काठमाडौं । केन्द्रीय कमिटिलाई पूर्णता दिन नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
जिल्लाबाट सिफारिश भएर आएका नामलाई अनुमोदन गर्न समाजवादीले भोलि बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने नेता आलोक रायमाझीले बताए ।
बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने रायमाझीको भनाई छ ।
केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने नेकपा समाजवादीले जनाएको छ । पार्टीमा २ सय ६ केन्द्रीय सदस्य पद रिक्त छन् ।
भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ ।
Facebook Comment
Comment