प्रचण्डले उपेन्द्रका लागि साँचिरहेको कुर्सी !

प्रचण्डले उपेन्द्रका लागि साँचिरहेको कुर्सी !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा जे-जसरी हुन्छ, ‘सुपेरियर’ नै देखिनुपर्ने एउटा ‘रोग’ छ ।

चुनावदेखि सरकारसम्म साना तथा ठूला दलको साथ-समर्थन जुटाएर चलाउने प्रचण्ड अहिले प्रतिपक्षमा हुत्तिएका छन् । अझ भनौँ, उनी प्रमुख प्रतिपक्षी दलका नेता बनेका छन् । पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले)ले सत्तापक्षीय बेञ्च रोजेपछि प्रचण्ड (न)चाहेर प्रमुख प्रतिपक्षी दलका नेता बन्न पुगेका छन् ।

सरकारबाट बाहिरिनेबित्तिकै उनी समाजवादी मोर्चा सक्रिय बनाउनमा जुटेका छन्, यो पनि उनको सुपेरियर नै देखिनुपर्ने ‘रोग बल्झिएको हो भन्दा फरक नपर्ला । प्रतिपक्षमा हुत्तिए पनि उनलाई समाजवादी मोर्चाको सहायता लिएर ठूलै देखिनुपरेको छ ।

गत अघिल्लो असारमा बनेको समाजवादी मोर्चा प्रचण्ड सरकारमा हुँदासम्म खासै सक्रिय थिएन । तर, जब उनी सत्ताबाट बाहिरिए, तब समाजवादी मोर्चा सक्रिय बनाएका छन् । उनी सरकारबाट बाहिरिएपछि समाजवादी मोर्चाको दुईवटा बैठक बसिसकेको छ ।

पछिल्लो बैठक मोर्चासम्बन्ध दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बस्यो । त्यहाँ फरक दृश्य देखियो कि पहिले मोर्चामै रहेको तर, पछि बिच्किएर हिँडेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवका लागि भनेर एउटा कुर्सी खाली नै राखियो ।

त्यो मूलत: प्रचण्डकै चाहनामा राखिएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताले नेपालभ्युजसँग भने, “प्रचण्डजीले उपेन्द्रजीको कुर्सी खाली राखेर उहाँप्रति औधी प्रेम र भावना देखाउनुभयो । त्यो राम्रै पनि हो । त्यसले नराम्रो नगर्ला ।”

जसपा नेपालले भने नयाँ सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने बताइसकेको छ । पुरानो सरकार अर्थात् त्यसको नेतृत्व गरेका प्रचण्डसँग जसपा नेपाल अहिले रुष्ट छ ।

त्यसो त जसपा नेपालका नेताहरूको बुझाइ छ कि आफ्नो पार्टी प्रचण्डकै सहयोगमा फुटाइयो । अध्यक्ष उपेन्द्र यादव प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री थिए । त्यही पोर्टफोलियो बोकेर उनी अमेरिका पुगेका थिए । त्यहीबखत यता नेपालमा उनको पार्टी फुट्यो ।

विभाजित पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) भनियो र नेतृत्व गरे सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले । पार्टी फुटेको खबर सुन्नासाथ उपेन्द्र भ्रमण छोट्याएर नेपाल आए र प्रचण्डलाई भेटेनन् मात्रै, ‘तपाईंको सहयोगमा फुट्यो पार्टी’ भनेर पनि भने । जवाफमा प्रचण्डले त्यसमा आफ्नो केही पनि भूमिका नरहेको स्पष्टीकरण दिए ।

तर, बाहिर के हल्ला थियो भने ‘उपेन्द्रले नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्री बन्ने कसरत गर्दैछन्, त्यसैले प्रचण्डले उनको पार्टी नै विभाजन गरिदिए’ । तत्कालीन अवस्था नियाल्दा त्यो ठ्याक्कै होइन भन्न सकिँदैन पनि ।

किन पनि भने त्यसबेला प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोजिरहेको कांग्रेसले उपेन्द्रलाई मात्रै होइन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेतलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । प्रचण्डले पटक-पटक धोका दिएको भन्दै घरी बालकोट त घरी कोटेश्वर पुगिरहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई त्यसबेला प्रचण्डको विकल्प मात्रै चाहिएको थियो ।

यसरी पार्टी फुटेपछि उपेन्द्रले उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएर आफ्नो पार्टीको समर्थन पनि फिर्ता लिए । त्यसपछि पुन: मधेसआश्रित बनेका उपेन्द्र अहिले पनि जनकपुरमै छन् । तर, यता प्रचण्डले भने उनका लागि भनेर खाली कुर्सी राखिरहेका छन् ।

अब प्रचण्डले साँचेको त्यो कुर्सीमा उपेन्द्र कहिले बस्छन् ? नेपालभ्युजको जिज्ञासामा उपेन्द्र प्रतिप्रश्न गर्छन्, “पहिले कुर्सी खोस्ने अनि अहिलेचाहिँ राख्ने । कस्तोखाले प्रचण्ड हो । त्यो कुर्सी मलाई चाहिँदैन । उहाँहरू नै बस्नुस् ।”

थप प्रश्न गर्‍यौँ- हिजो त तपाईंहरू सँगै हुनुहुन्थ्यो, अब फेरि पनि समाजवादी मोर्चामा सँगै रहने अवस्था बन्छ कि बन्दैन ? जवाफमा उनले भने, “सल्लाह गर्छौँ तर, सम्भावना क्षीण छ, कम छ । तै पनि सल्लाह गर्छौँ ।”

माओवादी केन्द्रका नेताहरू भने उपेन्द्रसँग कुरा गरिसकेको र उनी सकारात्मक रहेको बताउँछन् । महासचिव देव गुरुङ भन्छन्, “उहाँसँग हाम्रो अध्यक्षले कुरा गरिसक्नुभएको छ । उहाँ आउनुहोला, प्राप्त उपलब्धिलाई आत्मसाथ गर्दै अझ अग्रगमनका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ । त्यसमा उहाँको समर्थन नै रहन्छ होला ।”

जे होस्, प्रचण्ड अहिले यादवलाई फकाउन लागेका छन् । संसद्‌मा पाँच सिट मात्रै भएपनि विरासतको हिसाबले उपेन्द्रसँगको सहकार्य महत्त्वपूर्ण रहने प्रचण्डले बुझेका छन् । तर, रोचकचाहिँ के भने हिजो प्रचण्डले क्याबिनेटबाट उठाएको उपेन्द्रको कुर्सी अहिले समाजवादी मोर्चामा लगेर थापेका छन् ।

परन्तु, उक्त कुर्सीमा बस्न उपेन्द्र भने अनिच्छुक देखिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved