केटीले ‘बलात्कार मुद्दा हाल्छु’ भनेपछि तीन तलाबाट फाल हाले युवा, हत्कडी लगाउन अस्पतालमै पुग्यो प्रहरी

तीन तलाबाट फालहालेपछि घाइते भएर उपचारमा रहेका उनलाई हथकडी लगाउन प्रहरी अस्पतालमै पुग्यो । थाहा भयो, अस्मिताले बलात्कार मुद्दा हालेकी रहेछिन् । उनी अहिले ह्वीलचेयरको सहायताले हिँडडुल गर्छन् तर, जेलमा ।

नेपालभ्युज

केटीले ‘बलात्कार मुद्दा हाल्छु’ भनेपछि तीन तलाबाट फाल हाले युवा, हत्कडी लगाउन अस्पतालमै पुग्यो प्रहरी
सांकेतिक स्केच

काठमाडौं । भक्तपुर कौशलटार बस्ने अस्मिता (नाम परिवर्तन) बागबजारको एक कलेजमा पढ्थिन् । गत वर्षको साउनको अन्ततिर कुरा थियो, भर्खरै प्रेममा धोका पाएकी उनी मानसिक तनावमा थिइन् ।

मन बहलाउन नयाँ साथी बनाएर कुरा गर्न मन लाग्थ्यो । यसको लागि उनले ‘डेटिङ एप’को सहारा लिइन । उनले ‘टानटान’ नामक एप मोबाइलमा डाउनलोड गरिन् । यो एप यस्तो प्लेटफर्म हो, जहाँ प्रयोगकर्ता एकाअर्कासँग ‘फ्लर्ट’ (जिस्कने) गर्छन्, कुराकानी गर्छन् । माया–प्रेम गर्न थाल्छन् ।

विचार र रोजाइ मिल्ने साथीको खोजीमा रहेकी अस्मिताले त्यहाँ भेटिन् बालुवाटारस्थित एक आइटी कम्पनीमा काम गर्ने युवा । ती युवासँग अस्मिताको च्याटमा बोलचाल सुरु भयो ।

उनीहरुबीच अरू सामाजिक सञ्जालका आइडी र मोबाइल नम्बर पनि साटासाट भयो । नजिकबाट चिनजान भएपछि भेट्ने सल्लाह पनि भयो ।

विभिन्न कामको कारणले दुईबीच भेट भएन तर, सामाजिक सञ्जाल र फोनमा कुरा भइरह्यो । अस्मिताले फोन गरेर भेट्न बोलाउँथिन्, तर केटा अफिसको काममा व्यस्त हुने भएकाले भेट्न जान पाउँथेनन् । कहिले उनी आफैँ भेट्न खोज्थे, तर अस्मिताको व्यस्तताले भेट हुन सकेको थिएन ।

यसैक्रममा गत वैशाख १४ गते केटा भक्तपुरको लोकन्थलीमा साथीको बिहेको जन्ती गए । त्यही अस्मिता बस्ने भएकाले भेट्न मन गरे ।

‘‘म कौशलटार तिर साथीको बिहेमा आएकी छु तिमीलाई फुर्सद भए मलाई भेट्न आउन’’ केटाले फोनमा भने । अस्मिताले सहमति जनाएपछि उनी लिन कौशलटारसम्म गए । बुबाको सुजुकी ब्रिजा कार लिएर केटा अस्मितालाई लिएर काठमाडौं फर्किए । अस्मिताले घुमाउन लैजाउ भनेपछि उनीहरु दुवै ठमेल पुगे ।

ओयो एपमार्फत कोठा बुक गरेर होटलमा बसे । ‘भोज’ एपबाट मगाएर बियर र खाजा खाए । दुवैबीच शारीरिक सम्बन्ध पनि भयो । कुरैकुरामा केटाको प्रेमिकाको प्रसङ्ग आयो । अस्मिताले झमेला झिकिन्, ‘‘गर्लफ्रेन्ड हुँदाहुँदै मसँग किन सेक्स गर्याैँ ?’’

‘‘मेरो गर्लफ्रेन्ड भए पनि म तिमीलाई मन पराउँछु’’ केटाले भने ।

‘‘सेक्स भनेको गर्लफ्रेन्डसँग मात्र गर्ने हो, अरूसँग होइन’’ अस्मिताको भनाइ थियो । दुवैजनाबीच विवाद बढ्दै गयो । केटाले सम्झाई बुझाई गर्दा पनि अस्मिताले मानिनन् ।

उनले आफूमाथि अपमान र धोका भएको ठानिन् । आक्रोशित हुँदै अस्मिताले भनिन्, ‘‘म तेरो विरुद्ध रेप केस हाल्छु । तँलाई जेल पठाइदिन्छु ।’’

केटा डराए । उनीहरू दुवैजना छुटे पनि अस्मिताले धम्की दिन छाडिनन् । मुद्दा परेमा आफ्नोसहित घरपरिवारको समेत इज्जत जाने ठानेर केटाले आत्महत्याको सोच बनाए ।

उनीहरुबीच भेट भएको १३ दिनपछि वैशाख २७ गते केटा आफ्नै घरको तीन तल्लाबाट फाल हाले । तर, भाग्यबस उनी गाडीमाथि परेर बेहोस भए । हात खुट्टामा चोटपटक लाग्यो । परिवारले उपचारको लागि अस्पताल लग्यो ।

उपचारकै क्रममा उनलाई नियन्त्रणमा लिन प्रहरी आयो । थाहा भयो, अस्मिताले बलात्कार मुद्दा हालेकी रहेछिन् । उनी अहिले ह्वीलचेयरको सहायताले हिँडडुल गर्छन् ।

हिरासतमा रहेका केटाले प्रहरीमा बयान दिएका छन्, ‘‘जाहेरवालाको सहमतीमै शारीरिक सम्पर्क भएको हो । मैले जबरजस्ती गरेको होइन । पछि बलात्कार मुद्दामा फसाउने भनेकाले आत्महत्या गर्न खोजेँ । तर, समयमै अस्पताल लगिएकाले बाँचेको छु ।’’

अस्मिताले भने सुहान्तको नियत नै बलात्कार गर्ने रहेकाले आफ्नो सहमति नभएको दाबी गरेकी छिन् ।

उनले बयानमा बनेकी छिन्, ‘‘मलाई फकाइ फकाइ ठमेल लग्यो । जुसहरू खान दिएर विभिन्न बहानामा राति अबेरसम्म राख्यो । आलटाल गरी झुलाएर घर जान दिएन । उसको नियत होटलमै राख्ने थियो । अनि होटलमा राखेर जबरजस्ती गरेको हो ।’’

खाजा खाएर आफू फर्कने भने पनि उसले जान नदिएको अस्मिताको बयान छ । प्रहरीको रायको आधारमा केटाविरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । केटा अहिले पुर्पक्षको लागि थुनामा छन् ।

८ मा पढ्ने छोरीले बान्ता गरेपछि अस्पताल लग्दा देखियो ९ महिनाको गर्भ, बलात्कार मुद्दामा प्रेमी पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved