टिप्पणी

के अम्बानी परिवारको बिहे खर्चको चर्चा स्वाभाविक हो ?

जोसँग जे छ, उसले त्यही त प्रदर्शन गर्ने हो । धनीले धन प्रदर्शन नगरे अरु के प्रदर्शन गर्ने ? आत्ममुग्धताको सिद्धान्तमा धनीले धनको प्रदर्शन गर्नु रूपवती युवति वा पठ्ठो युवाले फोटो खिचेर फेसबूकमा पोस्ट् गर्नु जस्तै सामान्य हो ।

के अम्बानी परिवारको बिहे खर्चको चर्चा स्वाभाविक हो ?

भारतका दुई धनाड्य परिवार देशको र एसियाकै सबैभन्दा धनी मुकेश अम्बानी र नीता अम्बानीका छोरा अनन्त अम्बानी र अर्को एक उद्योगपति परिवार बीरेन मर्चेन्ट र शैला मर्चेन्टकी छोरी राधिका मर्चेन्टको विवाहको समाचार विश्व समाचार माध्यममा महिनौं छाइरह्यो ।

प्रारम्भमा वास्तै गरिएन । यो मेरो सरोकार र रुचि दुवैभित्र पर्ने विषय थिएन । देशभित्रको कुरा पनि हैन । कुन-कुन देशका को-को धनाड्यहरू आफ्ना छोराछोरीको बिहे कसरी गर्दछन्, त्यो हाम्रो मतलब र सरोकारको विषय बन्नुपर्ने कारण पनि थिएन ।

तर, हेर्दाहेर्दै समाचारको भेल खपिनसक्नु बढ्यो । संसारभरिका मिडिया उर्लेका उर्ल्यै गरे । जता गयो त्यतै त्यही समाचार भेटिन्छ, त्यही हेर्नु र पढ्नु पर्ने बाध्यताजस्तो पो भएर आयो । यहाँसम्म कि ‘न्यूयोर्क टाइम्स’ ले निरन्तर ‘फ्लो-अप न्यूज’ र टिप्पणी लेख्यो । ती टिप्पणी आर्थिक असमानता र धनाड्यहरूको जीवनशैलीसँग मात्र हैन, राजनीति अभिजात वर्ग र नवधनाड्यहरूको उदयको कथासँग जोडिएका थिए ।

त्यसपछि लाग्यो, यो सार्वजनिक बहसको एउटा पाटो त हो । नाथे एउटा ट्वीट के कन्जुस्याइँ गर्नु ? यस्तो हान्दिएँ, “मुकेश अम्बानीको छोरोको बिहे एउटा राम्रो उदाहरण हो– भ्रम, आत्ममुग्धता, प्रचारमोह र प्रदर्शनभाव, समग्रमा ‘अनरसीप नार्सिसिज्म’ को, त्यसबाट प्राप्त हुन्छ के ? तुष्टीकरण । यस्तै बेबकुफ पुँजीपतिहरूले हो मान्छेमा आम असमानताबोध, कुन्ठा र उग्रवामपन्थको मोह बढाउने, पराकाष्ठै नाघे यिनले ।”

यसमाथि प्राप्त टिप्पणी पढ्दा भने गजब रमाइलो लाग्यो । टिप्पणी कल्पना बाहिरका त थिएनन् तर, आलोचनाभन्दा बढी अम्बानी परिवारको पक्षमा थिए । ‘हामी’जस्ता मान्छेलाई तिनले धन कमाउन नसक्ने बज्रस्वाँठहरूको ईर्ष्या भन्दै निन्दा गर्थे । धन र धन कमाउने क्षमतालाई सम्मान गर्न अर्तिउपदेश दिइरहेका थिए ।

सन् १९५० देखि २०१० को अवधिमा यस्ता टिप्पणी बिरलै पाइन्थे । विशेषतः सर्वसाधारणबाट । त्यो अवधिमा आर्थिक असमानता र वर्गीयता सार्वजनिक विमर्शको एउटा ठूलो मुद्दा मानिन्थ्यो । मेरा ट्वीटमा टिप्पणी गर्नेहरू अधिकांशले ‘आफू उद्यमशील भएर धन कमाउन नसक्ने अरुको ईर्ष्या र गनगन’ भनेर टिप्पणी गरेको पाइयो ।

जस्तो कि केही उदाहरण हेरौँ ।

प्रकाश खड्काको टिप्पणी छ, “मध्यम आईक्यू मानसिकताको ईर्ष्यालु गनगन पनि हुन सक्दछ यो भनाइ । उनले गरेका खर्चले धेरैको व्यापार बढायो होला । हाम्रो सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमले भन्दा बढी रोजगार दियो होला । हामीले देख्दा बेबकुफी नै लाग्दछ तर, मुकेश अम्बानी तपाईं हाम्रो सोच बन्द भएको अवसरबारे सोच्दछन् ।”

विभव पौडेल भन्छन्, “बेबकुफ भएरै त्यति सम्पत्ति कमाउन सफल भएका हुन् । नत्र तपाईंजस्तै ‘बौद्धिक’ हुने थिएँ, पुँजपति र पुँजीवादलाई गाली गर्दै बस्ने थिएँ । आफू कमाउन नसक्ने अनि सधैँ पुँजीवाद र पुँजीपतिलाई गाली गर्ने ?”

रामहरि पोख्रेलको प्रतिक्रिया अझ कडा छ, भन्छन्- “तपाईं अझै कम्युनिष्ट हो ? निम्तो आएन, फोकटमा खान पाइएन भनेर यसरी रुँदै सराप्दै हिँड्नु ठीक हैन । उसको धन जसरी खर्च गरे पनि गरोस्, हामीलाई बाल !”

यी टिप्पणीकर्ताहरू सायदै ‘त्यति धनी’ होलान् । अम्बानी स्तरको हैन, नेपालकै औसतस्तरको कुरा गरेको । कम्तीमा यी विनोद चौधरी त हैनन् । अर्थात् निम्न, मध्यम वा औसत वर्गमा पनि उच्च धनाड्यहरूप्रति हिजोको जस्तो घृणाभाव अब छैन भन्ने यी प्रतिक्रियाले सङ्केत गर्दछन् ।

बौद्धिक तहमा जुनस्तरमा आर्थिक असमानताको चर्चा हुन्छ, आज त्यहीस्तरमा बलियो ‘वर्गीय भावना’ बाँकी रहेन । आखिर ‘वर्गीय भावना’ को कुरा गर्नेहरूले पनि अन्ततः त्यही वर्गको शोषण गरेको देखियो, जसलाई उनीहरूले ‘वर्गीय प्रेम’ भएको वर्ग भन्ने गर्थे ।

यो ‘राइट’ र ‘लेफ्ट’ रुझानको उतारढाव संसारमा चलि नै रहन्छन् तर, व्यावहारिक सत्य औसत बीचमा र सन्तुलनमा हुन्छ । तसर्थ, कथित ‘पुँजीवाद’ र ‘साम्यवाद’ को बहस अबको युगमा बिल्कुलै निरर्थक हुँदै गएको छ ।

न साम्यवादीहरूले भने जस्तो साम्यवाद दुनियाँमा बाँकी छ, न पुँजीवादीहरूले भने जस्तो पुँजीवाद नै अस्तित्वमा छ । अर्थराजनीतिका व्यावहारिक यथार्थ यो ‘वाइनरी’ भन्दा धेरै पर पुगिसकेका छन् । आजको युग ‘प्रयोजनशील अर्थनीति’ को युग हो, जहाँ साम्यवाद र पुँजीवादजस्ता बहसको कुनै सान्दर्भिकता नै बाँकी छैन । यहाँसम्म कि ‘समाजवाद’ समेत बहुअर्थी, अस्पष्ट र भ्रमित विचारधारा सावित हुँदै गएको छ । भलै कि त्यसको सिद्धान्त जति नै सुन्दर किन नहोस् ।

यो एक हदसम्म सकारात्मक कुरा हो । किनकि यसले मानिसमा ईर्ष्याको साटो उद्यमशील भावना विस्तार गर्न मद्दत गर्दछ । धन कमाउनुलाई नै जीवनको लक्ष्य बनाएकाहरूका लागि अम्बानी एक आर्दश होलान् । जसरी वर्गीयताको राजनीति गर्नेहरूका लागि कार्ल मार्क्स आदर्श हुन् । जसरी त्यागको राजनीति गर्नेहरूका लागि महात्मा गान्धी र नेल्सन माण्डेला आदर्श हुन् । जसरी युवा क्रान्तिकारीहरूका लागि चे गुभारा आर्दश हुन् । कतै, ‘हामी’ जस्ताको विचारले तिनको भावनामा ठेस पुगिरहेको त छैन ?

टिप्पणीहरूको एक सामान्य निष्कर्ष हुन सक्दछ, पुँजीपति र धनाड्यहरूलाई मन पराउने गरिब, सर्वहारा, निम्न-मध्यम तथा मध्यम वर्गको पनि अब संसारमा राम्रै सङ्ख्या छ, जो हिजो दुर्लभ मानिन्थ्यो ।

दिनेश बराल नामका एक टिप्पणीकर्ताले भनेका छन्, “उनको सम्पति उनको मर्जी । अर्थात् मानिसले अब सम्पतिको अधिकारलाई स्वतन्त्रताको एक आयामका रूपमा स्वीकार गर्दैछन् भन्ने यसबाट प्रष्ट हुन्छ ।

अब मूल विषयमा फर्किऔँ, मुकेश अम्बानी धीरुभाइ अम्बानीका जेठा छोरा हुन् । उनका पिताले रिलाइन्स ग्रूप अफ इन्डट्रिजबाट व्यावसायिक घराना निर्माणको जग बसालेका थिए । मुकेशले त्यसैको विस्तार गरे ।

मुकेश अम्बानीको सम्पति १२० बिलियन डलर छ । जो संसारका सबैभन्दा धनी एलन मस्को २५२ विलियन डलरको आधा भन्दा कम हो । तथापि अम्बानी भारत र एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनी संसारका १० धनीभित्र पर्ने गर्थे । भारतमा दुई उद्योगपति मुकेश अम्बानी र गौतम अडानी उच्च १० को सूचीभित्र पर्ने गरे पनि सन् २०२४ को सूचीमा भने छैनन् । मुकेश यो वर्ष ग्लोबल र्‍याङ्किङ्गमा ११ औं नम्बरमा छन् ।

मुकेशले आफ्ना २९ वर्षका कान्छा छोरा अनन्त अम्बानीको बिहेलाई बडो धुमधामको बनाउन चाहे । ‘प्रि-वेइडिङ सेरमोनी’ भनिएको समारोहमा बिल गेट्स, इभान्का ट्रम्प, मार्क जुकरबर्गलगायतका पाहुना थिए । बार्बाडोसकी चर्चित गायिका रिहानाले ‘इन्टरटेनमेन्ट’ सो गरेकी थिइन् ।

मूल विवाह समारोहमा पाहुना, खर्च, खानाको परिकार र उपहारहरूको चर्चा गरी साध्य रहेन । संसारका अधिकांश नाम चलेका धनी, सेलिब्रेटीहरू उनका पाहुन बने । बलीउड कलाकारको त कुरै गर्न परेन । क्यानडाका प्रधानमन्त्रीदेखि भुटानका राजारानीसम्म राजनीतिक पाहुन पनि थिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त हुने नै भए ।

पाहुनालाई डेढ करोड पर्नेसम्मका घडी उपहार दिएको सुनियो । यस्ता समाचार कति, कति । विस्तृतमा नजाऔँ । समग्रमा के भने सम्भवत: यो अहिलेसम्मकै सबैभन्दा महङ्गो विवाह समारोह हो ।

आलोचकहरूले यो विवाहलाई आर्थिक असमानतासँग जोडेर हेरे । द न्यूअर्को टाइम्सले पस्केका तथ्याङ्कअनुसार भारतका २०० उच्च धनी परिवारसँग १ ट्रिलियन डलर बराबरको सम्पति छ, जुन कूल जिडिपीको करिब एकचौथाइ हो । १ प्रतिशत मानिससँग देशको ४० प्रतिशत धनसम्पति केन्द्रिकरण भएको छ ।

अर्कोतिर २३ करोड मानिस निरपेक्ष गरिबीको रेखामुनी छन् । भारत संसारकै सबैभन्दा धेरै गरिब जनसङ्ख्या भएको देश हो । मुम्बईलाई भारतको स्वप्न नगरी मानिन्छ । यसको विमानस्थल माथिबाट देखिने पहिलो दृश्य धारबीका च्यातिएका पालहरूको झुप्रावस्ती हो ।

धारवीलाई संसारकै सबैभन्दा ठूलो झुपटपट्टी मानिएको छ । यहाँ २.३९ वर्गकिमीमा करिब १० लाख मानिस, प्रतिवर्गकिमी करिब ३ लाख मानिस बस्दछन् । सबैभन्दा कूपोषित बालबच्चा हुने देशको सूचीमा भारत विश्वकै तेस्रो स्थानमा छ ।

अर्को पाटो- अम्बानी, अडानीलगायत पछिल्ला जुन नवधनाड्य परिवारहरूको उदय भएको छ, के ती स्वच्छ व्यावसायिक प्रतिस्पर्धाबाट उदय भएका हुन् भन्ने प्रश्न बाँकी नै रहन्छ। सन् २०१४ पछि भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको उदयसँगै आएका अरु गुजराती परिवारको पनि त्यहाँ ठूलो चर्चा हुन्छ ।

कतिपय अर्थशास्त्रीले यसलाई मोदीको ‘क्रोनी क्यापिटालिज्म’ का रूपमा हेर्ने गर्दछन् । धन कमाउन पाउने स्वतन्त्रता एउटा पाटो हो । तर, त्यो कतिको ‘फियर’ भन्ने कुराको पनि उत्तिकै महत्व हुन्छ । गौतम अडानीको उदयमा मोदी सरकारले दिएको ‘पोर्ट अग्राधिकार’ छ भन्ने कतिपयको तर्क हुन्छ ।

न्यूयोर्क टाइम्सले अम्बानी समूहका कम्पनीहरूले विवादास्पद ‘इलेक्टोरल बन्ड स्किम’ मार्फत ५० विलियन डलर भाजपालाई चन्दा दिएको तथ्य उल्लेख गरेको छ । यी तथ्याङ्कहरूको तुलनापछि भारतीय लेखिका सोनिया फलेरो भन्छिन्, “भारतमा अहिले ‘सर्भाइबल अफ द रिचेष्ट’ को सिद्धान्त क्रियाशील छ ।”

चाल्र्स डार्बिनले जीवविज्ञानमा ‘सर्भाइबल अफ द फिटेष्ट’ को सिद्धान्त बनाएका थिए । राजनीतिक अभिजात वर्ग र आर्थिक शक्ति सम्भ्रान्तहरू बीचको अघोषित साँठगाँठ विश्वव्यापी हो । राजनीतिक विचारधाराले प्रधानमन्त्री नरेन्द्र मोदी ‘कन्जर्भेटिभ’ हुन् तर, आर्थिक दृष्टिकोणमा उनी पक्का ‘नियोलिबरल’ हुन् ।

कथित ‘लेफ्ट-लिबरल’ भन्दा मोदीको राम्रो पक्ष के हो भने उनी यस्तो अर्थनीतिका खुलेआम समर्थक हुन् । कांग्रेस-कम्युनिष्टजस्तो सिद्धान्तमा साम्यवाद र समाजवादको कुरा गर्ने, व्यवहारमा नवउदावादको अर्थनीति अवलम्बन गर्ने द्वैध चरित्र र पाखण्ड उनी गर्दैनन् ।

सम्भवत: विगत दशकको भारतको आर्थिक उन्नतिको रहस्य पनि यसभित्र निहित छ। भारतको आर्थिक बृद्धि औसत ६.५ प्रतिशत र देशको अर्थतन्त्र १२ औंबाट विश्वको ५ औं ठूलो अर्थतन्त्र बनेको छ । मध्यम वर्गको आकारमा व्यापक विस्तार भएको छ ।

समष्टिगत आर्थिक तथ्याङ्कहरूको सुधार मात्र मानवीय दृष्टिकोणले पर्याप्त हुँदैन । समग्र मानवीय विकासको कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । आर्थिक असमानता, गरिबी र बेरोजगारी कुनै मुद्दा नै हैनन् भन्नेहरूले भर्खरैको बेलायती र फ्रान्सेली चुनावको नतिजा हेरे पुग्दछ ।

त्यहाँ वामपन्थी र मध्यवामपन्थी पार्टीहरू फेरि किन सत्तामा फर्किए, त्यसको रहस्य निम्न तथा श्रमिक वर्गप्रतिको बेवास्ता नै हो, जो विगत दशकमा ती देशको अर्थनीतिमा प्रष्टै लक्षित भएको थियो । भारतमा पनि त्यही भएको हो ।

१२ बाट ५ औं ठूलो अर्थतन्त्र भएको यथार्थ र अगामी ५ वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दाबीका बीच नरेन्द्र मोदी नेतृत्वको भाजपा र एनडीए गठबन्धनको सिट घट्नुको मुख्य कारण आर्थिक असमानता, गरिबी, बेरोजगारी र सामाजिक न्यायको अभाव नै हो ।

‘सर्भाइबल अफ द रिचेष्ट’ को सिद्धान्त र अभ्यासमा गरिब, निम्न मध्यम वर्ग, बेरोजगार र सीमान्तकृत समुदायले आफ्नो भविष्य नदेख्नु र आक्रोशित हुनु अस्वाभाविक हैन ।

सम्पति कमाउन पाउने अधिकार र आर्थिक स्वतन्त्रताको मुद्दाबाट अब विश्व फिर्ता हुन सक्दैन तर, त्यो निरपेक्ष हैन । ‘फियरिज्म’ र सामाजिक न्यायको आयामलाई राज्य र राजनीतिले बेवास्ता गर्यो भने साँच्चै ‘सर्भाइबल अफ द रिचेष्ट’ को स्थिति उत्पन्न हुन सक्दछ । जसलाई जस्तै ‘कन्जर्भेटिभ’ र ‘नियोलिबरल’ हरूले पनि पुष्टि गर्न सक्ने छैनन् ।

सिद्धान्तमा पुष्टि गरेजस्तो गरे पनि व्यवहारले मान्ने छैन । व्यवहार अर्कै प्रकारले अघि बढ्नेछ । अनेक सामाजिक उपद्रो, उठापटक राजनीतिक विद्रोह, आन्दोलन र क्रान्ति भइरहने छन् ।

ठीक हो, अम्बानीले छोराको बिहेमा गर्ने खर्च उनको मर्जी हो, उनको स्वतन्त्रता र छनोटको विषय हो । अरुलाई अस्वाभाविक लागे पनि उनको धनको अनुपातमा त्यो कत्ति पनि हैन । तथ्याङ्कले भन्छन् कि त्यो उनको दुई दिन बराबरको कमाइ हो । करिब ५०० करोड खर्च गरेको हुन सक्दछन् उनले ।

छोराको बिहेमा खर्च नगरेको भएपनि उनले त्यो कुनै गरिबलाई दान दिने थिएनन् । दिए पनि त्यति पैसाले भारतको समग्र गरिबी निवारण हुने थिएन । उनले गरेको खर्च र उपहारले केही सेलिब्रेटीहरूले राम्रै कमाए होलान् । मानिसले काम पनि पाए होलान् । अर्थतन्त्रको जे-जत्रो हिस्सा हो, चलायमान हुन मद्दत पुग्यो होला । यी सबै कुरा मान्न सकिन्छ ।

धनी मानिसहरूले गरिबहरूको उद्धार गर्छन् वा गर्नु पर्दछ भन्ने आग्रहमा मलाई कहिल्यै विश्वास लागेन । मेरो विश्वास ‘फियरिज्म’ हो, ‘वेलफेयरिज्म’ हैन । तथाकथित कल्याणवाद, लोककल्याणकारी राज्य र परोपकारवादले आर्थिक असमानताको समस्या हल हुन्छ भन्ने कहिल्यै लागेन, अहिले पनि लाग्दैन ।

जहाँ ‘फियरिज्म’ हुन्छ, त्यहाँ मात्र ‘सर्भाइबल अफ द फिटेष्ट’ हुन सक्दछ । अन्यथा हुने ‘सर्भाइबल अफ द रिचेष्ट’ हो ।

आर्थिक असमानताको प्रश्न अम्बानीसँग उठाउने हैन, उठाउनै परे नरेन्द्र मोदीहरूसँग उठाउने हो । सार्वजनिक बौद्धिक, नीति निर्माता र संस्थाहरूसँग उठाउने हो । अम्बानीले छोरोको बिहेमा यति धेरै खर्च गर्नुको कारण खासमा आर्थिक हैन, मनोवैज्ञानिक हो । सबै धनीले बिहेमा यसरी नै खर्च गर्छन् भन्ने छैन । बिहेमा कुनै धनी परिवारले ठूलो रकम खर्च गर्नु पुँजीवादको सिद्धान्त वा समस्या पनि हैन ।

मनोविज्ञानको भाषामा भने यसलाई ‘स्वामित्व-आत्ममुग्धता’ अर्थात् ‘अनरसीप नार्सिसिज्म’ भन्न सकिन्छ । नर्सिसिज्म एक ‘स्टेट अफ माइन्ड’ हो । ‘स्वामित्व–आत्ममुग्धता’ त्यसको एक प्रकार हो ।

यस्तो मनोवैज्ञानिक अवस्थामा मानिसले आफूसँग भएका चीजलाई अतिरिञ्जित पाराले प्रदर्शन गर्ने इच्छा राख्दछ । त्यसैमा आफ्नो अस्तित्व सम्पुष्टि, सफलताबोध र आत्ममुग्धताको अनुभूति गर्दछ । जीवन सार्थक भएको भान वा प्रतीत गर्दछ ।

वास्तवमा यो एक प्रकारको तुष्टीकरण नै हो तर, तुष्टीकरण नै सही उनलाई गर्ने अधिकार छ । किनकि जोसँग जे छ, उसले त्यही त प्रदर्शन गर्ने हो । धनीले धन प्रदर्शन नगरे अरु के प्रदर्शन गर्ने ? आत्ममुग्धताको सिद्धान्तमा धनीले धनको प्रदर्शन गर्नु रूपवती युवति वा पठ्ठो युवाले फोटो खिचेर फेसबूकमा पोस्ट् गर्नु जस्तै सामान्य कुरा हो ।

आर्थिक दृष्टिकोणले अम्बानी परिवारको बिहे खर्च अस्वाभाविक होला तर, मनोवैज्ञानिक दृष्टिकोणले एक सामान्य घटना हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved