भोजपुरीभन्दा छाडा तीजगीत: अश्लील गीतको प्रतिस्पर्धामा शान्तीश्रीदेखी राजेश हमालसम्म

यी गीतको भाकामा तीजको छनकै मिल्दैन । कतिपयमा तीजको भाका मिले पनि शब्दमा तीजको मर्म उनिएको पाइँदैन । नृत्यमा तीजको स्वाद फेला पर्दैन । अझ उत्तेजक, द्विअर्थी र अश्लील शब्द थोपरिएको छ । उच्छृंखल भिडिओ बनाइएको छ, जसले तीजकै धज्जी उडाइरहेका छ ।

भोजपुरीभन्दा छाडा तीजगीत: अश्लील गीतको प्रतिस्पर्धामा शान्तीश्रीदेखी राजेश हमालसम्म

मायाको पोको चोखो छ चोखो, बेअघि दिन्न म लरीलरीलाई

बेपछि जम्मै फुकाउने धोको, मेरो हुनेवालालाई दिउँला बरीलाई ।

 

झ्याप्प झ्याप्प झ्याप्प समाइदेऊ च्याप्प, गाह्रो भो मलाई

गुलेली तन्कियो, गाउँमा मादल रन्कियो, नाच्यो पुतली ।

 

बल लाएरै हो केटा, बल लाएरै हो 

टिकटकमा भाइरल त हल्लाएरै हो ।

 

अहिले यस्तैयस्तै रत्यौली पाराका गीतका भिडिओले युट्युब ‘राताम्य’ भएको छ । केही सातायता मात्र दर्जनौँ यस्ता गीत अपलोड भएका छन्, तीज गीतका नाममा ।

तर, यी गीतको भाकामा न कुनै तीजको छनकै मिल्छ न कुनै पारा नै । कतिपयमा तीजको भाका मिले पनि शब्दमा तीजको मर्म उनिएको पाइँदैन । नृत्यमा तीजको फ्लेबर फेला पर्दैन । अझ उत्तेजक, द्विअर्थी र अश्लील शब्द थोपरिएको छ । उच्छृङ्खल भिडिओ बनाइएको छ ।

लाग्छ, यी रत्यौली र जात्रा मात्रामा गाइने जस्ता गीतहरूले तीजकै धज्जी उडाइरहेका छन् । दु:खको कुरो त यी काममा समाजका रोडमोडल मानिने चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियारदेखी महानायक राजेश हमाल सहभागी देखिन्छन् ।

तीजको नाममा भोजपुरी जस्तै अश्लील गीत निकाल्ने भड्किलो श्रृखलामा चल्तापूर्जादेखि नव–प्रवेशीहरुको ठूलो झुन्ड छ । अपवाद बाहेक अधिकांश गीतमा तीजको मर्म समेटेको पाइँदैन । तीज गीतको द्विअर्थी शब्दावली राखेर बेसुरमा स्वर घुमाइएको छ ।

मायाको पोको

‘मायाको पोको चोखो छ चोखो, बे अघि दिन्न म लरीलरीलाई

बेपछि जम्मै फुकाउने धोको, मेरो हुनेवालालाई दिउँला बरीलाई ।’

चर्चित गायक भागिरथ चलाउने र कविता खत्रीको स्वरको ‘दिउँला बरीलाई’ गीतमा परम्परागत रूपमा समेटिने चेलीको भावना छैन ।

गीतले तीजको भावनाभन्दा पनि केटाकेटीको प्रेमको छाडा बैँसको उत्ताउलोपनको भाषा बोलेको छ ।

गीतको भिडिओले पनि तीजको परम्परा धान्नेभन्दा विकृति बढाउने तर्फ लागेको छ । २ साताअघि सार्वजनिक भएको गीतमा लोमश शर्मा र बिना राउत भिडिओमा देखिएका छन् ।

समाइदेऊ च्याप्प, गाह्रो भो मलाई

तीजसँग माइती जोडिन्छ तर, तीज गीत माइतीसँगै बस्न र सुन्न नमिल्ने भयो भने के होला रु हो, त्यो अवस्था यसपालिको तीजमा हुनेछ, किनकि टिभीमा तीज गीत आउँदा तीज मनाइरहेका आफन्त भाग्नुपर्ने वा टीभी बन्द गर्नुपर्ने आउन सक्छ । नपत्याए हेर्नुहोस् त यस्तो त छ गीत ।

‘गुलेली तन्कियो, गाउँमा मादल रन्कियो

के भयो कुरो त खाने हो चुरोट, कहाँ छ सलाई

झ्याप्प झ्याप्प झ्याप्प समाइदेऊ च्याप्प, गाह्रो भो मलाई

गुलेली तन्कियो, गाउँमा मादल रन्कियो, नाच्यो पुतली ।’

विशाल सोनी र शान्ति श्री परियारको स्वरमा रहेको गीतले तीज गीतमा विकृति थप्न सघाएका छन् । महानायक राजेश हमाल, गायक विशाल सोनी र कुमारी बराइलीलगायतले नाचेको गीतले तीज चाडलाई न्याय गर्दै गर्दैन ।

अहिले अभिनेता राजेश हमालको हातमा अहिले एउटा पनि फिल्म छैन । ठूलो लगानीमा बन्ने भनिएको फिल्म ‘सत्यम्’ पनि बन्ने छाँटकाँट नभएपछि उनले नयाँ फिल्म साइन गरेका छैनन् । काम नपाएपछि यस्ता उत्ताउलो भिडिओमा नाच्न थालेका देखिन्छन् ।

बारुलो कुन दुलामा पस्यो ?

‘यो मेरो जवानी तर्काइदेऊ 

बैँसको प्यास मेटाइदेउ

हेरन मलाई बारुलाले डस्यो

खै त बारुलो कुन दुलामा पस्यो ?’

अर्जुन सापकोटा र समीक्षा अधिकारीले गाएको गीतमा करिष्मा ढकाल र ओबी रायमाझी नाचेका छन् । कलाकार देशका ठूला सम्पत्ति र पहिचान हुन् । तर, समीक्षा अधिकारीलगायत चल्तीका कलाकारको यस्तो हावादारी गीतले तीजको महत्त्व कसरी दर्साउला ?

 

मलाई बिस्ताराले पोल्यो

‘फोनमै माग्ने पप्पी, कति सारै नट्टी

मनले के के सोच्यो मलाई सिरानीले घोच्यो

काले के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो ।’

शान्ति श्री परियार र हरि गिरीको स्वरमा रहेको यो गीतको भिडिओमा सञ्चिता बालाखे र रमेश विश्वकर्माको नृत्य छ । जुन भिडिओ परिवारसँग बसेर नसकिने खालको भएकै कारण  गीतले चर्चाभन्दा बढी आलोचना खेपेको छ । आरोप छ – ‘नकारात्मक सन्देश र अश्लीलता फैलायो ।’

 

टिकटकमा भाइरल हल्लाएरै हो

‘बल लाएरै हो केटा, बल लाएरै हो 

टिकटकमा भाइरल त हल्लाएरै हो ।

टिकटकमा भाइरल त हल्लाएरै हो ।’

मौलिक परम्परालाई बङ्ग्याएर ल्याइएको यो अर्को गीत हो । नयाँ कलाकारहरू अभिसेक माला र कमल रोका गाएको गीतमा भाइरल भएकाहरुलगायतलाई नचाइएको छ ।

तीज गीतको मर्मलाई बचाउने वा तीजलाई उल्लासमय बनाउने भन्दा पनि ‘गायक बन्ने’ र ‘भिडिओमा अनुहार देखाउने’ लोभले उनीहरूलाई कुतकुत्याएको प्रस्ट हुन्छ ।

तीन महिने सुई

लोग्ने विदेश छ भनेर फुई लाउँछे 

फेरि किन त्यस्तो बाजे तीन महिने सुई लाउँछे ।’

सधैँ विवादमा रहने गायिका प्रीति आलेको यो गीतले नेपाली महिलाको हदैसम्मको अपमान गरेको छ । गीतमा अश्लील हाउभाउ र बेढंगको प्रस्तुतिले ‘तीज गीत’माथि ठट्टा गरिएको छ ।

४० लाखभन्दा बढी हाराहारीमा युवा विदेशमा छन् । यो गीतले आम नेपाली महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै विरोध भएको छ । महिलाहरूका पीर, व्यथा र मर्मलाई गीतको रूपमा गाएर अभिव्यक्त गरिनुपर्नेमा उल्टै महिला हिंसा गरिएको छ ।

तीजको तिथी नजिकिएसँगै को भन्दा को कमको शैलीमा ‘तीज गीत’ रेकर्ड गर्ने, भिडिओ बनाउने र युट्युबमा अपलोड होड देखिन्छ ।

यसरी अपलोड भएका तीज गीत हेर्दा लाग्छ, भ्यूजकै लोभमा युट्युबबाट पैसा कमाउन गीत बनाइएको छ । तर, यस्तो उटपट्याङले ‘तीज गीत’ रत्यौलीभन्दा तल्लो स्तरमा झरेर भोजपुरी अश्लील गीत सरह बनेका छन् ।

थोरै छन् मौलिक गीत

तीज गीत, तीज पर्वका अवसरमा महिलालाई केन्द्रमा राखेर मूलतः महिलाद्वारा गाइने गीत हो । लोक परम्परामा बाँचेका गीत नारीहरूको सामाजिक इतिहासका दस्ताबेज पनि हुन् । गीतमा बिहे गरेर गएपछिका दुख, वेदना समेटिएका हुन्छन् ।

घरपरिवारबाट भोगेका थिचोमिचो र त्यसबाट सिर्जित दर्दहरूको वर्णन हुन्छ । यसैले तीज गीत परम्परामा जकडिएका महिलाको मुक्तिका निम्ति बाहिरको संसार चियाउने एउटा मौसमी आँखीझ्याल पनि हो ।

तर, यो वर्ष महिलाहरूको वेदना पोख्ने, महिला सशक्तीकरणको आवाज उठाउने तीज गीत कमै मात्र आइरहेका छन् ।

भड्किलो तीज गीतले बजारमा दबदबा बनाइरहेको केही मौलिक गीतहरू राम्रो चलिरहेका छन् । शान्तिश्री परियारको स्वर रहेको ‘काली पसम की’ यतिबेला चर्चामा देखिन्छ ।  यी र अरू थोरै केही गीत भने मौलिक सुनिन्छन् । यसैले यो गीत ९ दिनअघि सार्वजनिक सो गीत युट्युबमा २० लाख हाराहारीमा भ्यूर्अस बटुल्दै युट्युब ट्रेन्डिङ १ मा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved