उच्चको पूर्णपाठ:‘पहिला होस्टल जाने बताएकी गौशाला २६ ले काठमाडौं आएपछि भनिन्– होटलमै बसौँ’

नेपालभ्युज

उच्चको पूर्णपाठ:‘पहिला होस्टल जाने बताएकी गौशाला २६ ले काठमाडौं आएपछि भनिन्– होटलमै बसौँ’
File-Photo

काठमाडौं । उच्च अदालत पाटनले होटलमा बस्न पीडित (गौशाला २६) को सहमति रहेको र उनले आवेगमा जाहेरी दिएको ठहर गर्दै बलात्कार मुद्दाबाट क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको देखिएको छ । फैसलाको महिना दिन कटेपछि शुक्रबार सार्वजनिक पूर्णपाठमा यस्तो उल्लेख छ ।

उच्च अदालतले गौशाला–२६ लाई बालिग (१८ वर्ष पुगेको) ठहर गर्दै सन्दीप लामिछानेसँग भएका सम्पूर्ण घटनाक्रम आपसी सहमतिमै भएको पूर्ण पाठमा उल्लेख गरेको छ ।

न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसूरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।’

बलात्कारको अभियोगबाट क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिँदा होटलमा बस्न पीडितको सहमति, उनले कसैलाई पठाएको मेसेज, सन्दीपका साक्षी र होटलका स्टाफको बयानलाई आधार लिएको छ ।

पीडित भनिएकी किशोरी आफै सन्दीपको गाडीमा चढ्न गएकी, २ महिनापछि विदेशबाट फर्किँदा भेटौँला भन्दा पनि नमानेकी, राति अबेरसम्म नगरकोट घुम्न गएकी, पहिला होस्टल जुनसुकै बेला खुला हुन्छ भने पनि काठमाडौँ आइसकेपछि राति खुला हुँदैन भनेकी, होटलमा कुनै झै–झगडा वा मनमुटावको संकेत नदेखाएकीलगायत तर्क गरिएको छ ।

‘प्रतिवादीले म तिमीलाई एउटा होटलमा एउटा कोठा लिइदिन्छु म क्लोज क्याम्प रहेको होटलमा साथीहरूसँग बस्न जानुपर्छ भन्दा पीडितले नमानी आफूलाई एक्लै नछोड्नु भनी जिकिर गरेको, दुवै जना स्वतःस्फूर्त रूपमा नगरकोटको बोजिनी होटलबाट काठमाडौं फर्केको, होटल काठमाडौं इनमा दुवै जना बसेको, होटल प्रवेश गरेदेखि होटलबाट निस्केको बखतसम्म पीडित र प्रतिवादीबीच कुनै झगडा मनमुटाब नभई पीडितले सहमति बमोजिम नै सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा मान्नुपर्ने देखिँदैन,’ फैसलामा उल्लेख छ।

पीडितले ‘सन्दीप लामिछानेसँग केही दिनअघि आफूले अंकमाल गरेको’ भन्दै खुसी भएको इमोजीसहित कसैलाई पठाएको म्यासेजलाई पनि अदालतले बलात्कार नभएको प्रमाण मानेको छ ।

त्यस्तै, सन्दीप लामिछानेको साक्षी बनेर उपस्थित भएकी पीडितकी रूममेटले दिएको बयानलाई पनि अदालतले प्रमाण मानेको छ । उनले सन्दीपलाई भेटेर आएपछि गौशाला २६ खुसी देखिएको, सन्दीपको पक्षमा हुटिङ गरेकोलगायतका बयान दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved