ओलीको बोलीमा एकाएक हराएको हाँस्यरस र तिक्तता

प्रधानमन्त्री नियुक्तिपछिको पहिलो प्रतिक्रिया उनले पनि बडो शालीन संक्षिप्तमा दिएका छन्— सबैलाई सम्मान, सबैलाई धन्यवाद । न कसैलाई घोचपेच न कसैलाई वचनबाण । नानीदेखि लागेको बानी ‘बा’ भइसक्दा पनि जान त गाह्रै हुन्छ । तैपनि, हेरौँ ।

ओलीको बोलीमा एकाएक हराएको हाँस्यरस र तिक्तता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रमाइला उखान-टुक्का र रोचक घोचपेचका ‘उस्ताद’ नै मानिन्छन् । उनका हरेक भाषण, प्रवचन कुनै न कुनै त्यस्तै कथाकुथुंग्री, उखान-टुक्का र घोचपेचका कारण चर्चित र रोचक हुन्छन् । तर, खै किन यसपटक प्रधानमन्त्री भएयता उनले आफ्नो यो मौलिक र चर्चित शैलीलाई त्यति धेरै महत्त्व दिएका छैनन् ।

प्रवचनकला र वाकशैली ओलीको राजनीतिक ‘करिअर’ को निकै ठूलो हतियार हो । उनी घण्टौँ लामो बोल्न सक्दछन्, त्यो पनि स्रोता/दर्शकलाई ‘बोर फिल’ नहुनेगरी ।

ओलीका विचार र एजेन्डामा सहमत हुनु नहुनु भिन्नै कुरा तर, उनका भाषण, प्रवचन सुन्न विरोधी वा आलोचकलाई पनि मज्जै आउँछ । राम्रैगरी हाँस्न र रमाउन पाइन्छ । त्यो पनि मुफतमा । ‘कमेडी सो’हरूमा जस्तो टिकट काट्नै पर्दैन ।

कुनै शङ्का छैन कि ओलीका भाषण, प्रवचनमा हाँस्यरसको प्रयोग बेजोड हुन्छ । उनी दोस्रोपटक प्रधानमन्त्री हुँदा ‘कमेडी’ गरिदिएर ‘कमेडियन’ हरूको पेशा नै सङ्कटमा परेकोसम्म चर्चा भएको थियो । मानिस भन्थे कि प्रधानमन्त्री ओलीले सित्तैमा कमेडी गर्ने ? कमेडियनहरूले अब के गर्ने ? के काम गरेर खाने ?

ओलीको राजनीतिक रणनीति बुझ्नेका लागि भने बडो प्रष्ट हुन्छ । उनी जतिखेर जोसँग मूल राजनीतिक प्रतिस्पर्धा हुन्छ, उसैमाथि खनिने गर्दछन् । ‘आक्रमण आफैँमा प्रतिरक्षा हो’ ओलीका बोलीको रणनीतिक सार यो हो । २०४६ सालअघि ओली झापाली राजवन्दीका रूपमा चर्चामा त थिए तर, सार्वजनिक वृत्तमा सुनिने व्यक्तित्व भइसकेका थिएनन् ।

२०४६-०५६ बीच ओलीका भाषणको आक्रमणको तारो नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइराला हुने गर्दथे । माओवादी सशस्त्र युद्ध बलियो हुँदै गएपछि उनले रुझान परिवर्तन गरे । अब उनको आक्रमणको तारो प्रचण्ड र माओवादी हुन थाल्यो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनसम्म ओलीको रणनीति यही थियो ।

यसबीच उनले माओवादी र प्रचण्डका लागि ‘माकाफुई’ र ‘रोल्पामा रिसाएको बिरालो काठमाडौं आएर खाँबो चिथोर्छ’ जस्ता उखान-टुक्का जुटाएका थिए ।

नेपालक कम्युनिष्ट पार्टी (नेकपा) कालीन पार्टी अन्तर्विरोधले उनलाई प्रचण्ड र माधव नेपालविरुद्ध खन्निने बनायो । यसबीचले ‘माधव नेपालको नाम लिनुपरे मुख कुल्ला गर्ने’ घोषणा गरिदिए ।

ओलीको बोलीमा हाँस्यरस मात्र हुँदैन, तिक्तता पनि उत्तिकै गहिरो हुन्छ । उनको वचनबाण सहन यदाकदा विरोधीलाई निकै गाह्रो पर्दछ । २०७४ को दोस्रो संविधानसभा निर्वाचनपछि ३३ दलीय मोर्चाको आन्दोलन चलिरहेको बेला ओलीले यति कठोर आलोचना गरेका थिए कि मोर्चाले बैठक गरेरै ओलीको ‘मानसिक स्वास्थ्य जाँच’ गराउन सार्वजनिक माग गरेको थियो ।

भाषाशास्त्रका एक प्राध्यापक भन्छन्, “ओलीको बोलीमा प्रच्छन्न बौद्धिकता र ग्रामीण बोलीचालीको शैली सम्मिश्रण छ । तसर्थ, उनका भाषण सुनौँ-सुनौँ लाग्ने हुन्छन् । तर, उनी बारम्बार चिप्लिन्छन् पनि । उनले त्यस्ता थुप्रै कुरा बोलेका छन, जसको ‘फ्याक्ट चेक’ गर्ने हो भने उनी ‘झुटा’ ठहरिन्छन् ।”

तर, ओलीले बोल्दा असत्य र झुटा कुरा बोलिएला, पछि आफैँ अप्ठ्यारोमा परिएला भनेर ‘परहेज’ राखेको कहिल्यै पाइँदैन । यदाकदा उनी बोल्दाबोल्दै कूटनीतिक मर्यादाको पनि सीमा नाघिदिन्छन्। प्रधानमन्त्री पदमै रहेर उनले भारत लक्षित ‘सत्यमेव जयते कि सिंहमेव जयते’ जस्तो कठोर अभिव्यक्ति दिएका थिए ।

ओलीको बोलीलाई सम्बद्ध पक्षले धेरै गम्भीरतापूर्वक लिन पनि चाहँदैनन् । उनको ‘शैली नै यस्तै हो’ भनेर बेवास्ता गर्न चाहन्छन् ।

राजनीतिक विरोधी र प्रतिस्पर्धी समकक्षीलाई मात्र हैन, उनी देशको बौद्धिक जगत र सञ्चारमाध्यमप्रति पनि बेलाबेला खनिएका उदाहरण छन् । उनले प्रयोग गरेका ‘सेता चामले बुद्धिजीवी’, ‘मुटु नभएका सम्पादक’ जस्ता शब्दावली कुनै बेला खुबै चर्चित थिए ।

तर, चौथोपटक प्रधानमन्त्री हुँदा ओली अहिलेसम्म कसैप्रति कठोर देखिएका छैनन् । उनको बोली पनि ‘मलिन’ सुनिन्छ र चेहरा पनि ‘मधौरु’ जस्तो लाग्दैछ । भनिन्छ, बारम्बार एउटै प्रकृतिको घटनाको पुनरावृत्तिले मान्छेमा अनाकर्षण र उदासीनता पैदा गर्दछ । ओली कतै यही मनोवैज्ञानिक अवस्थामा पुगेका त हैनन् ?

ओलीको पुनरागमनलाई यसपटक धेरैले बेवास्ता गरेको वा कम महत्त्व दिएकोजस्तो अनुभूति हुन्छ । अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई खासै गम्भीर र महत्त्वपूर्ण घटना मानेको छैन । ‘नेपालमा यस्तै हो, भइरहन्छ’ प्रकारको भाव देखिन्छ ।

फ्रान्सको एक पत्रिकाले त शीर्षक नै ‘नेपाल राजनीतिक अस्थिरताको विश्वविजेता’ बनायो । देशको राजनीतिक छवि विश्वमा कस्तो बन्दै गइरहेको छ भन्ने यसबाट प्रष्ट हुन्छ । यो धेरै ठूलो चिन्ताको विषय हुनुपर्ने हो । त्यसले अगाडि लेखेको छ— यदि राजनीतिक अस्थिरताको ओलम्पिक हुन्थ्यो भने नेपालले गोल्डमेडल जित्थ्यो ।

देशको अन्तर्राष्ट्रिय छविप्रति चिन्तित कुनै राजनेताका लागि योभन्दा ठूलो लज्जाको विषय के हुन्छ ? तर, नेपाल न हो, यहाँ लज्जा कसमा पो बाँकी छ ? चौथोपटक प्रधानमन्त्री नियुक्त भएर पनि ओली अहिले निकै ठूलो सङ्कटमा परेजस्तो देखिन्छन् । अब कसलाई गाली गर्ने ? कसको आलोचना गर्ने ?

नयाँ दलहरूलाई गाली गरौँ अस्तिसम्म आफैँ रास्वपा र त्यसका नेता रवि लामिछानेको प्रतिरक्षा गर्दै हिँडे । कांग्रेसलाई गाली गरौं, उसैसँग सत्ता सहकार्य छ । राजावादीलाई गाली गरौँ, न कुनै उल्लेखनीय घटना, गतिविधि छ न महत्त्वपूर्ण आकारको शक्ति ।

मधेसकेन्द्रित दललाई गाली गरौँ, जसपा र लोसपा सरकारमा आएकै छन् । जसपा नेपाल, जनमत र नागरिक उन्मुक्ति पनि एक थान मन्त्री दिए दौडिएर आइहाल्लान् । मन्त्री नपाए ‘विपक्षी दल हुँ’ भन्लान् । मधेस सरकारमा जनमत पार्टीसँगको सहकार्य छँदैछ ।

अब फेरि उही प्रचण्ड-माधव नेपाल बाँकी छन् । कसैले नपत्याएको कथित ‘समाजवादी मोर्चा’ छ । अन्यथा ओलीका बाँकी कथाकुथुङ्ग्री र उखानटुक्काको ‘स्टोक’ प्रहार गर्नुपर्ने पक्ष नै रहेन, ओलीका बोली लक्ष्य बिनाका बाणजस्तै टोक्रोमै सीमित रहने भए ।

भन्नलाई अहिले ‘दुईदलीय प्रणालीको सहजता’ निर्माण गर्ने भनिएको छ । तर, के थाहा २०८४ को चुनावसम्म पुग्दा फेरि वामगठबन्धन र कम्युनिष्ट एकताको आग्रह गर्नुपर्ने हो कि ? सम्भवत: यिनै र यस्तै अनेक परिस्थितिले हुन सक्दछ, चौथोपटक प्रधानमन्त्री भएका ओलीको अनुहारमा कुनै ठूलो उत्साह र विजेता भाव देखिन्न ।

प्रधानमन्त्री नियुक्तिपछिको पहिलो प्रतिक्रिया उनले पनि बडो शालीन संक्षिप्तमा दिएका छन्— सबैलाई सम्मान, सबैलाई धन्यवाद । न कसैलाई घोचपेच न कसैलाई वचनबाण ।

६ गते आइतबार उनी विश्वासको मत लिँदैछन् । यो त एक औपचारिकता न हो । विश्वासको मत प्राप्त हुने सुनिश्चितता छँदैछ । तर, यस क्रममा उनले के कस्ता कुरा बोल्ने हुन् ? उनका रोचक उखान-टुक्काका प्रहार कसमाथि पर्ने हुन् ? वा ओलीले अब आफ्नो शैली र भङ्गी फेरेका हुन् ।

नानीदेखि लागेको बानी ‘बा’ भइसक्दा पनि जान त गाह्रै हुन्छ । तैपनि, हेरौँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved