काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत पाउँ भनी राखेको प्रस्तावमाथि छलफल तथा जवाफी कार्यक्रममा चलिरहेको छ ।
सोही क्रममा विश्वासको मतमाथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको तर्फबाट धारणा राख्दा प्रधानमन्त्री ओली बैठकस्थलबाट बाहिरिएका थिए ।
उनले ‘प्रधानमन्त्री बेपत्ता हुनुभयो’ भन्दै टिप्पणी समेत गरेका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ ।’
आफ्नो प्रस्ताव पेस भए पछि केही बेर बैठकमा बसेका उनी माओवादी केन्द्रका नेता वर्षमान पुनले धारणा राख्ने बेलामा बाहिरिए ।
पछि, सबै दलका प्रतिनिधिसहित स्वतन्त्र सांसदले प्रस्तावमाथि आफ्नो धारणा राखेपछि प्रधानमन्त्री ओली जवाफ दिन रोष्ट्रममा पुगे ।
उनले जवाफ सुरु गर्दा खेरी नेपाल भने मोबाइल फोन चलाउनमा व्यस्त देखिन्थे ।
संसद् बैठकमा मोबाइल चलाउन सांसदका लागि सामान्य हो तर, आफू बोल्दा अनुपस्थित भएको कारण नेपालले त्यसको बदलामा ओलीको भनाइ बेवास्ता गर्दै मोबाइल चलाएको अनुमान लगाउन सकिन्छ ।
माधव बोल्दा यसअघिका केही बैठकमा पनि ओली बाहिरिने गर्दथे । उनीहरु तत्कालीन एमालेका सहकर्मीसमेत हुन् ।
Facebook Comment
Comment