काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्न अनुरोध गरेको छ ।
प्रदेश र पालिकाले पनि आफ्नो मातहतका अस्पतालमा नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न सक्नेछन् ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल आएपछि अतिरिक्त समयमा पनि सेवा सुरु गरिन लागिएको हो ।
मन्त्रालयले अतिरिक्त समयमा सेवा सञ्चालन गर्न ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७’ कार्यान्वयनमा ल्याएको छ ।
कार्यविधिअनुसार सेवा शुरु गर्न र सेवा सञ्चालन गरेको जानकारी मन्त्रालयलाई गराउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आग्रह गरे ।
गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचको उद्देश्यले नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरिएको उनको भनाइ छ ।
अस्पतालले अतिरिक्त समयमा सेवा सञ्चालन गरेबापत चिकित्सक सेवा शुल्क सरकारले तोकेअनुसार र अन्य सेवा शुल्क अस्पतालले नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।
अस्पतालले सेवाको विवरण तयार पारी सेवाग्राहीले स्पष्ट बुझ्ने गरी देखिने ठाउँमा राख्नुपर्नेछ ।
सेवा सञ्चालन गर्नका लागि अस्पतालका प्रमुख रहेको कार्यक्रम सञ्चालन समिति गठन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
अतिरिक्त समयमा सेवा सञ्चालन सामुदायिक र सहकारी अस्पतालमा समेत लागू गर्न सकिने व्यवस्था छ ।
प्रदेश र पालिकाले पनि आफ्नो मातहतका अस्पतालमा नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न सक्नेछन् ।
Facebook Comment
Comment