ई स्पोर्ट्स संघको वार्षिक क्यालेन्डर सार्वजनिक

‘ई स्पोर्ट्स मान्छे बिगार्ने होइन, सपार्ने खेल हो’

नेपालभ्युज

‘ई स्पोर्ट्स मान्छे बिगार्ने होइन, सपार्ने खेल हो’

काठमाडौं । ई स्पोर्ट्स संघ (इसान)ले चालु आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम ‘क्यालेन्डर’ सार्वजनिक गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा मंगलबार आयोजित एक कार्यक्रममा वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । ‘७ वटा खेलमात्र फाईनल गरेका छौँ । विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहबाट थप कार्यक्रमका लागि प्रस्ताव आएपनि ठोस निर्णय नभएकोले क्यालेन्डरमा समावेश गरेका छैनौँ, ‘ संघका अध्यक्ष अन्जन धमलाले भने ।

उनले थप भने, ‘अन्तर्राष्ट्रिय स्तरमा सम्भावना बोकेको खेल मात्र नभई उद्योगको रुपमा पनि स्थापित हुँदै गएको छ । अन्तर्राष्ट्रिय स्तरमा नै छोटोसमयमा नेपालको झण्डा फर्फराउन सफल भएको ई स्पोर्ट्सले आगामी दिनमा पनि यस्तै सफलता हासिल गर्न विश्वास गरेका छौँ ।’

‘अन्य खेलमा खेलाडी उत्पादन गर्न धेरै लगानी गर्नुपर्ने देखिन्छ । तर, ई स्पोर्ट्समा भने खेलाडीहरु आफै सहभागी भइरहेको देखिन्छ । प्रत्यक्ष रुपमा खेलाडी उत्पादन नगरे पनि प्रतियोगिता आयोजना गरेर खेलाडीहरुलाई प्रतिस्पर्धा गराउन अवसर प्रदान गर्न सकिन्छ, ’ अध्यक्ष धमलाले बताए ।

खेलाडीलाई प्रतिभा देखाउन प्लेटफर्म दिनु पनि एक तरिकाले खेलाडी उत्पादनमा सहयोग गर्नु भएको अध्यक्ष धमला बताउँछन् । ‘ई स्पोर्ट्समा खेलाडी प्रशस्त भएपनि प्रत्यक्ष रुपमा देखिँदैन । कर्णालीमा आयोजना भएको राष्ट्रिय स्तरको प्रतियोगितामा सयभन्दा बढि खेलाडीको प्रत्यक्ष सहभागीताले ई स्पोर्ट्सको अवस्थालाई दर्शाउन इसान सफल भयो, ’ उनले भने ।

नेपाली समाजमा ई स्पोर्ट्सलाई खेलकै रुपमा स्थापित गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष धमलाले बताए । उनले भने, ‘ई स्पोर्ट्स मान्छे बिगार्ने होइन,  सपार्ने खेल हो भन्ने भाष्य निर्माण गर्न जरुरी छ । सबैको सहयोगमा नेपालमा पनि ई स्पोर्टे्सलाई व्यवसायिक रुपमा अगाडि बढाउन सकिनेछ ।’

सार्वजनिक गरिएको कार्यक्रम तालिकाअनुसार संघले आगामी जेठ महिनासम्म कुल ७ वटा कार्यक्रम गर्नेछ ।

भदौमा इसान इन्टर कलेज नेशनल च्याम्पियनसिप, असोजमा बागमती ई स्पोर्ट्स च्याम्पियनसिप, मंसिरमा एसियन मार्शल आर्ट एण्ड इन्डोर गेम्स, माघमा दोस्रो ईसान नेशनल ईस्पोर्ट्स च्याम्पियनसिप, चैत्र ईसान ईस्पोर्ट्स अवार्ड समारोह, चैत्र–वैशाख एसियन ई स्पोर्ट्स च्याम्पियनसिप र जेठमा कोशी ई स्पोर्ट्स च्याम्पियनसिप आयोजना गर्ने संघले जनाएको छ ।

तालिकामा अब केवल एसियन गेम्स २०२३ मा समावेश गरिएका खेलहरु मात्र समावेश गरिने संघले जनाएको छ ।

संघले ई स्पोर्ट्सको ग्रासरुट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीतासम्मलाई समावेश गरेको छ । निजी क्षेत्र, अन्तर्राष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला, प्रदेश स्तरका संरचनाले आयोजना गर्ने कार्यक्रमहरुलाई समावेश गरिएको छ ।

एसियन गेम्समा समावेश गरिएका पब्जी, डोटा, एमएल, ई फुटबल, अनर अफ किंग्सलगायतका खेलहरुलाई प्राथमिकतामा राखिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न नीजि तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने संघको योजना रहेको छ ।

यसअघि संघले स्थापना भएको तेस्रो महिनामा कर्णाली प्रदेशको सुर्खेतमा ई स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved