काठमाडौं । नक्साल काठमाडौंस्थित नेपाल बाल सङ्गठनको जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिता सिंह वैद्यविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
तत्कालीन अध्यक्ष रहेकी रिताको नेतृत्वमा बाल सङ्गठनका तत्कालीन पदाधिकारीले २८ रोपनी ५ आना १ पैसा जग्गा दुरुपयोग गरेको भन्दै अनुसन्धानको लागि हिरासतमा लिने तयारी अघि बढिरहेको छ ।
२७ वैशाखमै पक्राउ पुर्जी जारी भएको घटनामा २० जनाविरुद्ध अनुसन्धान अघि बढ्दैगर्दा तत्कालीन अध्यक्ष रिताका भाइसमेत रहेका नेपाली कांग्रेसका नेता तथा नवनियुक्त सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुरक्षाअधिकारीहरू भेटेर ब्रिफिङ लिए ।
मन्त्री भएलगत्तै बुधबार प्रकाशमानले नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग छलफल गरे । आफ्नो मन्त्रालयसँग ‘साइनो र सम्बन्ध नै नभएका’ तीनै तहका सुरक्षा प्रमुखलाई प्रकाशमानले सिहंदरबारस्थित कार्यकक्षमा बोलाएर भेटेपछि अनेकन चर्च सुरु भएको छ ।
मन्त्री प्रकाशमानले आफ्नो मन्त्रालयमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएको कुरा फेसबूकमै लेखेका छन् । उनले भनेका छन्, “सिंहदरबारस्थित मन्त्रालयलमा बधाई दिन आउनुभएका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु ।”
उनले पोस्ट गरेको फोटोमा तीनैजना सुरक्षा प्रमुखले फुलगुच्छासहित बधाई ज्ञापन गरेका देखिन्छन् । वर्तनमा सत्ता गठबन्धनमा एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कांग्रेसले प्रकाशमानलाई उपप्रधानमन्त्री बनाएर पार्टीबाट सरकारको नेतृत्वको जिम्मा दिएको छ ।
कांग्रेसको चौधौँ महाधिवेशनको सभापतिको उम्मेदवार शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान, विमलेन्द्र निधिलगायत उम्मेदवार थिए । कसैको पनि ५० प्रतिशत मत नकटेपछि दोस्रो चरणको चुनाव भयो । त्यहाँ आफूलाई सभापतिमा सघाएका प्रकाशमानलाई उपप्रधानमन्त्री बनाएर सभापति शेरबहादुर देउवाले गुण तिरेका छन् ।
तर, अहिले कांग्रेसकै गृहमन्त्री रमेश लेखक छन् । जबकि प्रहरी संयन्त्र गृह मन्त्रालय मातहत हो । यसैले मन्त्री प्रकाशमान सुरक्षा अङ्गका प्रमुखहरूका तालुकदार मन्त्री होइनन् ।
सरकार परिवर्तनपछि नयाँ बन्ने गृहमन्त्रीसँग सुरक्षा निकाय प्रमुखहरूले भेट्ने र ब्रिफिङ गर्ने सामान्य हो । तर, असम्बन्धित मन्त्रीलाई भेटेर सुरक्षा ब्रिफिङ गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अर्कोतर्फ मन्त्री प्रकाशमान आफैँले भेट्न बोलाएको उनको सचिवालयले जनाएको छ ।
सहरी विकासमन्त्रीले सुरक्षा प्रमुखलाई बोलाएर ब्रिफिङ लिनुलाई पदीय सीमाको उल्लङ्घन भन्दै आलोचना भएको छ । साथै बाल सङ्गठनको जग्गा हिनामिना प्रकरणमा प्रकाशमानकी दिदी जोडिएकोले बचाउनको लागि प्रहरीलाई मनोवैज्ञानिक दबाब दिन खोजिएको कतिपयले आरोप लगाएका छन् ।

पूर्वडीआईजी हेमन्त मल्ल पनि मन्त्री प्रकाशमान सिंह विवादमा जोडिएका व्यक्तिका आफन्त भएकाले सुरक्षा प्रमुखसँगको भेटघाटले चर्चा पाएको हुन सक्ने बताउँछन् ।
उनी भन्छन्, “मन्त्रीका दिदी बाल मन्दिरको विवादमा जोडिनुभएको छ । नत्र भने सुरक्षा निकायका प्रमुखले भेटिहाल्नुपर्ने मन्त्रालयमा यो पर्दैन । कुनै सन्दर्भ पनि पर्दैन । यसैले यो भेटमा शङ्का गर्नुपर्ने अवस्था छ ।”
विभागीय मन्त्री रमेश लेखक नक्सालस्थित हेडक्वाटर पुगेर फर्किएपछि प्रकाशमानले सुरक्षा प्रमुखलाई आफ्नो मन्त्रालयमा बोलाएर भेट गरेका हुन् ।
फूलका बुकेसहित उनीहरूले उठेर बधाई दिँदा प्रकाशमान भने सोफामै बसिरहेका देखिन्छन् । अघिल्लो दिन भारतीय राजदूतले बधाई दिँदा भने उनी उठेका थिए । जेहोस्, आखिर तीनैवटा सुरक्षा निकायका प्रमुखहरू लाइन लागेर ब्रिफिङ लिन र निर्देशन सुन्न किन बोलाए त ? सुरक्षाका जानकारहरूले यसबारे प्रश्न गरिरहेका छन् ।
के हुन्छ बालमिन्दर जग्गा हिनामिना प्रकरण ?
अधिकांशले भने बालमन्दिर जग्गा हिनामिना प्रकरणसँग यो भेटलाई जोडेका छन् । यो प्रकरणमा जोडिएका २० जनालाई पक्राउ गर्न सीआईबीलाई अनुमति पाइसकेको छ ।
२०४८ सालमा प्रकाशमानकी दिदी रिता सिंह वैद्य बाल सङ्गठनको अध्यक्ष बनेकी थिइन् ।
त्यसपछि जग्गा लिजमा दिने चलखेल सुरु भएको थियो । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी पुत्री रितालाई राजनीतिक नियुक्तिबाट बाल सङ्गठनको अध्यक्ष बनाइएको थियो । उनी २०७७ सालसम्म बाल सङ्गठनमा निरन्तर अध्यक्ष थिइनन् ।
बाल सङ्गठनका तत्कालीन पदाधिकारीले नक्सालस्थित अनाथ तथा सहाराविहीन बालबालिकाका लागि जोहो गरिएको बालमन्दिर परिसरको २८ रोपनी ५ आना १ पैसा जग्गा लिजमा दिने निर्णय भएको थियो ।
त्यो जग्गामा अहिले व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेका बृहस्पति स्कूल र राय स्कूल सञ्चालन भइरहेका छन् ।
अनुसन्धान अघि बढेर पक्राउ पुर्जी जारी भइसकेको यो विषयमा अब भने अनुसन्धान रोकिन सक्ने कतिपयको आशङ्का छ ।
Facebook Comment
Comment