काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन आयोगमा दुर्घटनामा जिम्मेवार मानिएका मान्छेका आफन्त रहेको आरोप लगाएका छन् । यसकारण निष्पक्ष रूपमा छानबिन गर्नेमा आशङ्का व्यक्त गरे ।
आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानबिन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै उनले सो आयोगबाट निष्पक्ष छानबिन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताएका हुन् ।
सरकारले सो विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो ।
तर, पूर्व महानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानबिन गर्छ भनेर विश्वास गर्न नसकिने अध्यक्ष लिङदेनको जिकिर थियो ।
उनले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानबिनको जिम्मेवारी दिनेको गरेको भन्दै आपत्ति पनि जनाए ।
अध्यक्ष लिङ्देनले भने, ‘सो विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन ? भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् । उनका भिनाजुलाई अहिले यो छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आइराखेको छ । भनेपछि कुन प्रकारको छानबिन हुन्छ होला ? र एउटै मान्छेलाई यस प्रकारको छानबिनको जिम्मेवारी पटक पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ । र म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’
Facebook Comment
Comment