काठमाडौं । ‘पश्चिम बंगाल’को नाम आयो कि नेपालका कम्युनिष्ट नेता-कार्यकर्तामा एक प्रकारको भय सृजना हुन्छ । ती पश्चिम बंगालबारे खुलेर बहस, छलफल गर्न तयार हुँदैनन् । कि त यो विषय टार्न कि बेवास्ता गर्न खोज्छन्, नत्र मौन बस्छन् ।
सोभियत सङ्घ, पूर्वी तथा मध्य युरोपजस्तै पश्चिम बंगाल पनि कम्युनिष्ट आन्दोलनको एक खराब र असफल उदाहरण मानिन्छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि पश्चिम बंगालकै जस्तो हुने हो कि भन्ने डरले यहाँका कम्युनिष्टहरूलाई सताइरहेको हुन्छ ।
शीर्ष नेताहरूको तहसम्मै ‘पश्चिम बंगालको भय’ भित्रभित्रै व्याप्त छ । असार २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असफल ‘विश्वासको मत’ माग्ने क्रममा संसद्बाटै गत फाल्गुनको समीकरण फेरबदल हुनुको एक महत्त्वपूर्ण कारण ‘पश्चिम बंगालको भय’ भएको बताए ।
उनले भने, “एमाले अध्यक्षको कला क्षमता तारिफ गर्न लायक छ । धेरै नै तारिफ गर्न लायक छ । यहाँ उहाँको हैसियताको अरु कोही पनि छैन । मलाई राम्रो फकाउनुभयो उहाँले । वामपन्थी पो मिल्न पर्छ, कांग्रेससँग किन मिल्ने ? कांग्रेस को हो ? धेरै धैरै, धैरै । अब म मान्छे यस्तै । प्रचण्ड तपाईंहरूले चिन्नुभएकै छ । म अलिअलि सेन्टिमेन्टल, भावुक, अलि राम्ररी भने पछि होला त नि भनेर विश्वास गर्ने, फेरि म वामपन्थी नै परेँ, कम्युनिष्ट एकता गरौँ । नत्र अर्को चुनावमा हामी पश्चिम बंगालजस्तो भइन्छ, भनेपछि हो भन्ने लग्यो मलाई । तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ भनेर थाहा पाउन म ढिला भएँ ।”
एमालेका एक केन्द्रीय सदस्य भन्छन्, “पश्चिम बंगालजस्तो हुनसक्ने सम्भावनाबारे भित्रभित्रै चर्चा हुन्छ । तर, बाह्य रूपमा चर्चा गर्दा माहोल झनै बिग्रन सक्दछ । गत वर्ष भएका चितवन, तनहुँ र बाराको उपनिर्वाचनपछि यस्तो चिन्ता बढेको थियो । नयाँ दलको दबाब थियो । इलाम उपनिर्वाचनपछि फेरि आत्मविश्वास बढेको छ । नयाँ दलको गतिबिधि सन्तोषजनक छैन । फेरि मतदाता कांग्रेस-एमालेतिरै फर्किने सम्भावना छ ।”
पश्चिम बंगाल
पश्चिम बंगाल कम्युनिष्ट आन्दोलनको सबैभन्दा धेरै प्रभाव परेको र कम्युनिष्ट पार्टीले लामो शासन गरेको भारतको एक प्रदेश हो । यो क्षेत्रफलमा १३ औं र जनसङ्ख्यामा चौथो ठूलो प्रदेश हो ।
सन् १९४७ मा भारत-पाकिस्तान विभाजित हुनु अघि ‘बंगाल’ एउटै थियो । विभाजनसँगै ‘पूर्वी बंगाल’ र ‘पश्चिम बंगाल’ बन्यो । पूर्वी बंगाललाई ‘पूर्वी पाकिस्तान’ भन्न थालियो । पश्चिम बंगाल भारतको एक राज्य बन्यो ।
विभाजनको आधार भने हिन्दू र इस्लाम धर्मावलम्बी जनसंख्या बहुल क्षेत्र थियो । बंगलाभाषी हिन्दू बहुल क्षेत्रमा भारतको पश्चिम बंगाल र बंगलाभाषी मुस्लिम बहुल क्षेत्रमा पूर्वी पाकिस्तान सृजना गरिएको थियो ।
सन् १९७१ मा पाकिस्तानबाट विभाजित भई पूर्वी पाकिस्तान नयाँ देशका रूपमा ‘बंगलादेश’ बनेको हो । पश्चिम बंगालमा अझै उल्लेखनीय रूपमा मुस्लिमको जनसङ्ख्या छ । यहाँ ७१ प्रतिशत हिन्दू र २८ प्रतिशत मुस्लिम छन् । पश्चिम बंगाल नेपालबाट भने ‘पूर्व’ मा पर्दछ । नेपालको पूर्वी सीमा मेचीपारि पर्दछ ।
पश्चिम बंगालमा कम्युनिष्ट आन्दोलन
भारतमा कम्युुनिष्ट पार्टीको स्थापना हुनुअघि नै एकीकृत बंगालमा युवा बंगालीबीच कम्युनिष्ट विचारको प्रभाव देखा परेको थियो । तिनैमध्ये एक मानवेन्द्रनाथ रोय अर्थात् एमएन रोय विश्व कम्युनिष्ट आन्दोलनकै एक चर्चित पात्र बन्न पुगे ।
उनी कोलकातामा जन्मिएका थिए । त्यो बेला ब्रिटिश इन्डियाको राजधानी त्यही थियो । सन् १९३१ मा मात्र दिल्ली सरेको हो ।
भारतीय कम्युनिष्ट पार्टीको स्थापना दिवसबारे स्वयम् कम्युनिष्ट समूहहरूबीच मतभेद छ । एकाथरिले सन् १९२० अक्टोबर १७ को तासकन्द बैठकलाई पार्टी स्थापना दिवस मान्दछन् । अर्को थरिले देशभित्रको पहिलो सम्मेलन सन् १९२५ डिसेम्बर २६ को कानपुर बैठकलाई स्थापना दिवस मान्छन् ।
रोयले मस्कोको सहयोगमा तासकन्द बैठक गराएका थिए । तासकन्द हाल उज्बेकिस्तानको राजधानी शहर हो । रोय भारतको मात्र हैन, मेक्सिको कम्युनिष्ट पार्टीका पनि संस्थापक नेता हुन् । उनी तेस्रो कम्युनिष्ट अन्तर्राष्ट्रिय ‘कोमिन्ट्रन’ को सचिवालय सचिव थिए । मस्को गइरहन्थे । लेनिनसँग उनको राम्रो मित्रता थियो । अन्तर्राष्ट्रियको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीसँग समन्वय गर्न सन् १९२७ मा स्टालिनले रोयलाई चीन पठाएका थिए ।
सन् १९२८ को विवादमा रोयले स्टालिनको साटो लियोन त्रोतस्कीको गुटलाई समर्थन गरे । स्टालिन उनीसँग रिसाए । बुखारिनको सहयोगमा रोय मस्को छोडेर भाग्नुपर्यो ।
सन् १९३० मा भारत फर्किएर उनले भारतीय कम्युनिष्ट पार्टीका लागि काम गर्न थाले । अर्थात् एकीकृत बंगालमा कम्युनिष्ट विचारको बिउ भारतीय कम्युनिष्ट पार्टीको जन्मभन्दा अगाडि नै रोपिएको थियो ।
कम्युनिष्ट पार्टीको प्रभाव
स्वतन्त्रता संग्रामको अवधिमा बंगालमा कम्युनिष्ट पार्टीको प्रभाव बलियो हुँदै गयो । पश्चिम बंगालको कम्युनिष्ट आन्दोलनले जोर तब पक्रियो जब सन् १९६४ मा भाकपा विभाजित भई भाकपा (मार्क्सवादी) बन्यो र सन् १९६९ मा यसको पनि विभाजन भई भाकपा (माले) बन्यो ।
दुवै धारमा दुई विश्व चर्चित कम्युनिष्ट नेता जन्मिए– ज्योति बसु र चारु मजुम्दार । बसु लामो समय पश्चिम बंगालको मुख्यमन्त्री भए । मजुम्दारले ‘नक्सलवाद’ लाई विश्व शब्दकोषको एक स्थापित शब्द बनाइदिए ।
मार्क्सवादीले संसदीय र मालेले शसस्त्र सङ्घर्षको लाइन समाते । नेपालका एमाले र माओवादी जस्तै ती समानान्तर बढ्दै गए । सन् १९७७ मा भाकपा (मार्क्सवादी) पश्चिम बंगालको सत्तामा आयो । ज्योति बसु पहिलो कम्युनिष्ट मुख्यमन्त्री बने । पश्चिम बंगालमा ३४ वर्ष र छिमेकी प्रदेश त्रिपुरामा २६ वर्ष निरन्तर कम्युनिष्टहरूले सरकार चलाए ।
अहिले पनि देशका मुख्य कम्युनिष्ट समूह भाकपा, भाकपा (मार्क्सवादी) र भकपा (माले-लिबरेसन) नै हुन् । हालै सम्पन्न आम निर्वाचनमा यी तीन समूहको गरी भारतीय लोकसभामा ९ सिट छ । तर, पश्चिम बंगाल र त्रिपुरा दुवै राज्यबाट शून्य । जहाँ उनीहरूले तीन दशक लामो शासन गरे, त्यही कम्युनिष्टहरू समाप्त भए ।
कसरी भयो पतन ?
पश्चिम बंगालको ३४ वर्षे कम्युनिष्ट शासनमा जम्मा दुईजना मात्र मुख्यमन्त्री भए । ज्योति बसु र बुद्धदेव भट्टाचार्य । बसु करिब २४ वर्ष र भट्टाचार्य करिब १० वर्ष मुख्यमन्त्री भए ।
बंगालमा कम्युनिष्ट शासन सन् १९७७ बाट सुरु भएको थियो । सन् २०११ मा पतन भयो । तर, पतनका आधार भने सन् २००५ पछि नै देखिन थालेका थिए ।
सन् २०११ को विधानसभा निर्वाचनमा ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस त्यसअघिको ३० सिटबाट १८४ सिटमा पुग्यो भने भाकपा (मार्क्सवादी ) १७६ बाट घटेर ४० सिटमा सीमित भयो । यसरी पश्चिम बंगालमा भाकपा (मार्क्सवादीको) को ओरालो यात्रा प्रष्ट देखियो ।
सन् २०१६ को चुनावमा कम्युनिष्ट पार्टी ४० बाट झनै कम २६ सिटमा सीमित भयो । त्यसको ५ वर्षपछि सन् २०२१ को विधानसभा निर्वाचनमा शून्य भयो । यो क्रम अहिलेसम्म रोकिएको छैन । हालै सम्पन्न लोकसभा निर्वानचमा पश्चिम बंगालबाट कम्युनिष्ट पार्टीले कुनै सिट जित्न सकेनन् ।
भारतको कम्युनिष्ट पार्टी अब पश्चिम बंगाल र त्रिपुरापछि तेस्रो प्रभावी राज्य केरलामा सीमित छ । तर, पछिल्लो लोकसभा निर्वाचनले केरलाको स्थिति पनि दयनीय देखाएको छ । बरु, भाकपा (माले लिबरेसन) बिहारतिर बढ्दै गएको देखिन्छ ।
भाकपा ( माले-लिबरेसन) ले बिहारबाट लोकसभाका २ सिटमा विजय हासिल गरेको छ । बिहार विधानसभामा चौथो ठूलो दलका रुपमा छ ।
पतनका कारण
पश्चिम बंगालमा कम्युनिष्टहरूको यति दुखद् राजनीतिक पतन किन भयो ? यसका मुख्य ४ वटा कारण भएको बताइन्छन ।
१. शास्त्रीय चिन्तन र शासन शैली
ज्योति बसुको लामो शासनपछि भट्टाचार्यले केही नयाँपनको अनुभूति देलान् भन्ने कम्युनिष्ट समर्थकको विश्वास थियो । तर, त्यसो भएन । लामो समयको शासनको कारण ‘एन्टी-इन्कम्बेन्सी’ बढ्दो थियो । कुशासन र भ्रष्टाचार बढेको थियो । मार्क्सवादी मुख्यमन्त्रीहरूले नयाँ पुस्ताको आकर्षण र समर्थन हासिल गर्न सकेनन् ।
२.आर्थिक दूरावस्था
कम्युनिष्ट शासनमा बंगालको आर्थिक अवस्था बिग्रिँदै गयो । प्रारम्भमा उनीहरूले भूमि सुधारमार्फत जनसमर्थन हासिल गरेका थिए । त्यसपछिका दिनमा आर्थिक नीतिमा नयाँपन ल्याउन सकेनन् । अर्थततन्त्रले विकास पनि गरेन ।
पुरानो राजधानी शहर कलकत्ता भएको औद्योगिक प्रदेश भए पनि औद्योगिकीकरण र आर्थिक विकासमा अरु प्रदेशले उछिन्दै गए । जनताले बंगालको स्थितिलाई आर्थिक रूपले उदीयमान राज्यहरूसँग तुलना गर्न थाले र असन्तुष्ट हुँदै गए ।
बंगालमा सत्तारुढ दलको श्रम सङ्गठन निकै बलियो थियो । कलकारखानामा बारम्बार हड्ताल भइरहन्थे । वाक्कदिक्क भएका लगानीकर्ता अन्य प्रदेशतिर पलायान हुन थाले । प्रारम्भमा कम्युनिष्ट पार्टी र सरकार समर्थित ट्रेड युनियनलाई मजदूर वर्गको समर्थन थियो । तर, उद्योगधन्दा बन्द र लगानीकर्ता पलायन हुँदै गएपछि बेरोजगारी बढ्यो । मजदूर वर्ग नै कम्युनिष्ट पार्टी र सरकारको विरोधी हुँदै गयो ।
३. विपक्षी नेतृका रूपमा ममता बनर्जीको उदय
सन् १९९८ मा भारतीय राष्ट्रिय कांग्रेस परित्याग गरी ममता बनर्जीले भिन्नै तृणमूल कांग्रेस पार्टी गठन गरिन् । उनले बंगालको राजनीतिमा आफूलाई केन्द्रित र समर्पित गरिन् । उनी बंगालमा सशक्त प्रतिपक्षी दलको नेताका रूपमा उदाइन् ।
कम्युनिष्ट पार्टीबाट ‘फ्रष्टेट’ जनमतले तृणमूल कांग्रेसलाई विकल्पका रूपमा स्वीकार गर्न थाल्यो । बनर्जीको नेतृत्वमा कम्युनिष्ट पार्टी र सरकारको प्रतिस्थापन सम्भव छ भन्ने विश्वास जनतामा बढ्दै गयो । राजनीतिक कार्यकर्ताले तृणमूल कांग्रेसलाई साथ दिन थाले । यसको सङ्गठन र शक्ति बढ्दै गयो ।
४.सिंगुर र नन्दीग्राम हत्याकाण्ड
सन् २००६ र २००७ मा बंगालमा दुई दुखान्त घटना भए । सिंगुर र नन्दीग्राम हत्याकाण्ड । यो पश्चिम बंगालको कम्युनिष्ट सरकारविरुद्ध एक प्रकारको किसान विद्रोह थियो । यो विद्रोहको नेतृत्व ममता बनर्जीले गरिन् ।
कम्युनिष्ट सरकार बंगालबाट पुँजी पलायन भएर बेरोजगारी बढेको कारणले दबाबमा थियो । उसले पुँजीपतिलाई उद्योग स्थापना गर्न सस्तो र सुलभ रुपमा जमिन उलपब्ध गराउने उद्देश्यले भूमि अधिग्रहण ऐन ल्यायो । सिंगुर र नन्दीग्राममा यसको कार्यान्वयन गर्न खोज्यो ।
फलतः किसान प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । एक दर्जनभन्दा बढी प्रदर्शनकारी मारिए । यी घटनाले कम्युनिष्ट पार्टी र सरकारविरोधी भावना जनतामा तीव्र भयो । राज्य सरकारप्रति जनअसन्तोष व्यापक रुपमा फैलियो ।
यसको प्रभाव सन् २०११ को चुनावमा देखा पर्यो । नेपालमा पनि कम्युनिष्ट नेता र समूहहरू हिजोको तुलनामा नैतिक सङ्कटमा फस्दै गएका छन । भ्रष्टाचार, कुशासन र बेरोजगारी बढ्दै गएको छ। नेपाली युवा ठूलो सङ्ख्यामा विदेश पलायन गर्दैछन् ।
कम्युनिष्टहरू हिजो ‘क्रान्तिकारी शक्ति’ मानिन्थे । आज अस्थिर र अवसरवादी राजनीतिका संवाहकजस्तो बन्दै गएका छन् । तसर्थ, नेपालमा पनि छिमेकको पश्चिम बंगालकै जस्तो हुने हो कि भनेर कम्युनिष्टहरू बेलाबेला तर्सने गर्छन् ।
Facebook Comment
Comment