काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा हत्या भएको घटनाको अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोली घटनास्थल गएको छ ।
मलंगवा नगरपालिका–४ घर भएका रायको रतनपुरस्थित ‘फार्म हाउस’मा रहेका बेला आइतबार राति हत्या भएपछि अनुसन्धानको लागि सीआइबीको टोली परिचालन भएको हो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले सिनियर अफिसरको नेतृत्वमा टोली गएको बताए ।
उनले भने, ‘‘मृतक रामचन्द्र रायको घरमा राति जग्गाको कुरा गर्न आएका तीन जनाको (जो फरार छन् ) परिचय खुल्न बाँकी छ । घर नजिकै हत्यामा प्रयोग भएको हतियार भेटिएको छ । मधेस प्रदेशबाट प्रहरीले अनुसन्धान गरिरहेको छ । सीआइबीबाट सिनियर अफिसरको नेतृत्वमा प्राविधिक जनशक्ति टोली काठमाडौंबाट घटनास्थलतर्फ परिचालन भइसकेको छ ।’’
घटनालगतै प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाएर घटनास्थलमा अनुसन्धान गरिएको थियो । कुकुरले उखु काट्न प्रयोग हुने घरेलु हतियार (ग्रासी) नजिकको बाँसघारीबाट फेला पारेको थियो ।
घटनास्थलबाट उत्तरपश्चिमतर्फे करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा हतियार भेटिएको हो । रगतले लतपतिएको अवस्थामा बाँसको झाङमा हतियार भेटिएकाले हत्यामा प्रयोग भएको प्रहरीको आशंका छ ।
परिवारसहित काठमाडौंमा बस्दै आएका राय गत साता मात्र खेती गर्न सर्लाही गएका थिए । रायको हत्यापछि रतनपुर क्षेत्रका बासिन्दा त्रसित छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेतासमेत रहेका पुराना राजनीतिज्ञ रायको शव घरमै बीभत्स अवस्थामा फेला परेको हो । शव टाउकामा धारिलो हतियार प्रयोग गरिएको र रगतले लतपतिएको अवस्थामा थियो ।
२०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य तथा २०५६ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राय तत्कालीन शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भूमिसुधार राज्यमन्त्री भएका थिए ।
Facebook Comment
Comment