बडो दोग्ला भएर ।

यसैगरी, जब व्यक्ति स्वयम्‌का सपना र महत्त्वकाङ्क्षा पूरा गर्न उसँग भएको क्षमताले पुग्दैन, यस्तो बेला नेतृत्व असन्तुलित बन्न पुग्छ अर्थात् जब व्यक्तिका सपना र उसका सीमाहरू फरक पर्दछन्,  व्यक्ति भयङ्कर दोग्ला, बहुरुपी र खतरनाक बनेर निस्किन्छ ।

जस्तो उदाहरणका लागि महत्त्वकाङ्क्षा छ प्रधानमन्त्री बन्ने, क्षमता छ दलालको । तब के हुन्छ ? यस्तो बेलामा व्यक्ति भयङ्कर चटक गर्न पुग्छ र बन्छ विरोधाभासको पोको । यस्तो बेला आफ्नै सपना र सीमाहरूबीचको दबाब झेल्न व्यक्तिले अनेक अप्राकृतिक उपाय सुरु गर्छ । गुट बनाउँछ । भ्रष्टाचार गर्छ । दलाली गर्छ । षड्यन्त्र गर्छ । लेनदेन गर्छ । यसरी नेतृत्व भयङ्कर भ्रष्ट र चरित्रहीन बनेर निस्किन्छ ।

अर्थात् मान्छेको मखुण्डो विस्तारै विस्तारै च्यातिँदै जान्छ र प्रकट हुन्छ एक कुरुप अनुहार । बुझ्नुपर्ने कुरा के छ भने साधारण मान्छेभित्र निहित विरोधाभास, अन्तरद्वन्द्व, लोभ, मोहको नियन्त्रण सामाजिक मूल्यमान्यता, निष्ठा, अनुशासन र कानूनले गरिरहेका हुन्छन् । तर, जब नेताको कुरा आउँछ, उसलाई नियन्त्रण गर्ने सामाजिक बन्धन र कानूनहरू उभन्दा कमजोर बन्न पुग्दछन् । अतः नेताले कानूनबाट नभइ आफ्नै निष्ठा र नैतिकताको कसीबाट आफूलाई पवित्र बनाउने प्रयत्न गर्नुपर्छ ।

खासमा नेतासँग स्वयम्‌भित्रको लोभ, मोह र स्वार्थसँग द्वन्द्व गर्ने र विजयी हुने शक्ति प्रबल हुनुपर्छ । नेता भनेको आफ्ना दुविधाहरूमाथि विजयी हुने यस्तो व्यक्तित्व हो, जो स्वयम्‌भित्र लडेर विजय प्राप्त गर्ने योग्यता राख्छ ।

भन्नु पर्दैन कि आत्मसंयम, आत्मचेतना र साधनाले मात्र मान्छेले आफूभित्रका दुर्गुणमाथि विजय प्राप्त गर्छ । यो अर्थमा नेतासँग हुनुपर्छ आफू जलेर स्वच्छताको परीक्षण गर्ने योग्यता ।

आजलाई अन्तिम कुरा के भने कुनै नेता कतिपटक कुन पदमा पुग्यो, त्यो महत्त्वपूर्ण हुँदैन ।  महत्त्वपूर्ण हुन्छ, आफ्नै व्यक्तित्वलाई जोगाउन उसले गरेको आफैसँगको सङ्घर्ष कस्तो थियो । राजनीतिमा निष्ठा, नैतिकता र गरिमा रहेन भने नेताको व्यक्तित्व रहँदैन र त्यसपछि उसँग केही पनि रहँदैन ।

आज हाम्रा नेताहरूको हातमा सत्ता त छ तर, बाँकी केही पनि छैन । नेतासँग केही पनि नहुनु नै उनीहरूको व्यक्तित्वका लागि सबैभन्दा दुखद् अवस्था हो ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved