काठमाडौं । चितवनको सिमलतालबाट खसेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझै भेटिएको छैन । गणपति बसका चालक र सहयोगीको शव भेटिएको छ ।
काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शव भेटिएको प्रहरीले जनाएको छ ।
दुवै शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् । दुवै जनाको शव घटनास्थल भन्दा १ सय किलोमिटर दक्षिण नेपाल सिमा नजिक गण्डक ब्यारेज छेउमा भेटिएको हो ।
अहिलेसम्म बेपत्तामध्ये १७ वटा शव फेला परेका छन् । भेटिएका शवमध्ये १५ जना पुरुष र २ महिला छन् । करिब ४५ यात्रुको अवस्था अझै अज्ञात छ । ३ जना भने पौडिएर बाँच्न सफल भएका थिए ।
खोजी कार्यका लागि ५ सय सुरक्षाकर्मी खटिएका छन् । तालिमप्राप्त सुरक्षाकर्मीहरुले विभिन्न प्रविधिको प्रयोग गरेर खोेजी गरे पनि अहिलेसम्म बस भेटाउन सकिएको छैन ।
Facebook Comment
Comment