काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विभिन्न नाममा बाडिएका कम्युनिष्ट पार्टीहरुले श्रेष्ठको सम्झनामा कार्यक्रम गर्दैछन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले कार्यक्रमको आयोजना गरेका हुन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जली सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ ।
कार्यक्रममा कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको योगदान, त्याग र निष्ठाको आदर्शलाई समेटेर तयार गरिएको उनको जीवनीमा आधारित श्रव्य दृश्य सामग्री प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उनकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।
Facebook Comment
Comment