काठमाडौं । कांग्रेसले चार जना मन्त्री नाम टुंगो लगाउन नसक्दा कोशी प्रदेश सरकार विस्तार हुन सकेको छैन । कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेसँगै सरकार विस्तारको काम धकेलिएको हो ।
कोशीमा कांग्रेसले ४ वटा मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा कांग्रेसले मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन ।
कांग्रेसले पाएका ४ मध्ये कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूहबाट पनि मन्त्री बनाउनु पर्ने भएपछि गुटगत समस्याले थप अन्यौल बढेको छ ।
सिटौला र कोइरालाले एक – एक जना मन्त्रीको दाबी गरेका छन् ।
प्रदेशमा २९ सांसद रहेको कांग्रेसका तीनवटा समूहमा आकांक्षीको लर्काे पनि उत्तिकै छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मन्त्रीको नामका लागि केन्द्रको निर्णय पर्खिएको बताए ।
सभापति देउवा समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेन्द्रसिंह हाङ्गामलगायत सांसद मन्त्रीका लागि दौडधुप गरिरहेका छन् । सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई आकांक्षी देखिएका छन् ।
कोइराला समूहबाट भने गोविन्द गिरी, मानबहादुर राई, समशेर राई, इन्दीरा थापालगायत नेताको दौडधुप चलेको छ । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका लागि भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय छुट्याएका छन् ।
चार मन्त्रालयसहित दुई राज्यमन्त्री कांग्रेसले पाउने सहमति भएको छ । मुख्यमन्त्रीसहित चार मन्त्रालय एमालेको भागमा परेको छ ।
यसैबीच नेपाली कांग्रेस प्रदेश समितिले आज बैठक बोलाएको छ । बैठकले एमाले नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय मात्रै गर्ने बताइएको छ ।
मन्त्रीको नामका विषयमा भने प्रदेश समितिले निर्णय गर्न नसक्ने बताएको छ । यता, सरकार विस्तारका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की भने कांग्रेसले पठाउने नाम पर्खिएर बसेका छन् ।
Facebook Comment
Comment