प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाइँदै, कांग्रेस केन्द्रीय पुस्तकालय सुरु हुँदै

नेपालभ्युज

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाइँदै, कांग्रेस केन्द्रीय पुस्तकालय सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

दिवसका अवसरमा कांग्रेसले ‘नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय’ को शुभारम्भ गर्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे पुस्तकालय उद्घाटन गर्दैछन् । प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ साल जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सुन्दरीजलमा नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए ।

उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ ।

राष्ट्रिय एकता र मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी उनलाई सिधै सुन्दरीजल बन्दीगृहमा लगेर राखिएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved